रञ्जु दर्शनाको उम्मेदवारीले जन्माएको आशङ्का

रञ्जु दर्शनाको उम्मेदवारीले जन्माएको आशङ्का


Ranju_Darsana

स्थानीय तहको निर्वाचन मिति घोषणासँगै एकाएक चर्चामा आएकी युवती हुन्– रञ्जु दर्शना । देशकै महत्वपूर्ण र ठूलो काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने २१ वर्षीया रञ्जुको हिम्मतको तारिफ नगर्ने सायदै होलान् । विवेकशील नेपाली दलबाट उम्मेदवार बनेर चुनाव लडेकी दर्शनाले तेस्रो स्थानमा रहँदै सम्मानजनक मत पनि ल्याएकी छिन् । यो उनका लागि ठूलो सफलता नै हो ।

अब कुरा गरौँ विवेकशील दलको । व्यक्तिगत रूपमा रञ्जु दर्शना आँट र हिम्मत भएकी महिला हुन् । र, उनले नेतृत्व पनि गर्न सक्छिन् भन्ने कुरामा दुईमत छैन । तर, पार्टीको कुरा गर्ने हो भने भूमिका शङ्कास्पद देखिन्छ । विवेकशील नेपाली दलले उठाएका हरेक एजेण्डा नेकपा एमालेसँग मिल्दोजुल्दो हुने गर्दछ । विवेकशील दलले त्यो मुद्दामा विरोध ग¥यो जुनमा एमाले थियो ।

उदाहरणका लागि अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरण होस्, चाहे डीआईजी नवराज सिलवालसम्बन्धित होस् वा प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग प्रकरण । यी सबै एमालेले उठाएका मुद्दा हुन् जसमा विवेकशील दल पछाडि–पछाडि लागेर हिँडेको देखिन्छ । यसबाट के बुझिन्छ भने विवेकशील एमालेको निर्देशनमा चल्ने पार्टी हो ।
काठमाडौंको टिचिङ हस्पिटलमा बसेर चिकित्सा शिक्षा सुधारका लागि अनशन बस्ने डा. गोविन्द केसी होस् वा त्यो कदममा खुलेरै साथ दिने विवेकशील दल, अख्तियार प्रमुख लोकमान हटेपछि यी अस्ताए । काठमाडौंमा घन्टौँ लोडसेडिङ हुँदा, धुलोधुवाँले स्थानीयलाई सास्ती हुँदा यी विषयमा न त गोविन्द केसी अनशन बसे न त विवेकशील नै बोल्यो । लोकमानविरुद्ध महाअभियोग लाउनुपर्ने भन्दै अनशन बस्ने गोविन्द र सडकमा रमिता देखाउने विवेकशीलले जनताका प्रत्यक्ष समस्या समाधानका लागि न आवाज उठाए न त कुनै पहल गरे ।

अहिले विवेकशील दलले रञ्जु दर्शनालाई काठमाडौंको मेयरमा उठाएको छ । ‘२१ वर्षकी युवती पपुलर छिन्’ भनेर उनलाई अगाडि सारियो । सूत्रहरूका अनुसार उनलाई योग्यताका आधारमा नभई पब्लिसिटी र काङ्ग्रेस माओवादीको भोट काट्न एमालेकै डिजाइनमा अघि सारिएको रहेछ । उनले चुनावमा १० हजारभन्दा भन्दा माथि भोट पाएकी छिन् । यदि रञ्जुले पाएको भोट काङ्ग्रेसका थिए र काङ्ग्रेसले पाएको भए महानगरमा काङ्ग्रेस जित्ने सम्भावना बढी रहन्थ्यो । तर, रञ्जुले ती भोट काटिन् । उस्तै पनि सङ्गठनमा बलियो एमालेको भोट फिक्स छ । रञ्जुदेखि किशोर थापासम्म जोसुकै उठे पनि तलमाथि हुने सम्भावना छैन । अहिले जति भइरहेको छ त्यो काङ्ग्रेसलगायत अन्य दलको हो ।
त्यस्तै, सामाजिक सञ्जाल फेसबुकमै हेर्ने हो भने विवेकशीलले रञ्जु दर्शनाको प्रचारका लागि प्रमोसनलगायत विधामा अर्बौं खर्च गरेको पाइएको छ । एक अनुसन्धानात्मक प्रतिवेदनमा यतिसम्म लगानी गरेको पाइएको हो । जब कि यत्रो प्रचार काङ्ग्रेस, माओवादीले गर्न सकेका छैनन् । शेरबहादुर, प्रचण्ड भ्रष्टाचारी होलान् । वर्षौंदेखि ती राजनीति गर्दै सांंसद छन् । तर, विवेकशीलले यत्रो प्रचार ग¥यो कि त्यति त देउवा–प्रचण्डले गरेका छैनन् । रोचक कुरा त के छ भने विवेकशील पार्टी सत्तामा गएको पनि छैन न त ठूलो सङ्गठन नै छ । अनि कहाँबाट आयो यत्रो पैसा ? यो गम्भीर प्रश्न खडा भएको छ ।

सूत्रहरूलाई आधार मान्ने हो भने यो पैसा एमालेको आग्रहमा युरोपियन युनियनले अनुदानमा दिएको हो । यहाँनेर प्रश्न आउन सक्छ कि एमालेले विवेकशीलका लागि किन पैसा मागिदियो ? किनकि एमाले काङ्ग्रेस र माओवादीलाई समाप्त पार्न चाहन्छ । त्यसका लागि उसले बाहिर राष्ट्रवादको ढोल पिटिरहेको छ भने भित्र विवेकशील, साझा पार्टीजस्ता सङ्गठन बनाएको छ, जसले काङ्ग्रेस र माओवादीको भोट काटोस् र आफूले चाहेको गर्न सकौँ भन्ने एमालेको योजना छ । यदि काङ्ग्रेस र माओवादी समाप्त भए भने आफूले चाहेका कुरा पूरा गर्न एमालेलाई सकैले रोक्न सक्दैन । त्यसकारण यो सबै डिजाइन एमालेकै हो भन्नेमा दुईमत नरहला ।
(‘नेपाल पाना’बाट)