बाँचिरहे सबै देख्न पाइन्छ !

बाँचिरहे सबै देख्न पाइन्छ !


Krishna Raj Sharma 3

■ कृष्णराज शर्मा

बाँच्दै रहनुपर्छ के–के देख्न पाइन्छ भन्थे बूढापाकाले । हो रै’छ, हुने–नहुने अनेक देखिँदै छन् बाँचेकै हुनाले । देखिएका यस्तैमध्ये एउटा कुराको चर्चा गर्न मन लाग्यो । बाग्लुङ बजारको मध्यभागमा बीचबाटोमै राजा महेन्द्रको सालिक अत्यन्त शोभायमान भएर रहेको थियो । चिटिक्क सानो गोलाकार पर्खालभित्र रङ्गीचङ्गी फूलबीच बगैँचामा ठडिएको अर्धकदको मूर्तिले कोही–कसैलाई पिरेको थिएन । त्यो देखेर गाली गर्नेले गाली गर्थे, आस्था र स्नेह राख्नेहरू नतमस्तक बन्थे, पुष्पगुच्छा अर्पण गर्थे । महेन्द्र राजाको सालिक रहेकै कारण यस वरपरको बाटोका नाम पनि महेन्द्रपथ रहन गएको थियो । प्राकृतिक आँधीबेहरी कति आए, कति गए । ती आँधीबेहरीले सालिकको चेहराको मुस्कुराहटमा कहिल्यै कमी ल्याएन, सालिक कहिल्यै डगमगाएन ।

तर, एकपटक त्रिसट्ठी साल आयो । आउन पनि हुन्हुनाएर आयो । अप्राकृतिक आँधीबेहरी आयो । त्यतिबेला मरेका राजा महेन्द्रले पनि सुख पाएनन् । त्रिसट्ठी साल सुरु हुनुभन्दा चार दिन पहिले बाग्लुङ दक्षिणतिरका एक उद्दण्ड एमाले कार्यकर्ताले पहिलो प्रहार सालिकको चेहरामै गरे । राजा महेन्द्रको त्यो पोटिलो गालामा चोटिलो ढुङ्गा प्रहार भयो ती (अ)राजनीतिक कार्यकर्ताबाट । त्यसपछि उक्त मूर्तिमाथि भोडा बनेर सबै खनिए । सेतो सिंहमर्मरको झलझलाकार चम्किलो सालिक थियो त्यो । कलाकारको उत्कृष्ट सिर्जना थियो । त्यसपछि थप आक्रोशित र उत्तेजित हुँदै उनै राजाको श्रीपेचमा यसरी हाने कि श्रीपेचको कल्की नै उडाए । हुँदाहुँदा पूरै शरीर क्षतविक्षत बनेर सडकभरि छरपष्ट भयो । ‘कठै ! के बिराएको थियो त्यो ढुङ्गाको मूर्तिले’ भन्दै त्यो उद्दण्डता देख्ने बूढाबूढीहरूले निरीहता प्रकट गरे । घरका झ्याल–झ्यालबाट त्यो हृदयविदारक दृश्य चुपचाप हेरिरहे । त्यो ‘बहादुरी’का पात्रहरू विनाश निम्त्याएर तत्काल अलप भए ।

