फास्ट ट्रयाक शिलान्यास

फास्ट ट्रयाक शिलान्यास


pm

बहुचर्चित र बहुप्रतीक्षारत द्रुतमार्ग (फास्ट ट्र्याक) कामचलाउ प्रधानमन्त्री प्रचण्डले उदघाटन गरेका छन् । प्रधानमन्त्रीबाट राजीनामा दिनुअघि नै प्रचण्डले जेठ १४ गते आइतबार द्रुत मार्ग (फास्ट ट्र्याक)को शिलान्यास हुने गरी तयारी गर्न निर्देशन गरेका थिए । आइतबार बाराको निजगढमा फास्टट्रयाकको शिलान्यास गर्दै प्रचण्डले तराई, पहाड र हिमालको मन र भावना जोड्न द्रुत मार्गले ऐतिहासिक भूमिका निर्वाह गर्ने दाबी गरे । नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणले भावी दिनमा मधेस, पहाड र हिमालबीचको भेद मेटिने उनको भनाई छ।

द्रुतमार्ग निर्माणका लागि राष्ट्रिय अठोट र राष्ट्रिय सङ्कल्पको खाँचो रहेको बताउँदै प्रचण्डले यो मार्गले समय र दूरीका हिसाबले निकै तीव्र गतिमा राजधानी र मधेसलाई जोड्ने काम गर्ने उल्लेख गर्दै फास्ट ट्र्याकको दूरगामी महत्व रहेको बताए ।

सेनाका लागि पनि फास्ट ट्रयाक गौरव र चुनौतीको विषय भएको भन्दै प्रचण्डले यस काममा गल्ती या कमी कमजोरी भयो भने सेनाको पृष्ठभूमि, इतिहास र गौरवमा दाग लाग्ने तर्क गर्दै नेपाली सेनालाई सजग गराए । समय सीमाभित्रै गुणस्तरीय निर्माण भयो भने सेनाले नेपाली जनताको आँखामा नबिझाउने गौरव पाउने छ, यो काम सकेपछि सरकारले विशेष सम्मान र पुरस्कार प्रदान गर्ने छ भन्न समेत भ्याए प्रचण्डले ।

परिवर्तित सन्दर्भमा पनि नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता र स्वाधिनताका साथै विकास निर्माणका क्षेत्रमा दिइएको जिम्मेवारी पनि समयमै पूरा गर्ने भरपर्दो सङ्गठनका रुपमा नेपाली सेना रहेको प्रचण्डको भनाई थियो ।

सो अवसरमा कामचलाउ सरकारका रक्षामन्त्री बालकृष्ण खाण र रमेश लेखकको समेत उपस्थिति थियो । द्रुत मार्गको निर्माणले मधेसलाई काठमाडौँसँग छोटो र सुरक्षित सडक सञ्जालमा जोड्ने चाहना पूरा हुने भएकाले नेपाली सेनाले तोकिएको जिम्मेवारी समय सीमाभित्रै पूरा गर्ने विश्वास खाणले दिलाए भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले मात्र नभएर मनोविज्ञान र राजनीतिक महत्वका रुपमा रहेको दु्रत मार्ग हिमाल, पहाड र तराईलाई जोड्ने नमुना सडकको रुपमा रहने बताए ।

शिलान्यास समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सरकारबाट द्रुत मार्ग निर्माणको जिम्मेवारी पाउनुलाई राष्ट्रनिर्माणमा नेपाली सेनाले पु¥याएको योगदानको कदर र व्यावसायिकताको उच्च सम्मान भएको महसुस गरेको बताए। द्रुत मार्ग निर्माणको सन्दर्भमा नेपाली सेनाले गठन गरेको अधिकारसम्पन्न निर्देशक समितिका संयोजक एवम् बलाध्यक्षरथी पूर्णचन्द्र थापाले राजधानी प्रवेश गर्ने यातायातको चापलाई दृष्टिगत गरी वैकल्पिक राजमार्गका रुपमा अघि बढाइएको राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको द्रुत मार्ग निर्माणलाई नेपाली सेनाले गौरव र चुनौती का रुपमा लिएको बताए।

द्रुत मार्ग निर्माण आयोजना प्रमुखको जिम्मेवारीमा नेपाली सेनाका उपरथी योगेन्द्र खाण रहेका छन् । ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँको चाल्नाखेल, मकवानपुरको इपा–पञ्चकन्या, छतीवन बाराको रतनपरी हुँदै पूर्वपश्चिम राजमार्गमा जोडिने ७६.२ किमी दूरीको द्रुत मार्ग निर्माणले इन्धनमा बचत, ढुवानीमा सहजता र सवारी साधनको आयु बढाउनाका साथै देशको समग्र आर्थिक विकासमा ठूलो योगदान पु¥याउने आयोजना प्रमुख खाणले बताए। उक्त राजमार्ग १० स्थानमा विभाजन गरी काम गर्ने उनले जानकारी दिए ।
Pr-165-03