भारतको लागि राजदूत बन्ने दौडमा को अगाडि ?

भारतको लागि राजदूत बन्ने दौडमा को अगाडि ?


Ambassdor to India

छिमेकी मित्रराष्ट्र भारतका लागि नेपालको सम्भावित राजदूतमा आधा दर्जनभन्दा बढी व्यक्तित्वको नाम चर्चामा आएको छ । चर्चामा आएकाहरूमा पूर्वप्रधानसेनापति गौरवशमशेर जबरा, केही महिनाअघि नयाँदिल्लीबाट फिर्ता बोलाइएका दीपकुमार उपाध्याय, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावल, डा. शम्भुराम सिंखडा, शाहीकालीन परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका छोरा निश्चलनाथ पाण्डे, योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल र संयुक्त राष्ट्रसङ्घबाट अवकाशप्राप्त भीम उदास रहनुभएको छ । उल्लिखित व्यक्तिहरूमध्ये दीपकुमार उपाध्यायले आफूलाई बिनाकारण अपमानजनक ढङ्गले फिर्ता बोलाइएकोले पुन: भारतका लागि राजदूत बनाइदिन प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग पटक–पटक आग्रह गरिरहेको र यसक्रममा उपाध्यायले आश्वासन पाएको बुझिएको छ । उपाध्यायले तीन महिनाका लागि भए पनि आफूलाई राजदूत बनाइनुपर्ने माग गरिरहेका छन् ।

त्यस्तै, पूर्वप्रधानसेनापति गौरवशमशेर जबराले पनि भारतको लागि राजदूत बन्ने इच्छा सत्तापक्षका नेताहरूसमक्ष प्रकट गरिरहेका छन् । कूटनीतिक या अन्य उच्च पदहरू रिक्त हुनेबित्तिकै दाबेदारका रूपमा प्रस्तुत भइहाल्ने डा. शम्भुराम सिंखडा र डा. गोविन्द पोखरेलले पनि भारतका लागि राजदूत नियुक्त हुन दौडधुप गरिरहेका छन् । जसको सरकार बने पनि छोरा निश्चलनाथलाई राजदूत बनाउन पहल गर्दै आएका पिता रमेशनाथ पाण्डेले माओवादी च्यानलमार्फत छोराका लागि फेरि एकपटक पहल गरिरहेका छन् । डा. तिलक रावलले राजदूत बन्न कुनै पहल नगरे पनि उनको समेत नाम चर्चामा आएको पाइन्छ भने एकथरीले भीम उदासलाई भारतका लागि राजदूत बनाउन उपयुक्त हुने सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिइरहेका छन् । यसरी चर्चामा आएकामध्ये कसलाई भारतका लागि राजदूत बनाइने भन्ने कुराको निधो सत्तापक्षका नेताहरूले बनाइसकेका छैनन् ।

तर, दीपकुमार उपाध्याय र गौरवशमशेर जबराको नामलाई सत्तापक्षभित्र अलिक गम्भीरतापूर्वक लिइएको बताइन्छ । सुशील कोइराला प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका गोविन्द पोखरेललाई कोइरालाले पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा पनि नियुक्त गरेका थिए । संविधानसभा निर्वाचनमा प्यूठानबाट कांग्रेसको उम्मेदवार बनेर पराजित हुन पुगेका गोविन्द कांग्रेसको गत महाधिवेशनमा केन्द्रीय समितिको उम्मेदवार बनेर पराजित भएका थिए । अहिले उनी भारतका लागि राजदूत बन्न सक्रिय भएका त छन्, तर सत्तारुढ नेताहरू गोविन्द पोखरेललाई नियुक्त गर्नेतर्फ अहिलेसम्म सकारात्मक देखिएका छैनन् । वर्तमान राजनीतिमा सुजाता कोइरालाको स्थिति कमजोर भएकोले डा. शम्भुराम सिंखडाको पक्षमा पनि परिस्थिति निर्माण हुन सकेको छैन । सरकार परिवर्तनसँगै माधवप्रसाद घिमिरेको दौडधुप स्वात्तै घटेको छ । राजदूत बन्ने दौडमा अहिलेसम्म गौरवशमशेर जबरा र दीपकुमार उपाध्याय सबैभन्दा अगाडि देखिएका छन् ।