पहाडी जिल्लामा चार्टर उडान बन्द

पहाडी जिल्लामा चार्टर उडान बन्द


नेपालगन्जबाट प्रदेश ५, ६ र ७ का पहाडी क्षेत्रमा गरिने चार्टर उडान भोलि बिहीबारदेखि बन्द हुने भएको छ । चार्टर उडानका नाममा यात्रुबाट चर्को भाडा असुली हुन थालेपछि सरकारले चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो । निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएकामा अब त्यसो गर्न नपाउने भएका छन् ।

नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीका अनुसार भोलिदेखि नेपालगन्जबाट हुने सबै चार्टर उडान बन्द हुनेछन् भने समान भाडा दरसमेत कायम गरिएको छ । यसअघि सहुलियत उडानका नाममा हप्तामा एउटासम्म उडान गर्दै बाँकी ९० प्रतिशतभन्दा बढी चार्टर उडान हुने गरेको थियो ।

नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने प्रमुख तिवारीले बताउनुभयो । चार्टर बिमान बन्द गर्दा सबै यात्रुले तोकिएको समान शुल्कमा यात्रा गर्न पाउने सुनिश्चित भएको छ । राससका अनुसार हाल नेपालगंजबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सञ्चालन गर्दै आएका छन् ।