तीर्थाटन होइन मोदीको नेपाल आगमन

तीर्थाटन होइन मोदीको नेपाल आगमन


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसै सप्ताहन्त हुने नेपाल भ्रमणको सन्दर्भ यतिबेला सर्वाधिक चासो र चर्चाको विषय बनेको छ । महात्मा गान्धीपछिकै सबैभन्दा लोकप्रिय भारतीय नेताको रूपमा भारतभित्र र बाहिरसमेत प्रसिद्धि कमाएका प्रधानमन्त्री मोदीको आसन्न राजकीय भ्रमणको नेपालमा चर्चा र चासो रहनु अनेक कोणबाट स्वाभाविक पनि हुन आउँछ । पछिल्लोपटकको नेपाल आगमनका क्रममा सबै तह–तप्काका नेपालीको मन जितेर फर्किएका मोदीलाई त्यसपछि उत्पन्न असहज परिस्थिति (नाकाबन्दी, बुद्धको जन्मस्थानसम्बन्धी अभिव्यक्ति प्रकरण)सँग जोडेर विवादित तुल्याउने कोसिस गरिएको सन्दर्भले यसपटकको भ्रमणलाई थप चर्चा दिलाएको महसुस गर्न सकिन्छ । तर, मधेस आन्दोलनका क्रममा घटित ‘नाकाबन्दी’ र बुद्धको जन्मस्थानबारे अभिव्यक्तिको अन्तर्य के थियो र त्यसमा मोदीलाई कसबाट, किन विवादमा पार्न खोजियो भन्ने सवाल बेग्लै बहस र खोजीको विषय हो । यसका लागि भारतमा मोदी र उनको पार्टीले झेलिरहेको आन्तरिक राजनीतिक मामलासमेत जोडिएर आउने हुनाले नेपाली पाटोबाट ज्यादा टीका–टिप्पणी गर्नु यहाँनेर उचित नठहरिएला ।

नेपाल र नेपालीप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुनै दूराभाव नरहेको प्रस्टोक्ति विभिन्न कूटनीतिक च्यानल तथा सार्वजनिक मञ्चमार्फत सम्बद्ध पक्षले दिँदै आएको छ । मोदीको समग्र जीवन, पात्रगत प्रवृत्ति या व्यवहार तथा व्यक्तित्वलाई मिहिन रूपमा बुझ्नेहरू यसैलाई वास्तविक मान्छन् । र, नेपालसँगको मामलाका सवालमा भारतीय शासन वा शासकहरूलाई तुलनात्मक रूपमा हेर्दा प्रधानमन्त्री नरेन्द्र मोदी निकै हदसम्म नेपाल र नेपालीप्रति उदार एवम् स्नेही नै प्रतीत हुन्छन् । यो पङ्क्ति कैयनलाई अस्वाभाविक लाग्न सक्छ, तथापि समयले ढिलो–चाँडो यो साबित गर्ने नै छ भन्नेमा जानिफकारहरू विश्वस्त छन् ।

दुवै छिमेकी (चीन र भारत)को दृष्टिमा नेपाल यतिबेला अत्यन्त रणनीतिक महत्वको मुलुक बन्न पुगेको छ । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री चीन पुगेर उच्च नेतृत्वसँग ‘वान टु वान’ वार्ता गर्नु, अनि चीनको उक्त सफल भ्रमणलगत्तै मोदी नेपाल आउनुलाई सामान्य प्रक्रियाका रूपमा हेर्न सकिँदैन । सम्भवतः प्रधानमन्त्री ओलीसँग भारतीय प्रधानमन्त्रीको वान टु वान वार्ता हुनेछ र त्यो वार्तापछिका व्यवहारले दुई मुलुकबीचको सम्बन्धका आयाम र नेपालको भावी यात्रालाई निकै हदसम्म निर्देशित गर्ने अनुमान गर्न सकिन्छ ।

