ओली सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, को सँग कति सम्पत्ति ?

ओली सरकारका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, को सँग कति सम्पत्ति ?


प्रधानमन्त्री केपी शर्मा ओलीसहित केही मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले पद धारण गरेको ६० दिनभित्रमा सम्पत्ति विवरण सार्वजनिक गनुपर्ने कानुनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले सम्पत्ति सार्वजनिक गरेका हुन् ।

केपी शर्मा ओली, प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ४२ लाख रुपैयाँबाहेक बाँकी सबै सम्पत्ति श्रीमती राधा शाक्यको नाममा रहेको देखाइएको छ । रु ४२ लाख भने प्रधानमन्त्री ओलीले तलबमार्फत आर्जन गरेको भनी उल्लेख गरेका छन् । यस्तै, श्रीमती राधाको नाममा भक्तपुरमा डेढ रोपनी र झापामा १० कठ्ठा जमिन रहेको छ । भक्तपुरमा एक रोपनीमा बनेको ढाई तलाको पक्की भवन समेत सम्पत्ति विवरणमा देखाइएको छ । राधाका नाममा रहेका सबै सम्पत्ति स्वआर्जन भनी उल्लेख गरिएको छ ।
यस्तै, राधाको नाममा रु १० लाख माछापुच्छे बैंक र प्रभु बैंकमा रहेको देखाइएको छ । उनको नेपाल राष्ट्र बैंकको पूर्व प्रथम श्रेणीको कर्मचारी हुँदा रु २५ लाख राष्ट्रिय बचत पत्रमा रहेको उल्लेख गरिएको छ ।

ईश्वर पोखरेल, मन्त्री, रक्षा
रक्षामन्त्री ईश्वर पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा जग्गा र टोखामा पैतृक घर तीन तले घर रहेको सम्पत्ति विवरणमा देखाइएको छ । मन्त्री पोखरेलको नाममा इन्भेष्टमेन्ट बैंकमा सात लाख रुपैयाँको शेयर रहेको छ ।

रामबहादुर थापा, मन्त्री, गृह
गृहमन्त्री रामबहादुर थापाकीे श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा एक कठ्ठा ०.७५ धुर जग्गा रहेको छ । सम्पत्ति विवरणमा सुन छ तोला र नगद तीन लाख रहेको देखाइएको छ ।

प्रदीप ज्ञवाली, मन्त्री, परराष्ट्र
त्यसैगरी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको चार आना जमीनमा काठमाडौँमा बनेको दुई तले पक्की घर रहेको छ । रु दुई लाख ५७ हजार एभरेष्ट र रु दुई हजार कृषि विकास बैकमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

डा युवराज खतिवडा, मन्त्री, अर्थ
अर्थमन्त्री डा युवराज खतिवडाको रु एक करोड ४९ लाख बराबरको जग्गा रहेको छ । उक्त रकम बराबरको जग्गा डा खतिवडा र श्रीमतीको संयुक्त नाममा रहेको सम्पत्ति विवरणमा देखाइएको छ ।

लालबाबु पण्डित, मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको मोरङ विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले आफूसँग पुरानो एक थान साइकल रहेको पनि जनाएका छन् ।

शेरबहादुर तामाङ, मन्त्री, कानून
त्यसैगरी, कानूनमन्त्री शेरबहादुर तामाङको श्रीमतीका नाममा काठमाडौंमा अढाइ तले घर रहेको छ । मन्त्री तामाङको सिन्धुपाल्चोक, मोरङ र खोटाङमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

रघुवीर महासेठ, मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
ओली सरकारको सबैभन्दा धनी मन्त्रीका रुपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महसेठलाई लिइएको छ । महासेठकी श्रीमती एवं सांसद जुली महतोको विभिन्न बैंक तथा वित्तीय संस्थामा धितोपत्र, ऋणपत्र र सेयर लगायत मात्रै ३९ करोड रुपैयाँ बराबरको छ । उनीसँग ५२ तोला सुन र डेढ किलो चाँदी छ भने ७२ लाख रुपैयाँ नगद रहेको सम्पत्ति विवरणमा उल्लेख छ । महासेठ र श्रीमतीको नाममा धनुषामा २ र ललितपुरमा एउटा घर छ ।
श्रीमती जुलीकुमारी महतो र उनका नाममा धनुषामा २ र ललितपुरमा एउटा घर रहेको पनि उल्लेख छ । त्यस्तै मन्त्री महासेठकी पत्नी महतोको नाममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा ८ विघा, सिन्धुली कमलामाइ नगरपालिकामा ५ कठ्ठा, ललितपुर महानगरपालिका २ नख्खुमा २ रोपनी १३ आना, धनुषाको जनकपुर उपमहानगरपालिकामा ९ कठ्ठा जग्गा रहेको छ । त्यस्तै मन्त्री महासेठको नाममा जनकपुर उपमहानगरपालिकामा १४ कठ्ठा र धनुषाधाम नगरपालिकामा १ विघा १० कठ्ठा जग्गा रहेको छ । यातायात मन्त्री महासेठको सम्पत्ति विवरणमा नविल, नेपाल इन्भेष्टमेन्ट, माछापुछ्रे, एनआईसी एशिया र एभरेष्ट बैंकमा खाता रहेको उल्लेख भए पनि त्यहाँ भएको रकम उल्लेख गरिएको छैन ।

थममाया थापा, मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
ओली सरकरको सबैभन्दा थोरै सम्पत्ति रहेकी मन्त्री हुन् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा । मन्त्री थापाको नाममा भने म्याग्दीको बेनीमा आमाले दिएको एउटा घर रहेको छ । त्यस्तै गरगहनामा एक तोला सुन, तीनवटा बैंकमा गरी १५ हजार रुपैयाँ बचत रहेको छ । उनको माछापुछ्रे बैंकमा १ हजार, एभरेष्ट बैंकमा ४ हजार र कुमारी बैंकमा १० हजार रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

रवीन्द्र अधिकारी, मन्त्री पर्यटन
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँग ६० तोला सुन रहेको छ । उनी ओली सरकारका सबैभन्दा धेरै सुन भएका मन्त्री हुन् । उनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेअनुसार उनीसँग ६० तोला सुन र ३० किलो चाँदी छ । यस्तै, पोखरा र काठमाडौंमा गरी तीन वटा घर छ भने पोखरामा दुई स्थानमा जग्गा पनि छ । उनीसँग बैंक खातामा साढे २४ लाख रुपैयाँ मौज्दात र २० लाख बराबरको कार छ ।