आशावादी छुल्ठिम !

आशावादी छुल्ठिम !


सिनेमा वा कलाप्रेमी धेरैलाई जानकारी नहोला या भएर पनि बिर्सिएका होलान् कि छुल्ठिम गुरुङ नामकी सुन्दरी कुनैबेला ‘सदाबहार गायक’ धीरज राईकी श्रीमती थिइन् । करिब दशक लामो सहयात्रापछि सल्लाहबाटै उनीहरू छुट्टिएका थिए । कुनैबेला धीरजकी चर्कै फ्यान रहेकी, त्यसपछि ‘प्रेमिका’ हुँदै जीवनसङ्गिनी बन्न पुगेकी छुल्ठिमले समयान्तरमा धीरजसँग ‘उन्मुक्त जीवन’को अनुभूति गर्न सकिनन् र समझदारीका साथ अलग्गिने पथ रोजिन् ।

स्वाभाविक थियो कि जुन खालको स्वतन्त्रता उनले चाहेकी थिइन्, धीरजसँगको ‘डिभोर्स’पछि एकल निर्णय लिने हैसियतमा पुगेकी छुल्ठिमलाई त्यो अवसर हासिल भयो । गीतमा मोडलिङ गर्नेदेखि सिनेमामा अभिनय गर्नेसम्मका क्रियाकलापमा उनी संलग्न भइन् । छोटै भए पनि ‘नोभेम्बर रेन’ नामक चलचित्रमा उत्कृष्ट भूमिका पाइन् छुल्ठिमले, र त्यसमा उनले गरेको कामले पनि प्रशंसा पायो । छुल्ठिमको गुण भन्ने कि दोष– सानोतिनो उपलब्धिमा पनि फुरुङ्ग पर्ने उनको स्वभाव रहेछ । नोभेम्बर रेनबाट कमाएको चर्चालगत्तै उनले अब कुनै फिल्म नखेल्ने, फिल्मी कर्म त्याग्ने घोषणा गरिन् ।

तर, आफ्नो प्रतीज्ञामा उनी टिक्न सकिनन् । एक–डेढ वर्ष अन्तरालमा ‘डायरी’ नामक चलचित्र निर्माणको घोषणा नै गर्न पुगिन् । सायद आफैँ निर्माता बनेपछि चाहेजस्तो भूमिकामा अभिनय गर्न पाइन्छ भन्ने लोभ उनमा जागेको हुन सक्छ । नहिँड्ने बाटोमा हिँडिसकेपछि ‘थाकेँ’ भनेर रोकिने कुरा पनि भएन । उनको फिल्म सुपर फ्लप हुन पुग्यो । जेनतेन जुटाएर फिल्ममा गरेको लगानी बालुवामा पानी हुन पुग्यो । यहाँसम्म पनि चित्त बुझएकै थिइन् उत्साही छुल्ठिमले ।

तर, हालै प्रदर्शित उनी अभिनीत ‘नेप्टे’समेत असफल चलचित्रमा दर्ज हुन पुगेपछिचाहिँ उनको मनोदशा डग्मगाएको बुझिएको छ । हुन त उनी निकै आशावादी व्यक्ति हुन् । तथापि, कतै पुनः फिल्मी कर्मबाट सन्न्यासको घोषणा गर्ने त होइनन् ? फिल्मी पण्डितहरूले यस्तै अनुमान गर्न थालेका छन् ।