प्रसङ्ग मोदीको नेपाल भ्रमणको छ । सम्भवतः अहिलेसम्मकै परम्पराभन्दा भिन्न अनुभूत हुने गरी भारतका प्रधानमन्त्रीको औपचारिक भ्रमण मुलुकको राजधानीबाट नभई ‘मोफसल’बाट आरम्भ हुँदै छ । धार्मिक हिसाबले ऐतिहासिक महत्वको जनकपुरधाम उत्रँदै छन् भ्रमणको पहिलो दिन प्रधानमन्त्री मोदी । रामायणकी नायिका सीताको जन्मस्थल तराईभूमिबाट शुरु गरेर मोदी सुदूर पहाडमा पर्ने मुक्तिनाथधामकोे यात्रामा सरिक हुँदै छन् । यस आधारमा सतही अनुमान लगाउनेले जनकपुर र मुक्तिनाथजस्ता धार्मिक महत्वशाली स्थानको ‘तीर्थयात्रा’ गर्ने आफ्नो मनसुवा पूरा गर्न मात्र प्रधानमन्त्री मोदी नेपाल यात्रामा सरिक भएका हुन् कि भन्ने ठान्न सक्छन् । सतही रूपमा बुझेर सन्तुष्ट हुन खोज्नेका लागि मोदीको नेपाल आगमनको अर्थ यत्तिमै सीमित हुनु स्वाभाविक नै होला ! तर, मुल्तबीमा रहेको धार्मिक स्थलको तीर्थाटनकै निम्ति मात्र मोदी नेपाल आउन लागेका होइनन् । यसपटकको उनको नेपाल आगमनले झन् महत्व बोकेको छ भनी बुझ्दा अन्यथा ठहरिनेछैन ।

विश्वका महाशक्ति–राष्ट्रहरूका लागि भू–राजनीतिक महत्वको भूमि रहँदै आएको नेपालको परिवेश वामपन्थी वर्चश्वको शक्तिशाली सरकारले शासन गरिरहेको वर्तमान अवस्थामा थप महत्व र चासोको विषय बन्न पुगेको छ । भ्रमणको सान्दर्भिकता र सार्थकता झल्काउनका लागि विकास र समृद्धिसँग जोडिने एजेण्डाहरूमा सहमति वा सहकार्य प्रदर्शन गरिएला– त्यो आफ्नै ठाउँमा रहनेछ । तर, दुवै छिमेकी (चीन र भारत)को दृष्टिमा नेपाल यतिबेला अत्यन्त रणनीतिक महत्वको मुलुक बन्न पुगेको छ । नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलगत्तै भारतीय प्रधानमन्त्री चीन पुगेर उच्च नेतृत्वसँग ‘वान टु वान’ वार्ता गर्नु, अनि चीनको उक्त सफल भ्रमणलगत्तै मोदी नेपाल आउनुलाई सामान्य प्रक्रियाका रूपमा हेर्न सकिँदैन । सम्भवतः प्रधानमन्त्री ओलीसँग भारतीय प्रधानमन्त्रीको वान टु वान वार्ता हुनेछ र त्यो वार्तापछिका व्यवहारले दुई मुलुकबीचको सम्बन्धका आयाम र नेपालको भावी यात्रालाई निकै हदसम्म निर्देशित गर्ने अनुमान गर्न सकिन्छ ।

जे होस्, चीनबाट हासिल हुनै नसक्ने अमूर्त लाभको हल्ला चलाएर ‘उग्र राष्ट्रवाद’ झल्काउने गरेको आरोप खेपेका नेताहरू लचकता प्रदर्शन गर्दै ‘व्यवहारवाद’ प्रकट गर्न थालेका छन् । चीनजस्तो ‘शान्त’ छिमेकीलाई ‘भारत तर्साउने हतियार’ तुल्याउँदै आएकाहरूको ‘अन्धराष्ट्रवाद’ पराजित हुँदै गरेको परिवेशले नेपालको भविष्यलाई लिएर आशा जगाएको छ भन्दा फरक नपर्ला । भारतीय प्रधानमन्त्रीको यसपटकको भ्रमण नेपालका निम्ति भारत र चीनजस्ता छिमेकीहरूको समृद्धिको लाभ उठाउने दिशातिर लम्किने आरम्भ बिन्दु साबित हुन सकोस् भन्ने कामना गरौँ ।