रोकियो एन्फाको अवैध निर्वाचन

रोकियो एन्फाको अवैध निर्वाचन


anfa

उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को निर्वाचन धरापमा परेको छ । गत साता एन्फाविरुद्ध परेको रिटमा उच्च अदालतले फैसला गरेको थियो । उक्त फैसलामा आगामी कात्तिक पा“च गतेसम्म एन्फाको निर्वाचनसम्बन्धी कुनै कामकारबाही अगाडि नबढाउनसमेत आदेश दिएको छ । अवैधानिक तरिकाले एन्फाको निर्वाचन हुन लागेको भन्दै रेफ्री विनोद केसीलगायतका व्यक्तिले उच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतको अन्तरिम आदेशसँगै आगामी कात्तिक ८ गते हुने एन्फाको निर्वाचन अहिले कोमामा पुगेको छ । विधानविपरीत एन्फाको अध्यक्ष पदमा उम्मेदवार दिने नरेन्द्र श्रेष्ठ र कर्माछिरिङ शेर्पाको रातको निद हरण भएको छ । अझ अदालतले दुवै पक्षलाई छलफलका लागि कात्तिक पा“च गते शुक्रबारको समय तोकेपछि एन्फाको आगामी निर्वाचनमाथि ठूलो प्रश्न तेर्सिएको छ । यसर्थमा कि पा“च गतेसम्म अदालतले एन्फाको निर्वाचनसम्बन्धी कुनै कामकारबाही नगर्नू–नगराउनू भन्नु र भोलिपल्ट शनिबार पर्नुले एन्फाको निर्वाचन तोकिएको समय अर्थात् ८ गते निर्वाचन हुने देखिँदैन ।

एन्फाको निर्वाचन सम्बन्धमा रशेको राष्ट्रिय खेलकुद परिषद्ले अदालतको फैसलापछि मौनता तोडेको छ । राखेपका कानुनी सल्लाहकार ओम थपलियाले एन्फाको निर्वाचन अवैधानिक भएको खुलासा गर्दै उक्त विधानअनुरूप निर्वाचन गर्न नमिल्ने बताएका छन् । थपलियाले पा“च प्रस्तावक र पा“च समर्थकको व्यवस्था नै विधानविपरीत भएको भन्दै वर्तमान एन्फाको विधानबाट वैधानिक निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । यस्तो प्रस्तावक र समर्थकको व्यवस्था गत निर्वाचनदेखि नै समाप्त भइसकेको भन्दै यसपटकको उम्मेदवारलाई एक समर्थक र एक प्रस्तावक भए पुग्ने प्रस्ट पारेका छन् । अहिलेसम्म एन्फाको निर्वाचनलाई राखेपले स्वीकृति नदिएको खुलासा गर्दै थपलियाले सर्तसहित एन्फाको निर्वाचनलाई स्वीकृति दिने बताए । यदि एन्फाले उक्त सर्तको पालना नगरे निर्वाचनलाई स्वीकृति नदिनेसमेत उनले बताएका छन् । यदि एन्फाका पदाधिकारीले राखेपलाई बाइपास गर्दै एन्फाको निर्वाचन गर्न उद्यत् देखिए त्यसपछि कानुनी कारबाहीको भागी बन्नुपर्ने पनि थपलियाले खुलासा गरे ।

प्राप्त जानकारीअनुसार अहिले तोकिएकै समयमा एन्फाको निर्वाचन गर्न गणेश थापालगायत उनका मतियार लागिपरेको थाहा भएको छ । साथै थापाले आवरणमा आफ्नो गुटको उम्मेदवारमा नरेन्द्र श्रेष्ठलाई अघि सारे पनि अहिले कर्माको पल्ला भारी भएपछि उनीसँग सा“ठगा“ठ गर्न लागिपरेका छन् । यसका लागि दुईवटा रणनीति तयार भएका छन् । कर्मालाई अध्यक्ष पद दिने र आफ्नो सहोदर सालो मणि कुँवरलाई उपाध्यक्ष बनाउने । जसका लागि निर्वाचन समितिको कार्यक्रमअनुसार श्रेष्ठलाई आगामी ५ गते अध्यक्ष पदबाट नाम फिर्ता लिन लगाउने र कर्मा पक्षबाट दीपक खातीलाई नाम फिर्ता गर्न लगाउने योजना रहेको सूत्रबाट थाहा भएको छ । कथंकदाचित उपरोक्त रणनीति असफल भएको खण्डमा आ–आफ्ना भोटरहरूलाई अध्यक्षमा कर्मालाई जिताउन सहयोग गर्ने र कर्माको तर्फबाट मणि कु“वरलाई जिताउने रणनीति तयार गरिएको छ ।