चट्याङ लागेर सुत्केरी महिला घाइते

चट्याङ लागेर सुत्केरी महिला घाइते


राजविराज । पानीसँगै परेको चट्याङ लागेर मंगलबार सप्तरीमा एक सुत्केरी महिला घाइते भएकी छिन् ।

छिन्नमस्ता गाउँपालिका ४ बस्ने पप्पु रामकी श्रीमती २१ वर्षीय रिंकुदेवी राम चट्याङ लागेर घाइते भएको सप्तरी प्रहरीले जनाएको छ ।

घाइतेको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घरको आँगनमा उभिरहेका बेला ठूलो आवाजसँगै परेको चट्याङ्ग लागेर पिठ्युमा चोट लागेको घाइतेले बताइन् । घाइतेको तीन महिनाको छोरा रहेको उनका श्रीमान पप्पुले बताए ।

यसैगरी पूर्व–पश्चिम रामजमार्गमा बाटो काट्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.१ च ७७७० नम्बरको पिकअप भ्यानको ठक्करले मंगलबार एक मोटरसाइकल चालक घाइते भएका छन् ।

शम्भुनाथ नगरपालिका ७ स्थित पूर्व–पश्चिम रामजमार्गमा भ्यानले बा. ३६ प ३६५० नम्बरको मोटरसाइकललाई दिएको ठक्करले मोटरसाइकल चालक सप्तरीको खडग नगरपालिका-६ बस्ने ५५ वर्षीय मो.याक मियाँ घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइतेको टाउकोमा गम्भीर चोट लागेकोले उपचारका लागि न्युरो अस्पताल विराटनगर पठाइएको एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

ठक्कर दिने भ्यान र चालक शम्भुनाथ ट्राफिक प्रहरी कार्यालयमा तथा मोटरसाइकल इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा रहेको छ ।