युद्धको बेला यौनहिंसा : आलै छन् घाउ

युद्धको बेला यौनहिंसा : आलै छन् घाउ


babita-basnet-1


– बबिता बस्नेत

‘तेह्र वर्ष भयो रगत बगिरहेको छ,’ १३ वर्षअघि सुरक्षाकर्मीबाट सामूहिक बलात्कारमा परेकी दैलेखकी ४७ वर्षीया उनले यसो भन्दै गर्दा यस्ता कुरा भनेर पनि हुने त के नै हो र ? भन्ने भाव अनुहारभरि पोखिएको थियो । सुर्खेतमा गत आइतबार (२०७३ साल फागुन ८ गते) यो पङ्क्तिकारले भेट्दा उनी भन्दै थिइन्, ‘पाठेघर निकालेपछि रगत नआउनुपर्ने हो, तर मेरो त बेलाबेलामा बगिरहन्छ, के भाको होला यस्तो ?’ मुलुकमा शान्तिप्रक्रिया सुरु हुनुअघिको वर्ष उनको जीवनमा ठूलै आँधी–बेहरी लिएर आयो । श्रीमान् कर्णालीमा बनपाले थिए । नौ वर्षकी छोरीलाई लिएर उनी बस्थिन् । श्रीमान् माओवादीमा लागेको भन्दै बेलाबेलामा सुरक्षाकर्मी घरमा उनलाई धम्क्याउन आइरहन्थे । उनले श्रीमान्लाई आफ्नो अवस्था बताउँदै चाँडो घर आउन खबर गरेकी थिइन्, तर पति नआइपुग्दै उनलाई उठाएर लगियो र कुटपिटपछि सामूहिक बलात्कार गरेर छोडियो । दुवै हात पछाडि बाँध्ने क्रममा उनको दाहिने हातको माझी औंला काटिएको छ । पिँडुलामा त्यतिबेला लागेको चोट खाटा बसिसकेको छ । तर, मनमा लागेको चोट जस्ताको तस्तै छ । त्यतिबेला उनीमाथि भएको हमलाको दृश्य उनले भुल्न सकेकी छैनन् । भन्छिन्, ‘राज्यका विभिन्न निकाय, धेरैतिर धाइयो, तर न्याय पाइएन ।’ उनको मुद्दा अन्तर्राष्ट्रिय अदालतसम्म पुगेको छ ।

श्रीमती बलात्कारको खबरको तीन दिनपछि उनका पति आइपुगे । माइतीको सहाराले रक्ताम्य उनलाई अस्पताल पु¥याइयो । जिल्ला र नेपालगन्जमा समेत उपचार हुन नसकेपछि लखनउ लगियो । अस्पतालले पाठेघर क्षतविक्षत भएकाले फाल्नुपर्छ भनेपछि पाठेघर फालियो । यो सबै घटना थाहा पाउँदापाउँदै पतिले दोस्रो विवाह गरे । बलात्कारको पीडासँगै जिन्दगीमा पतिले सौता ल्याउँदाको पीडा र एक्लोपन थपियो ।

मुलुकमा भएको दशवर्षे माओवादी युद्धका बेला धेरै घटना भए । १७ हजारभन्दा बढीको ज्यान गएको युद्धमा अनेक घटना हुने नै भए । तीमध्येका अङ्गभङ्ग हुनेहरूको कथा जति दुःखदायी छ, वृद्धावस्थामा पुगेका आमाबाबुको त्यस्तै दुःखद् अवस्था छ जसले युद्धमा आफ्ना सन्तान गुमाएका थिए । यता यौनहिंसाको कथा झनै वर्णन गरिनसक्नु छ । ती दश वर्षका बीचमा कति महिलामाथि कुनप्रकारको यौनहिंसा भयो, कतिजना माथि बलात्कार भयो भन्ने निश्चित तथ्याङ्क छैन । तथ्याङ्क खोज्नतिर लाग्नुभन्दा खै तथ्याङ्कै छैन भन्नेतिर सरकार लाग्यो, तर जतिले आफूमाथि भएको अत्याचारको कुरा सार्वजनिक गरे, तिनले पनि न्याय पाएनन् । न्यायको कुरा त टाढाको कुरा, अन्य द्वन्द्वपीडितले पाएको साधारण राहतसमेत पाएनन् । कति महिलालाई यौनहिंसापछि बेपत्ता पारियो र कतिले आत्महत्या गरे होला ? कसैले भन्न सक्ने अवस्था छैन । जति जीवित छन् तिनको अवस्था अन्य द्वन्द्वपीडितको भन्दा फरक छ । कम्तीमा अरूले परिवारको साथ र सहानुभूति पाएका छन्, उनीहरूले त त्यो पनि पाएनन् ।

युद्धमा धेरै महिलाले कति ठूलो मूल्य चुकाएका थिए भन्ने कुरा थाहा पाउन द्वन्द्व प्रभावित जिल्लामा पुग्नुपर्छ । त्यसो त, त्यत्तिका धेरै पुरुष पनि त मरे नि भन्न सकिन्छ । उनीहरू त एकपल्ट मरे, तर मृत्युभन्दा कैयौँ गुणा बढी पीडा लिएर यौनहिंसापीडित महिला पटकपटक मर्दै जीवन धानिरहेका छन् ।

