‘बोक्सी’ आरोपमा कुटिएकी राधाले भनिन्, ‘अन्धभक्त समाज सुधार्नेछु’

‘बोक्सी’ आरोपमा कुटिएकी राधाले भनिन्, ‘अन्धभक्त समाज सुधार्नेछु’


बोक्सीको झुटो आरोपमा मरणासन्न हुनेगरी कुटिएकी कैलाली घोडाघोडी–५ देउकलियाकी राधा आजबाट कक्षा ११ को परीक्षामा सामेल भएकी छिन् ।

गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी भगाउने भन्दै स्थानीय नक्कली भोलेबाबा भनिने रामबहादुर चौधरीबाट उनी कुटपिटमा परेकी थिइन् । राधाले आफू पढेर अन्धोभक्त समाजलाई परिवर्तन गरेर छाड्ने लक्ष्य लिएकी छिन् ।

घोडाघोडी बहुमुखी क्याम्पस, खुखड परीक्षा केन्द्रबाट राधा परीक्षामा सामेल भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

परिक्षामा सहभागि राधा चौधरीले विगतको घटना सम्झदै भनिन् –‘मलाई विनाकारण बोक्सी भन्दै कुटपिट गरेपछि केही समय पढाईमा ध्यान दिन सकिनँ । तर पनि परिक्षाका लागि भन्दै केही समयदेखि मेहेनत गरेर पढिरहेकी छु, अवश्य सफल हुन्छु ।’

उनलाई कुटपिटपछि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र स्थानिय सरकारका प्रमुखहरुले भेटेर थुप्रै आश्वासनहरु दिए पनि अहिलेसम्म कसैले केही सहयोग नगरेको राधाको गुनासो छ । सात समुन्द्रपारीबाट मनकारी जयन्ती राईले ५० हजार आर्थिक सहयोग गरेपछि आफूलाई केही सहज भएको राधाको भनाई छ ।

आफ्नो पढाईसँगै रुढीवादी र अन्धविश्वासले गाँजेको समाजलाई परिवर्तन गर्ने भन्दै राधाले अशिक्षा र अन्धोभक्त समाजका कारण आफू सावर्जनिक रुपमै अपहेलित हुनुपरेको गुनासो गरिन् ।

नारी दिवसका दिन देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिटसहित यातना दिएका थिए ।

कुटपिट अभियुक्त रामबहादुर चौधरी र उनकी मुख्य सहयोगी १८ वर्षीया किस्मती चौधरी, २४ वर्षीया स्मारिका चौधरी, घोडाघोडी वडा नं ५ बस्ने ३४ वर्षीय वेदप्रसाद चौधरी, सोही ठाउँका ३३ वर्षीया चनकला चौधरी र ४१ वर्षीय सितारानी चौधरीलगायतलाई प्रहरीले पक्राउ गरेका थियो । हाल मुख्य अभियुक्त रामबहादुरसहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।