हिन्दी फिल्म निर्देशन गर्दै सुचित्रा

हिन्दी फिल्म निर्देशन गर्दै सुचित्रा


chakra film suchitra

नेपालकै पहिलो महिला निर्देशकको पहिचान बनाएकी सुचित्रा श्रेष्ठले हिन्दी फिल्म निर्देशन गर्ने भएकी छिन् । हालै चलचित्र निर्देशक समाजमा अध्यक्ष निर्वाचित श्रेष्ठले नेपाल र भारत दुवै देशमा खिचिने तथा नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुने फिल्म ‘चक्र’मा निर्देशनको अवसर पाएकी हुन् । दुवै मुलुकका दर्शकलाई लक्षित गरी दुई भाषामा निर्माण हुने भएकाले भारतीय निर्देशक राजेशराजले सुचित्रासँग निर्देशनमा साझेदारी गर्ने बताइएको छ । नेपाली र हिन्दी दुई भाषीय समुदायमा खिचिने भएकाले दुवैतर्फको रहनसहन बुझ्न अनि संस्कृतिमा भिज्दै फिल्म निर्माणको लागि सहजता कायम गर्न दुई निर्देशक राखिएको निर्माण पक्षको कथन छ ।

उक्त फिल्मको निर्माणमा समेत साझेदारी गरेकी निर्देशक सुचित्राले फिल्म बनाउने मुख्य निर्माता अनवर राज र कथा लेखक शशि कुमारसँग केही वर्षअघिदेखि नै कुरा भए पनि बल्ल आएर काम सुरु हुन लागेको बताइन् । नेपाली फिल्म बजारमा बढ्दो हिन्दी फिल्मको प्रभाव नियाल्दै हिन्दी भाषाको फिल्म निर्देशनमा लागेको र उक्त फिल्मका लागि प्राविधिक र प्रविधि भने नेपालकै प्रयोग गर्ने सुचित्राको दाबी छ । उनका अनुसार फिल्मको ७५ प्रतिशत भारतको बिहारमा र २५ प्रतिशत नेपालमा छायाङ्कन हुनेछ । फिल्ममा नेपाल र भारत दुवै देशका कलाकार मुख्य भूमिकामा रहनेछन् भने मुख्य नायक नेपाली रहे हिरोइन भारतीय र मुख्य हिरोइन भारतीय रहेमा नेपालका हिरोलाई मौका दिइने सुचित्राको भनाइ छ । कलाकार छनोट छिट्टै गरिने पनि उनले जानकारी दिइन् । १२ करोड भारतीय रुपैयाँ बजेट बताइएको सो फिल्म आगामी लक्ष्मीपूजाको दिनबाट फ्लोरमा जानेछ ।