सरिता र पर्शुराम ‘च्याम्पियन अफ दी च्याम्पियन’

सरिता र पर्शुराम ‘च्याम्पियन अफ दी च्याम्पियन’


दुबईमा भएको बुदोकान कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेतासहितको टोलीलाई नेपाल कराते महासङ्घले स्वागत गर्नुका साथै बधाई दिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका नेपाल कराते महासङ्घका अध्यक्ष दावा गुरुङले टोलीलाई स्वागत गर्दै सफलताका लागि बधाई दिएका हुन् ।

मे ११ तारिखमा भएको प्रतियोगितामा नेपाली टोलीले ९ स्वर्ण, ४ रजत र २ कांस्य जितेको टोली प्रशिक्षक राम थारूले जनाएका छन् । प्रतियोगितामा सरिता श्रेष्ठले दोहोरो स्वर्ण जितेकी थिइन् ।

सरिताले महिला एकल काता र ६७ केजीमाथि स्वर्ण हात पारेकी थिइन् । त्यस्तै, पर्शुराम बास्तोलाले पुरुष एकल कातामा स्वर्ण जितेका थिए भने सरिता र पर्शुराम दुवैले ‘च्याम्पियन अफ दी च्याम्पियन’को उपाधि पनि हात पारेको प्रशिक्षक थारुले जानकारी गराएका छन् ।

त्यस्तै पुरुष ३०–३५ वर्षमा चन्द्र खड्का, ४०–५० उमेर समूहमा मधु लामाले रजत, ५५ केजीमा राजनकुमार पाइजा र ५० केजीमा नवराज श्रेष्ठले पनि नेपाललाई स्वर्ण दिलाए । मोनिका थापामगरले महिला १०–१२ वर्षमा २ स्वर्ण तथा पुरुष ६० केजीमा लक्ष्मण मगरले स्वर्ण जितेका थिए ।

पुरुष एकल काता र कुमुतेमा सुशान्त हुमागाईं, ८४ केजीमा प्रेम राना मगर तथा ६५ केजीमा मानबहादुर लिम्बूले रजत प्राप्त गरे । पुरुष ७५ केजीमा रामु सुनार र ६५ केजीमा ज्ञानु पुनमगरले कांस्य हासिल गरेका थिए ।
टोलीको व्यवस्थापकमा प्रवीण गुरुङ तथा निर्णायकमा सञ्जय रञ्जित, साइला गमाल र लक्ष्मण खड्का थिए । टोलीको खाना र बस्ने व्यवस्था प्रवासी सितोरियो कराते सङ्घ, दुबईले प्रायोजन गरेको प्रशिक्षक थारूले जानकारी गराएका छन् ।