भाजपाविरुद्ध भयङ्कर मोर्चाबन्दी

भाजपाविरुद्ध भयङ्कर मोर्चाबन्दी


भारतको वर्तमान राजनीतिको वास्तविक तस्बिर कर्णाटकमा देखिएको छ । भाजपा नेतृत्वमा सरकार बनेको केही घण्टा नबित्दै मुख्यमन्त्री बीएस येदियुरप्पा राजीनामा दिन बाध्य भएका छन् । उनको स्थानमा विधानसभाको तेश्रो ठूलो दल (जेडीएस) नेता कुमारस्वामीले लिएका छन् ।

जेडिएसलाई काङ्ग्रेसलगायतका दलले समर्थन गरेर कुमारस्वामीलाई मुख्यमन्त्री बनाएको हो । कर्णाटकको विधानसभामा आठ मतले बहुमत हासिल गर्न नसकेको भाजपालाई सरकारबाट हटाउन त्यहाँका विपक्षीहरू एकजुट भएको भन्दा ठूलो घटना सपथ ग्रहण समारोहलाई मानिएको छ ।

कुमारस्वामीको सपथ ग्रहण समारोहमा देखिएको दृष्यले भारतीय राजनीति कता जाँदैछ भन्ने प्रष्ट सङ्केत गरेको छ । शपथ ग्रहण समारोहमा काङ्ग्रेस नेताहरु सोनिया गान्धी, राहुल गान्धी र कम्युनिस्ट नेता सिताराम येचुरीदेखि मायावती, अरबिन्द केजरीवाल लगायत सबै प्रकारका विपक्षीहरू सहभागी भएका थिए । यसले आगामी वर्ष हुने संसदीय निर्वाचनमा भाजपालाई परास्त गर्न बाँकी सबै पक्ष एकजुट हुने संकेत देखिएको छ ।

भाजपाको विपक्षमा मोर्चाबन्दीको संकेत
भारतको केन्द्रीय सत्तामा विराजमा नरेन्द्र मोदी र उनको पार्टी भाजपाको विपक्षमा रहेका अन्य दलहरुले मोर्चाबन्दी थालेको रूपमा कर्णाटकको घटनालाई हेरिएको छ । भाजपाको सरकार ३ दिनमै ढालेर मुख्यमन्त्री बनेका कुमारस्वामीको शपथ ग्रहण समारोहमा विपक्षी पार्टीको राम्रो एकता देखिनुलाई यसैको संकेत मान्न सकिन्छ ।

कांग्रेस सम्मिलित सरकारका मुख्यमन्त्रीको सथपग्रहण समारोहमा अरबिन्द केजरीवालदेखि मायावती र सीताराम येचुरी समेत उपस्थित थिए । उनीहरूलाई विगतमा कांग्रेसका कडा विरोधीको रूपमा हेरिन्थ्यो । चुनावका बेला प्रतिस्पर्धी रहेका कांग्रेस र जेडिएसको नतिजा कमजोर आयो तर दुवै मिल्दा भाजपाको सरकार बन्नबाट रोक्न सकिन्छ भन्ने लागेर नै यी दुई दल एकताबद्ध भएका हुन् । भाजपा विरुद्ध विपक्षीको यस्तो मोर्चा बन्दीलाई २०१९ मा हुने आम चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्धको मोर्चाबन्दीको रुपमा हेरिएको छ ।

कुनै बेला एकअर्काका कटु आलोचक र विरोधी रहेका उत्तर प्रदेशका समाजवादी पार्टी र बहुजन समाज पार्टी पनि अहिले भाजपाको सामना गर्नकै मिलेको बताइन्छ । दुवै पार्टीका नेता मायावती र अखिलेश यादव कुमारस्वामीको शपथग्रहण समारोहमा उपस्थित देखिए । उता, दिल्लीमा भाजपाले आफू र आफ्नो पार्टीमाथि गरेको व्यवहारका कारण रुष्ट भएका अरबिन्द केजरीवाल पनि विपक्षीको सर्कलमै समावेश हुन पुगेका छन् । उनी सुरूदेखि नै कांग्रेसका कटु आलोचक थिए तर पछिल्लो समय कांग्रेससँगै नजिक हुनुलाई भाजपा विरूद्धकै अभियानको संकेतका रूपमा हेरिएको छ ।

विधानसभामा २२२ सिटका लागि भएको चुनवामा जेडिएसले ३७ सिटमा जितेको थियो । तर भाजपालाई रोक्नका लागि ७८ सिट जितेको कांग्रेसले उनलाई समर्थन गरेर मुख्यमन्त्रीको जिम्मेवारी सुम्पेको हो । सबैभन्दा बढी १०४ सिट जितेर पनि सरकार बनाउन आवश्यक ११२ मत नपुग्दा भाजपाको सरकार ३ दिनमै ढल्नुपरेको हो ।

(बीबीसी)