अन्धविरोध या अन्धसमर्थनमा ‘राष्ट्रियता’को मापन !

अन्धविरोध या अन्धसमर्थनमा ‘राष्ट्रियता’को मापन !


छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वैशाख अन्तिम साता गर्नुभएको दुईदिवसीय नेपाल भ्रमणले पैदा गरेको तरङ्ग थामिएको छैन । मोदीको नेपाल भ्रमण विशुद्ध धार्मिक यात्रा थिएन भन्नेमा बहस र विवादको दरकार रहेन, तर कतिपयले चित्रित गर्न खोजेझैँ भ्रमण पूरै राजनीतिक या रणनीतिक उद्देश्यले प्रेरित थियो भनी दाबी गर्ने स्पष्ट आधार पनि भेटिएको छैन । मोटामोटी दाबी गर्न सकिने कुराचाहिँ यत्ति मात्र रह्यो कि जनकपुर र मुक्तिनाथको दर्शन गर्ने अधुरो आकाङ्क्षा यसपटकको नेपाल भ्रमणबाट पूरा गर्नुका साथै कथित ‘भारतीय नाकाबन्दी’का कारण धमिलिन पुगेको आफ्नो छवि पनि लगभग पूरै पखाल्ने अवसरको रूपमा उपयोग गर्न सके, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ।

अब प्रश्न उठ्छ, के व्यक्तिगत छविमा लागेको दाग मेटाउने प्रयत्नकै लागि मात्र थियो त मोदीको नेपाल आगमन ? यतिबेला विश्वका शक्तिराष्ट्रहरूबीच उत्पन्न हुँदै गरेको ‘तनाव’ या नजानिँदो किसिमबाट विकसित भइरहेको युद्ध–सम्भावनाको परिवेशलाई वस्तुनिष्ट ढङ्गले विचार–विश्लेषण गर्नेहरू यो मान्न तयार छैनन् । यथार्थमा मोदीको यसपटकको नेपाल भ्रमणले अहम् अर्थ र महत्व बोकेको छ ।

आफ्ना छिमेकी देशहरूमध्ये नेपाललाई भारतले सर्वाधिक तथा उच्च महत्व दिएको मोदी स्वयम्ले अभिव्यक्ति दिएका मात्र नभई व्यवहारतः यही सिद्ध हुँदै छ । नेपाल र भारतबीच आपसी भ्रमणको दृष्टिमा विगतमा देखिएको सत्र वर्षको ‘ग्याप’ तोडेका प्रधानमन्त्री मोदीले आफ्नो कार्यकालको तीन वर्ष अवधिमै तीनपटक नेपालको यात्रा गरेर मात्र नेपालप्रतिको महत्वभाव दर्शाएका नभई दुई देशबीचका उतारचढावयुक्त अन्य विभिन्न घटना तथा सहयोग आदानप्रदानका सन्दर्भहरूले पनि भारतले नेपाललाई दिएको महत्व झल्काउँछ । मायाले सुमसुम्याउनुमा मात्र नभई धक्कामुक्कामा पनि अपनत्व रहन्छ भन्ने धारणालाई व्यावहारिक सत्य मान्ने हो भने नेपाल र भारतबीचको छिमेकी–प्रेमभाव सहजै अनुभूत गर्न सकिन्छ । यस आधारमा भारतका प्रधानमन्त्री मोदीले दुईदिवसीय भ्रमणबाट दुई देशबीचको सम्बन्धलाई नयाँ आयाम तथा उचाइमा पुऱ्याउने यथेष्ट सन्देश प्रवाहित गरेका छन् भन्न हिच्किचाइरहनुपर्दैन ।

भारतको विकल्प अर्को निकट छिमेकी चीन हुन सक्दैन भने नेपाललाई चीनबाट हासिल हुन सक्ने साथ, सहयोग र उपलब्धि भारतले चाहेर पनि प्रदान गर्न सक्दैन । नेपालका आफ्ना प्रमुख दुई छिमेकीसँगको सम्बन्धको मूल कडी यही नै भएकोले कुनै एक छिमेकीप्रति जबर्जस्ती नकारात्मक या अस्वाभाविक किसिमले सकारात्मक बनेर प्रकट हुन खोज्नुको कुनै अर्थ रहँदैन ।

दुई छिमेकीबीच अत्यन्त निकटताका कारण समय–समयमा निकै असजिला परिस्थिति निम्तने गरेको यथार्थलाई छोप्न सकिँदैन र यसलाई ढाकछोप गर्न खोज्नुमा कुनै तुक पनि रहँदैन । जतिसुकै कटु अवधारणा पालेर पनि यही छिमेकीपनबाट लाभ उठाउनुको विकल्प पनि नेपाल र नेपालीसँग छैन । अर्थात्, भारतको विकल्प अर्को निकट छिमेकी चीन हुन सक्दैन भने नेपाललाई चीनबाट हासिल हुन सक्ने साथ, सहयोग र उपलब्धि भारतले चाहेर पनि प्रदान गर्न सक्दैन । नेपालका आफ्ना प्रमुख दुई छिमेकीसँगको सम्बन्धको मूल कडी यही नै भएकोले कुनै एक छिमेकीप्रति जबर्जस्ती नकारात्मक या अस्वाभाविक किसिमले सकारात्मक बनेर प्रकट हुन खोज्नुको कुनै अर्थ रहँदैन । तथापि, भारतको अन्धविरोध र समर्थनमा ‘राष्ट्रियता’को मापन गरिने अत्यन्त अव्यावहारिक सोचले अझै नेपाल ग्रस्त छ, यो विडम्बनापूर्ण छ ।

नेपाललाई भारतसँगको सम्बन्धका सवालमा आफूअनुकूल व्यवहार–विधि अवलम्बन गर्न उत्तरतर्फको छिमेकी चीनले यथेष्ट छुट दिएको यथार्थ थप स्पष्ट हुँदै गएको पछिल्ला दिनमा अनुभूति गरिँदै छ । भारतको विरोधमा राजनीतिक शक्ति खर्च गर्दै आएका वामशक्तिहरूले पनि मुलुकको शासन गर्ने हैसियतमा दर्बिलो उपस्थिति कायम गर्दै जाँदा यो यथार्थ महसुस गर्न पुगेका छन् कि ‘भारतविरोध’मै राष्ट्रियता र विकासको मर्म लुकेको छैन । साँचो अर्थमा राष्ट्रियता झल्काउने व्यवहार त त्यो हो जहाँ देश तथा देशवासीको हित अनि विकास र समृद्धि समेटिएको हुन्छ ।

यो मर्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्टै बुझेको आभास मिलेको छ । हालै प्रधानमन्त्री ओलीबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री मोदीको पछिल्लो नेपाल भ्रमणले दर्शाएको सुखद पक्ष मूलतः यही नै हो । त्यसो त एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोदीलाई गरेको हार्दिक स्वागतका कारण आफ्नै दलका कतिपय नेता तथा कार्यकर्ताबाटै तिखो आलोचनाको सिकार हुनुपरेको छ, तर आलोचना र विरोधको प्रहार पचाएर ओलीले मुलुकलाई नयाँ मोड प्रदान गर्ने आँट देखाएका छन् । आफ्नो छविलाई नै दाउमा राखेर केपी ओलीले चालेको यस कदमको प्रशंसा गर्नैपर्छ ।