लाभकरको दायित्वबाट टेलिया उम्कन नसक्ने

लाभकरको दायित्वबाट टेलिया उम्कन नसक्ने


Ncell_Main Logo

एनसेल बिक्री कारोबारमा लाग्ने पुँजीगत लाभकरको दायित्वबाट टेलियासोनेरा उम्कन नसक्ने ठूला करदाता कार्यालयले जनाएको छ । आवश्यक परे स्वीडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी गरेको छ । स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभीटीले गत साता बिहीबार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले उक्त कुराको जानकारी दिएका एनसेलले जनाएको छ ।

‘एनसेलको कारोबारमा लाभकर लाग्छ । हामी अहिले अनुसन्धानको चरणमा छौँ । टेलियाले कर तिर्नुपर्छ,’ पौडेलले उक्त कार्यक्रममा भनेका छन्, ‘टेलियाले कर नतिरेमा कर कार्यालयले उक्त विषय सरकारीस्तरमा उठाउनेछ । टेलियाले पहलकदमी नलिए म कर विभागलाई जानकारी गराउनेछु, विभागले अर्थ मन्त्रालय हुँदै पराराष्ट्र मन्त्रालयलाई जानकारी गराउनेछ, जसको स्वीडेन सरकारसँग राम्रो सम्बन्ध छ । त्यसरी हामीले उसलाई पुँजीगत लाभकर तिर भन्न सक्छौँ ।’

नेपाली कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक करोबारको रूपमा चर्चित एनसेलको स्वामित्व हन्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण बुझाएको छैन । उसले होल्यान्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचामार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले सेयर कारोबारमा पुँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ ।

नेपालमा संसदीय समितिदेखि कर विज्ञसमेतले एनसेलतर्फ करको दायित्व स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन पहल नगरेको उक्त कार्यक्रमले खुलस्त पारेको छ । ‘कारोबार सम्पन्न हुनेबित्तिकै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो । हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानुनतः बाध्य नभएको जानकारी गरायौँ । त्यसपछि हामीले कुनै पत्र पाएका छैनौँ,’ डेनेलिन्ड भन्छन् । तर, उक्त कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वअर्थसचिव रामेश्वर खनाल, विमल कोइराला, विद्याधर मल्लिकलगायतले एकै स्वरमा टेलियाले लाभकर तिर्नुपर्ने बताएका छन् । ‘लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैन,’ महराले भनेका छन् ।

‘सम्पत्ति नेपालमा छ र उक्त सम्पत्ति बेच्दा लाभ हुन्छ भने त्यसको लाभकर नेपालमै तिर्नुपर्छ । नेपालको आयकर ऐनले यही भन्छ । त्यसैले टेलियाले लाभकर तिर्नुपर्छ,’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन् ।

यस्तै, पूर्वअर्थ तथा मुख्यसचिव विमल कोइरालाका अनुसार नेपालले अन्तर्राष्ट्रिय मुद्रा कोषसमेतको सहयोग लिएर आयकर ऐन बनाएको हो, यो अन्य मुलुकका कर कानुनभन्दा आधुनिक छ । टेलियाले जस्तोसुकै संरचनामार्फत लगानी गरेको भए पनि बेचेको त यहीँ भएको सम्पत्ति हो । त्यसको मूल्य पनि यहीँ कारोबार गरेर बढाएको हो । त्यसैले लाभकर तिर्नुपर्छ ।

‘नेपालमा कर तिर्नुपर्दैन भन्ने टेलियाको अडानबाट म अचम्मित छु,’ आयकर ऐन लेखनमा संलग्न तत्कालीन कर विभागका महानिर्देशक तथा पूर्वअर्थसचिव विद्याधर मल्लिकले भनेका छन्, ‘टेलियाले यस्तो भन्नु हुँदैनथ्यो । किनभने उसले नेपालमा रहेको सम्पत्ति कारोबार गरेको हो र संसारभर लाभकर लाग्ने अवस्थामा बिक्रीकर्ताले नै तिर्ने हो ।’