श्रीमान्को हत्या गरेर आफू एकल भइसकेपछि बलात्कारमा परेकाहरूलाई चित्त बुझाउने बाटो छ, उनीहरू ठान्छन्– श्रीमान् भएको भए यस्तो हुने थिएन कि ? तर, अन्य ती धेरै महिला जो कि त श्रीमान्को खोजीमा आएकाहरूबाट बलात्कारमा परे कि त कहाँ छ भनेर उसको बारेमा जानकारी नदिएको कारणले बलात्कारमा परे, तिनले दुःखको बेला पतिको साथ पाएनन् । केहीले पाएका छन्, तिनले पनि त्यस्तो भएर पनि तँलाई मैंले राखेको छु भनेर बेलाबेलामा वचन लाउँछन् । यौनहिंसामा परेका महिलालाई पतिले गरेको व्यवहारको कुरा सुन्दा यस्तो लाग्छ मानौँ उनीहरू आफूखुसीले बलात्कारमा परेका हुन् । घटना थुप्रै छन् । कोही जिल्लामा बस्नै नसक्ने भएपछि टाउको लुकाउन सहर (सुर्खेत) आएर सडकमा मकै पोल्ने व्यवसाय गर्दै गर्दा बलात्कृत भएका छन् ।
कोही जिल्लामा आफ्ना पति मारिएपछि गाउँमा आफू बलात्कृत भएका छन् । युद्धमा धेरै महिलाले कति ठूलो मूल्य चुकाएका थिए भन्ने कुरा थाहा पाउन द्वन्द्व प्रभावित जिल्लामा पुग्नुपर्छ । त्यसो त, त्यत्तिका धेरै पुरुष पनि त मरे नि भन्न सकिन्छ । उनीहरू त एकपल्ट मरे, तर मृत्युभन्दा कैयौँ गुणा बढी पीडा लिएर यौनहिंसापीडित महिला पटकपटक मर्दै जीवन धानिरहेका छन् । पत्नीमाथि बलात्कार भएको थाहा पाएपछि दोस्रो विवाह गरेका ती श्रीमान्का पत्नीहरूलाई मेरो श्रीमान्माथि त्यस्तो दुःख परेको भए म कति स्याहार गर्थें होला, दुःख गरेर भए पनि उनलाई माया गरेर पाल्थेँ होला भन्ने लाग्छ । भावनात्मक मात्र होइन, यस्तो पनि हुन्छ ? भनी समाजसँग प्रश्न गर्न मन लाग्ने असहज कुरा धेरै छन् । जुन समाजमा तपाईं–हामी नै बस्छौँ ।

द्वन्द्वका बेला भएका बलात्कारबाट जन्मिएका सन्तानको जन्मदर्ता छैन । जन्मदर्ता नभएपछि नागरिकता बनाउन गाह्रो छ । अब द्वन्द्वका बेला कति महिलामाथि बलात्कार भयो तथ्याङ्क छैन भनेर सरकारले बस्न मिल्दैन । जति बाहिर आएका छन् तिनलाई राहत प्रणालीमा समावेश गर्नैपर्छ । द्वन्द्वका बेला बलात्कारमा परेका महिलाका सन्तानलाई नागरिकता दिनका लागि उनीहरूको जन्मदर्ता अभियान सुरु गर्नुपर्छ र बाबुको नाम लेख्नुपर्ने ठाउँमा पनि आमाकै नाम लेखेर ससम्मान उनीहरूलाई नागरिकता दिलाउनुपर्छ । राज्य र विद्रोहीको लडाइँमा निर्दोष ती महिलाले बलात्कारको मनोदशा व्यहोर्दै उनीहरूलाई हुर्काए । नागरिकता नभई केही गर्न मिल्दैन । राज्यले सबै उत्तरदायित्व लिनुपर्ने बच्चाहरूलाई पीडित ती आमाले आफैँ सबै उत्तरदायित्व लिएर युवा अवस्थामा पु¥याए । अब यो अवस्थामा नागरिकताको पातोमा बाबु को हो ? भनेर नाम खोज्दै हिँड्नुको कुनै अर्थ छैन । हाम्रो समाजमा बाबु भनेको उत्तरदायित्वको अर्को नाम पनि हो । बाबुको नाम थर लेख्ने ठाउँमा ‘बाबुको नाम थर नखुलेको’ या ‘बाबु पत्ता नलागेको’जस्ता शब्दहरू भरेर किशोर अवस्थाका ती युवाहरूलाई हीनताबोध गराउने काम राज्यबाट हुनुहुँदैन । न्याय के, कस्तो, कसरी र कहिले पाउलान् यसै भन्न सक्ने अवस्था छैन, तर बलात्कारबाट पीडितलाई कम्तीमा राहत प्रक्रियामा समावेश गर्नैपर्छ । यति पनि गर्न नसक्ने हो भने सम्बन्धितहरूले युद्धको उपलब्धिलाई संस्थागत गर्नुपर्ने भाषण गर्दै हिँड्नुमा गौरव होइन लाज मान्नुपर्नेछ ।