प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता


राष्ट्रिय खेलकुद परिषद्को आयोजना र नेपालय इन्टरनेसनलको व्यवस्थापनमा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता जेठ १३ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन खेल विभागीय टोली एपीएफ र प्रदेश चारबीच हुनेछ ।

प्रतियोगिताको खेलतालिका सार्वजनिक गर्दै नेपालयले उद्घाटन खेलमा एपीएफ र क्षेत्र नम्बर चारबीच प्रतिस्पर्धा हुने जनाएको हो । कार्यक्रममा नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजन सम्झौता गरेको छ ।

एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेसनलका प्रबन्ध निर्देशक सुवास प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेसनललाई २४ हजार अस्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ । यस्तै प्रतियोगितालाई नेपाल लिक्वर्सले सहप्रायोजन गर्ने भएको छ ।

सोही कार्यक्रममा प्रतियोगितामा लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । जर्सीलाई एक्सेल्सिया कलेजका प्रतिनिधि बबी र नेपालयका प्रबन्ध निर्देशक सुवासले सार्वजनिक गरेका हुन् ।
प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछ । यस्तै म्यान अफ दी सिरिजले एक लाख र विधागत उत्कृष्ट हुनेले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।