राजनीतिक नियुक्ति लिने टेण्डीले वचन पालना गर्लान् ?

राजनीतिक नियुक्ति लिने टेण्डीले वचन पालना गर्लान् ?


Keshav Kumar Bista

‘राजनीतिक नियुक्ति नितान्त राजनीतिक दलको नियुक्ति हो । तसर्थ त्यस्ता व्यक्तिले सरकार परिवर्तनसँगै नैतिकताको आधारमा राजीनामा दिनुपर्छ’, यो कथन वर्तमान राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पा हो । नेकपा एमालेको नेतृत्वमा सरकार बनेर एमालेले खेलकुद मन्त्रालय सम्हालेपछि खेलकुदमा आक्रोशका साथ लामाले यस्तो धारणा राखेका थिए । लामाले त्यतिबेला खेलकुदमा एमालेका कार्यकर्तालाई उतारेर युवराज लामाको विरुद्धमा नारा–जुलुससमेत लगाए । युवराज लामाको नियुक्ति राजनीतिक भएको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने त्यतिबेला ट्ण्डीको तर्क थियो । त्यस्तै, उनले आफ्नो पनि राजनीतिक नियुक्ति भएकोस्वीकार गर्दैै सरकार परिवर्तनसँगै आफूले राजीनामा दिने प्रतिबद्धता जनाएका थिए । आफू पदलोलुप नभएको भन्दै एकछिन पनि राखेपको उपाध्यक्ष पदमा नबस्ने दाबी उनको थियो ।

तर, अहिले समयले कोल्टे फेरेको छ । बल उपाध्यक्ष लामाको कोर्टमा पुगेको छ । सरकारको नेतृत्व नेकपा माओवादीले सम्हालेको छ भने खेलकुद मन्त्रालय माओवादीकै भागमा परेको छ । यस्तो अवस्थामा लामाको नियुक्ति राजनीतिक हो कि होइन ? उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ कि पर्दैन ? त्यो अहिले चर्चाको विषय बनेको छ । अर्कालाई आरोप लगाउन र भन्न सजिलो हुन्छ, तर व्यवहारमा उतार्न गाह्रो हुन्छ । अब लामाले आफैँले बोलेको कुरामा कति इमानदारिता देखाउँछन् त्यो हेर्न लायक बनेको छ । त्यसैले अहिले अहम् प्रश्न बनेको छ– के लामा टेन्डी शेर्पाले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष पदबाट राजीनामा देलान् ?

‘राजनीतिक नियुक्ति लोकसेवा पास गरेर दिइएको नियुक्ति होइन । तसर्थ सरकार परिवर्तनसँगै नैतिकताको आधारमा राजीनामा दिनुपर्छ,’ यो कथन पनि उपाध्यक्ष लामाकै हो । अरूलाई हटाउन राजनीतिक र नैतिकताको कुरा गर्ने लामाले अब आफ्नो बचाउका लागि के वहाना बनाउँछन् त्यो प्रतीक्षाको विषय बनेको छ । स्मरण रहोस्, आफ्नो बचावटमा लामाले ‘रात गए, बात गए’ भनेमा अन्यथा मान्नुपर्ने छैन । यसर्थमा कि लामाले उक्त घटनालाई राजनीतिक जलप नलगाउलान् पनि भन्न सकिँदैन । त्यो पार्टीको निर्देशन थियो भन्दै लामा पन्छिएर मौनता साँध्न पनि सक्छन् ।

यदि लामामा थोरै पनि राजनीति र नैतिकता बाँचेको छ भने उनले आफ्नो बोलीको मान राख्न सक्नुपर्छ । राखेपको उपाध्यक्ष पदबाट राजीनामा दिएर उदाहरणीय बन्नुपर्छ । अन्यथा हिजो उनले बोलेको वचन र उठाएको कदम राजनीतिक प्रतिशोध साँध्नका लागि मात्रै थियो भन्दा अतिसयोक्ति नहोला । अहिले राजनीतिक नियुक्ति पाउने राजदूत होस् या न्यायाधिवक्ता सबैले सरकार परिवर्तनसँगै नैतिकताको रूपमा राजीनामा दिएको अवस्थामा लामाले त सार्वजनिक रूपमै सरकार परिवर्तनसँगै आफू पदमा नबस्ने घोषणा गरेका थिए । अब लामाले नैतिकताको मूल्य र मान्यताको आधारमा राखेपको उपाध्यक्ष पदबाट राजीनामा दिए त ठीकै हो अन्यथा उनी पनि कानै चिरेका बन्ने पक्का छ । हुन त यो देशमा कसको पो नैतिकता छ र ? लामाले पनि नैतिकता नदेखाए केही फरक पर्नेवाला छैन । तर, हिजो माओवादीको पालामा उनले जुन शंखनाद गरेका थिए त्यो भ्रम खेती थिएन भनेर लामाले प्रमाणित गर्नुपर्छ कि पर्दैन त्यो आफैँमा गम्भीर विषय बनेको छ ।

– श्रीविक्रम भण्डारी