यसरी पोखिए रङद्वारा इशान र सविता

यसरी पोखिए रङद्वारा इशान र सविता


Ragini 2

कलाकार जोडी सविता डङ्गोल र इशान परियारका कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हिजो मंगलबार सम्पन्न भयो । पाँचदिवसीय कला प्रदर्शनीको गत शुक्रबार उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले नेपाली कलामा इशान र सविताले निकै आशालाग्दो तरिकाले राम्रो काम गरिरहेको बताइन् । उपाध्यायले थपिन्, ‘कला साधना र सिर्जनाको संयोजन हो, यसमा इशान र सविताले आशालाग्दो गरी काम गरिरहेको मैले पाएँ, दुवैको काम समाज र परिवेशलाई उजागर गर्ने खालको रहेको छ । ऊर्जाशील यी कलाकारमा रहेको कलाको भोकलाई हामी सबैले सम्मान गर्नुपर्छ ।’

प्रेम र समाजका विषयलाई निकै कलात्मक रूपमा चित्रमा उन्दै रचिएका कलामा युगल जोडीका विषयको प्रधानता रहेको पाइन्छ । साथै समाज, प्रेम र सांस्कृतिक विषयमा देखापरेका विषय चित्रमा आएको छ । समाजमा जगल्टिएका भिन्न आयामलाई कलात्मक रूपमा उन्दै सविताले काइँयो बिम्बमार्फत फुकाउने चेष्टा गरेकी छिन् । उनले समाज, संस्कृति, राजनीति तथा दैनन्दिनीका विविध आयाम र परिवेशलाई रङ र बिम्बमार्फत प्रस्तुत गरेकी छिन् । त्यस्तै, इशानले समाजमा देखापरेको सांस्कृतिक मूल्य र त्यसले निम्त्याएको भयानक परिवेशलाई सरल र सांकेतिक रूपमा क्यानभासमा प्रस्तुत गरेका छन् । दुवैका कलामा समाजका भिन्न परिवेशलाई उधिन्न खोजिए पनि तिनले पारेको गाँठोले मानिसका मनमा परेको अधैर्यता र विचलनलाई निकै कलात्मक रूपमा चित्रण गरेको देखिन्छ । उनीहरूका चित्रको मुख्य विषय भने प्रेम र सद्भावले मात्र समाजलाई अगाडि लैजान सक्छ भन्ने रहेको छ । यो जोडीले समाजका पे्रमिल विषयलाई समेत चित्रमा फरक रूपमा प्रस्तुत गरेको छ । चित्रमा प्रयुक्त रङ र विषय अघिल्ला प्रदर्शनीमा भन्दा परिपक्व र आकर्षक रहेको अनुभूति गरियो ।

रेखात्मक चित्रमार्फत सविताले आफूलाई भिन्न रूपमा प्रस्तुत गर्न सफल रहेको कला समीक्षक मुकेश मल्लले बताए । उनले नेपाली कलामा देखापरेका सामाजिक, सांस्कृतिक तथा राजनीतिक विषयलाई कलाकारद्वयले फरक बिम्बमार्फत प्रस्तुत गर्न सफल रहेको बताए । समाजमा गाँठो परिरहेका विभिन्न उल्झनलाई काइँयो बिम्बमार्फत प्रस्तुत गरेको बताउँदै सविताले भनिन्, ‘जसरी काइँयोले लट्टा परेको कपाल फुकाउँछ, मैले त्यही बिम्बमार्फत समाजका उल्झनलाई फुकाउन काइँयोलाई नै चित्रमा प्रयोग गरेकी हुँ ।’

डुङ्गा बिम्बमार्फत पे्रम र यसको सौन्दर्यचेतलाई क्यानभासमा उतारेको कलाकार इशानले बताए । उनले भने, ‘प्रकृति र प्रेम मानिसको जीवन ऊर्जा हो, त्यसलाई मैले कलामार्फत व्यक्त गरेको हुँ ।’
Ragini 1