salik 3

त्यो थियो त्यही त्रिसट्ठीको एक दिन । अनि थियो जनआन्दोलनकारीको ‘महान् विजय’को दिन । उक्त घटनापछि त एकपछि अर्को ठाउँमा आन्दोलनकारी ‘बहादुर’हरू प्रकट भए । अलप र प्रकट हुँदै बाग्लुङ बजारमा भएका राजपरिवारका अन्य सदस्यका कुनै पनि मूर्ति बाँकी राखेनन् । यी ऐतिहासिक मूर्तिकलाको कसैले जोगाड गरेन । बाग्लुङ बजार प्रवेश गर्नेबित्तिकै देखिने राजा वीरेन्द्र र रानी ऐश्वर्यका अर्धकदका मूर्ति निमेषभरमा ध्वस्त भए । वीरेन्द्र–ऐश्वर्यको सौन्दर्यले जगमगाएको उद्यान उसैगरी ओइलायो । बाग्लुङ भगवती मन्दिरपरिसरको रत्न बालउद्यानमा रहेको रानी रत्नको प्रतिमा पनि उखेलियो । कतै केही बाँकी रहेन । अहिले ती ठाउँमा कतै नरभक्षी बाघका मूर्ति ठडिएका छन् त कतै ठुटा स्तम्भहरू मात्रै ठिङ्ग्रिङ्ग उभिएका छन् । त्यही नरभक्षी बाघ विराजित स्थानलाई आज ‘लोकतान्त्रिक चोक’ भनिन्छ । यी सबै त्रिसट्ठी सालको आगमनवरिपरिका दिनमा भएका कमालका कर्तुत थिए । क्रमशः राजारानीका नामोनिशान मेट्न धम्मरधुस प्रयत्न भए ।

राजाको अनुकम्पाले डकारिरहेकाहरू प्रतिकार त के सामान्य टिप्पणीसमेत गर्न नसकी दुलाभित्र पसे । उता राजाका सालिक ढाल्नेहरूले राजालाई साथ दिनेहरूको तीनपुस्तेसहित एक–एक नाम खोज्दै ‘कालोसूची’ तयार गर्न थाले । राजाको प्रत्यक्ष शासनमा ‘निर्वाचित’ जनप्रतिनिधि र मनोनीतहरू सबै यो सूचीमा समेटिए । धेरैजसो सूचीकृत भएकाहरू आजको आजै टाप कसे । कोही माओवादीको अन्नदाता बनेको र खाटमुनि लुकाएर बचाएको धाकमा केही दिन बसे । अरूलाई खाने बाघले यिनलाई पो के बाँकी राख्थ्यो ! पछि उनीहरू पनि टापै कसे । यो परिदृश्य बाग्लुङमा मात्र नभई अधिराज्यभर देखिएको थियो ।

राजाको अनुकम्पाले डकारिरहेकाहरू प्रतिकार त के सामान्य टिप्पणीसमेत गर्न नसकी दुलाभित्र पसे । उता राजाका सालिक ढाल्नेहरूले राजालाई साथ दिनेहरूको तीनपुस्तेसहित एक–एक नाम खोज्दै ‘कालोसूची’ तयार गर्न थाले । राजाको प्रत्यक्ष शासनमा ‘निर्वाचित’ जनप्रतिनिधि र मनोनीतहरू सबै यो सूचीमा समेटिए । धेरैजसो सूचीकृत भएकाहरू आजको आजै टाप कसे । कोही माओवादीको अन्नदाता बनेको र खाटमुनि लुकाएर बचाएको धाकमा केही दिन बसे । अरूलाई खाने बाघले यिनलाई पो के बाँकी राख्थ्यो ! पछि उनीहरू पनि टापै कसे ।

भर्खरै सम्पन्न स्थानीय तहको चुनावको मुखैमा आएर यिनै प्रमुख दुश्मनहरू परम्मित्र बनेर हातेमालो गरेको देखी नेपाली राजनीतिक समाज चकित छ । लाग्यो, चौपाया र द्विपायको जग्गीय स्थापना भयो । अप्राकृतिक विवाह भयो । एकादेशको दन्त्यकथामा पनि नपाइने कस्तो मधुर मिलन भयो ? तर भयो । यिनको रङ्गीन मधुमास चल्ला–नचल्ला, तर एकछिनका लागि यी न्याना भए । यस्तो रोचक प्रहसन नेपालीले भोलिका दिनमा देख्लान् वा नदेख्लान् प्रतीक्षा गरौँ । काङ्ग्रेस–कम्युनिस्टले पूरै तिरस्कार गरेका र कालोसूचीमा परेकाहरू एकाएक स्वर्णपत्रमा कसरी अङ्कित हुन पुगे ? प्रश्न यो भएर उल्लेखनीय बन्यो बाग्लुङको घटना । स्थानीय चुनावमा आ–आफ्ना पार्टीका सैद्धान्तिक धरातल कता हराए ? राप्रपा र एमालेको मिलनबिन्दुको आधार र सैद्धान्तिक धरातल के थियो ? विज्ञानलाई नै चुनौती दिने ढङ्गले कसरी यी विपरीत दिशाका चुम्बकीय ध्रुव यसरी आकर्षित भएर टाँसिन पुगे ? जमिनमुनि धसिएको खिया परेको फलाम एक्कासि कसरी एकनम्बरी सुन बन्यो ? माओवादी र काङ्ग्रेसजस्ता जानी–दुश्मन कहाँबाट परम् मित्र बने ? यिनै प्रश्नैप्रश्नले बाग्लुङको त्रिसट्ठीको दिनका घटना स्मरण गरायो । लाग्यो– बाँचेपछि अनेक विचित्र–चित्र देख्न पाइन्छ !

