सिड्नीमा अब हरेक महिना नेपाली सिनेमा

सिड्नीमा अब हरेक महिना नेपाली सिनेमा


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

यतिबेला सिड्नी (अष्ट्रेलिया)मा नेपाली सिनेमाको बजार बढ्दो छ । नेपाली सिनेमालाई औधी मन पराउने र यसको बजार विस्तार गर्न अष्ट्रेलियावासी नेपालीहरूको जोश र सोचको तारिफ गर्नैपर्छ । ब्यक्तिगत पहलमा जोखिम उठाएर भए पनि अष्ट्रेलियामा नेपाली सिनेमाको बजार बिस्तार गर्न लागेका उत्साही यूवाहरूको खुलेर प्रशंसा गर्नेहरूको संख्या पनि ठूलै छ ।

नेपाली सिनेमाको यस्तो राम्रो र भरपर्दो बजारलाई अब ब्यवस्थित र निरन्तर रूपमा अगाडि बढाउन एकजना उत्साही युवा सुनिल उप्रेती कम्मर कसेर लागिपरेका छन् ।

लामो समयदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सक्रिय तथा एजुकेशन एण्ड माइग्रेसन कर्नरका सञ्चालक उप्रेतीको पहलमा अबदेखि अंग्रेजी महिनाको हरेक पहिलो शनिबार सिड्नीमा नेपाली सिनेमाको प्रदर्शन हुने भएको छ ।

सिनेमा प्रदर्शनका लागि उनले सिड्नीको हर्सभिलमा रहेको सिभिक थिएटरसँग सम्झौता पनि गरिसकेका छन् । हर्सभिल अष्ट्रेलियामा नेपालीहरूको बाक्लो बस्ती रहेको शहरको रूपमा चिनिन्छ । शुरूमा महिनाको एउटा फिल्म ल्याउने र पछि महिनाको दुइवटा र राम्रो हुँदै गएपछि हरेक हप्ता एउटा फिल्म ल्याउने योजना रहेको उनले जानकारी दिए ।

नेपालीहरूको बसोबास बाक्लिँदै जाँदा र प्रवासमा नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिको बारेमा जानकारी दिन सिनेमा सशक्त माध्यम बन्न सक्ने सोचेर पनि आफूले यो नयाँ कार्य गर्न लागेको सुनिलले बताए । यस कार्यलाई सहयोग वा साथ दिन सिड्नीमा रहेका सबै नेपालीलाई उनले आग्रह गरेका छन् ।