salik 2

हिजो बाग्लुङको महेन्द्रपथमा भएको ताण्डव देखेर भाग्नेहरू आज एमालेपथ भएर कुन तन्त्रको हिमायती बन्न खोजेका हुन् भन्ने अनुमान सहजै लगाउन सकिन्छ । राजासहितको प्रजातन्त्र र हिन्दूअधिराज्य कता मिल्काउन पुगे ? के भनिन्थ्यो र के गरिँदै छ ? कुर्ची र सत्ताप्राप्तिका लागि जस्तोसुकै बरमाला भिरेर बिहे गर्न तम्सनु त्यही कोटिभित्र पर्ने सङ्केत हुन् । जसरी हुन्छ पदासीन हुने र ‘ठूलोमान्छे’ बनिरहने मनोदशाले सिद्धान्त, आस्था र निष्ठा साहुजीका कवाडी सामान बनाएर सूर्योदयसँगै बिक्री गर्न उद्दत हुनु पनि तिनै लक्षण हुन् । अभाव, दबाब र प्रभावमा परेको जनमतबाट नेतृत्वमा पुग्न मरिहत्ते गर्नु हाम्रो कोटिका मुलुकका जनताको दुर्भाग्य हो । यही मनोदशामा विवेकसम्मत जनमतको प्रतिनिधि नेपाली राजनीतिले कहिले भेट्टाउला ? आजसम्म त्यो भेटिएको छैन । उज्यालो भविष्य नदेखेर बाटो लागेको गन्तव्यहीन यात्रुले मार्ग पहिल्याउनुपर्दैन । हरेक दोबाटा उसका गन्तव्य हुन्छन् । दोबाटो चौबाटो भेट्नु नै उसको गमन–गन्तव्य हो । यस्ता यात्रुको शृङ्खला थप्दै जाने कि समयमै त्यस्ता यात्रुहरूलाई आफ्नै थातथलोमा रोक्ने ? छट्टु नेताहरूको चाला देखेर सचेत नेपालीजन गन्तव्यहीन यात्रुका श्रेणीमा पर्दै गएको कसले हेर्ने ?

०४६ सालको परिवर्तनपछि राजनीतिक नेता तथा कार्यकर्तामा देखिएको नैतिकता आज कहाँ पुग्यो ? हिजो ढिँडोपिठो खाएर बचाएको नैतिक मूल्य आज कता हरायो ? त्यतिबेला पाइने आदर्श आज कता गएर खोज्ने ? धेरै कथा नकोट्याई भन्दा यसो भने फरक नपर्ला कि अहिलेका राजनीतिक दल र यिनका गतिविधिलगायत भर्खर सम्पन्न चुनावमा देखिएको प्रहसन देखेर जिउ छाडिएर आउँछ । कति उदिन्नु यस्ता कुरा ! कति खोतल्नु यिनका कुरा !! आङ कन्याएर आफ्नै आङमा छारो ! बाँच्दै जाऊँ, बाँचेपछि सबै देख्न पाइएला ।