प्रचण्डमाथि गम्भीर शङ्का, विश्वास भङ्ग भए भुमरीमा

प्रचण्डमाथि गम्भीर शङ्का, विश्वास भङ्ग भए भुमरीमा


नेपालभित्र र भारतमा समेत प्रचण्डलाई विश्वासयोग्य व्यक्तिका रूपमा लिइँदैन । केपी ओलीलाई पदमुक्त गर्ने मूल उद्देश्य पूरा गर्न मात्र प्रचण्डलाई साथ लिइएको कुरामा शङ्का गरिँदैन । जुन बाध्यताले प्रचण्ड नेतृत्वको सरकार स्वीकार गर्न नेपाली कांग्रेस तयार भएको हो मित्रराष्ट्र भारतको बाध्यता पनि त्योभन्दा भिन्न होइन । प्रचण्डको साथ–सहयोगबिना नै ओलीलाई विस्थापित गर्न सकिने स्थिति भइदिएको भए यतिबेला प्रचण्ड प्रधानमन्त्री बन्न सम्भव थिएन । ओलीझैँ प्रचण्डले पनि सन्तुलित सम्बन्ध बनाउने नाममा उत्तरतर्फ ढल्किएको आभास दक्षिणलाई भयो भने त्यसले नेपाली राजनीतिलाई अर्कै मोडमा पुर्‍याउने निश्चितप्राय: छ ।

000

नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न प्रचण्ड तयार हुनुहोला भन्नेमा नेपाली कांग्रेसभित्र र बाहिर शङ्का गरिँदै छ । प्रचण्डले सजिलै सत्ता हस्तान्तरण गर्नुहुनेछ या छैन भन्ने स्पष्ट हुन अझै आठ महिना लामो प्रतीक्षा गर्नुपर्ने हुन्छ । तर, प्रचण्डमाथि दक्षिणको विश्वास यथावत् रहनेछ या छैन भन्ने बुझ्न आठ महिना पर्खनुपर्ने अवस्था रहने देखिँदैन ।

Puspa Kamal Dahal

सरकार गठन भएको महिना दिन नबित्दै प्रधानमन्त्री प्रचण्डको क्रियाकलापलाई शङ्काको दृष्टिले हेर्न थालिएको छ । केपी ओलीलाई प्रधानमन्त्री पदबाट विस्थापित गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन जुन–जुन शक्तिकेन्द्रहरूले मुख्य भूमिका निर्वाह गरेका थिए उनीहरू प्रचण्डप्रति ढुक्क हुन सकेका छैनन् । निकट भविष्यमा हुने भारतको भ्रमणपछि प्रचण्डले कोल्टे फेर्न सक्ने आशङ्का ‘शक्तिकेन्द्र’हरूले गरेका छन् । प्रधानमन्त्री बनेपछि प्रचण्डले आफूलाई भारतसँग बिथोलिएको सम्बन्ध सुधारमा केन्द्रित गर्नुहुने अपेक्षा ‘उहाँका सहयोगीहरू’ले गरेका थिए । अपेक्षाविपरीत प्रचण्डले भारत र चीनसँग समदूरी र समभावको सम्बन्ध कायम गर्न खोज्नुभएको अर्थ लगाउन थालिएको छ । आफ्ना दुई उपप्रधानमन्त्रीहरूलाई दुईतिर पठाइनुले पनि आशङ्का बढाएको देखिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनबाट फर्किएपछि दिएको अभिव्यक्तिलाई अपूर्ण मानिएको छ र प्रचण्डले केही कुरा लुकाउन खोजेको ठानिएको छ । सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण हुने या नहुने विषयमा स्पष्ट गर्न चाहेको छैन । सीको भ्रमण हुँदैन भनेर सरकारले स्पष्ट रूपमा भन्न सकेको छैन र हुन्छ पनि भनेको छैन ।

आफ्नो भारत भ्रमणपछि मात्र प्रचण्डले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे स्पष्ट गर्न सक्ने विश्वास गरिएको छ । यदि चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा आउनुहुने भयो भने त्यसले प्रचण्डमाथि शङ्का बढाउने निश्चित छ । केपी ओली नेतृत्वको सरकारले चीनसँग सहकार्यका निम्ति गरेका सहमति र सम्झौतालाई निरन्तरता दिने सोच प्रचण्डले बनाउनुभएमा प्रचण्डप्रतिको भारतीय दृष्टिकोणमा भारी परिवर्तन हुनसक्ने अनुमान विश्लेषकहरूले गरेका छन् । प्रधानमन्त्री प्रचण्डले चीनसँग विगतमा भएका सहकार्यका प्रयासलाई महत्त्व नदिएको प्रमाणित भएमा मात्र उहाँप्रति भारतीय विश्वास बढ्ने र त्यसले प्रचण्डको राजनीतिक भविष्यसमेत निश्चित गर्ने विश्वास गरिन्छ । चीनसँगको सहकार्यलाई बिराम लगाउने सोच प्रचण्डले बनाउनुभएमा त्यसले प्रचण्ड सरकारको निरन्तरतामा अवश्य सकारात्मक प्रभाव पार्नेछ, होइन भने उहाँका निम्ति निर्धारण गरिएको नौ महिनाको कार्यकालमै व्यवधान पैदा हुनसक्ने प्रबल सम्भावना छ ।

नेपालभित्र र भारतमा समेत प्रचण्डलाई विश्वासयोग्य व्यक्तिका रूपमा लिइँदैन । केपी ओलीलाई पदमुक्त गर्ने मूल उद्देश्य पूरा गर्न मात्र प्रचण्डलाई साथ लिइएको कुरामा शङ्का गरिँदैन । जुन बाध्यताले प्रचण्ड नेतृत्वको सरकार स्वीकार गर्न नेपाली कांग्रेस तयार भएको हो मित्रराष्ट्र भारतको बाध्यता पनि त्योभन्दा भिन्न होइन । प्रचण्डको साथ–सहयोगबिना नै ओलीलाई विस्थापित गर्न सकिने स्थिति भइदिएको भए यतिबेला प्रचण्ड प्रधानमन्त्री बन्न सम्भव थिएन । ओलीझैँ प्रचण्डले पनि सन्तुलित सम्बन्ध बनाउने नाममा उत्तरतर्फ ढल्किएको आभास दक्षिणलाई भयो भने त्यसले नेपाली राजनीतिलाई अर्कै मोडमा पुर्‍याउने निश्चितप्राय: छ । नौ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्न प्रचण्ड तयार हुनुहोला भन्नेमा नेपाली कांग्रेसभित्र र बाहिर शङ्का गरिँदै छ । प्रचण्डले सजिलै सत्ता हस्तान्तरण गर्नुहुनेछ या छैन भन्ने स्पष्ट हुन अझै आठ महिना लामो प्रतीक्षा गर्नुपर्ने हुन्छ । तर, प्रचण्डमाथि दक्षिणको विश्वास यथावत् रहनेछ या छैन भन्ने बुझ्न आठ महिना पर्खनुपर्ने अवस्था रहने देखिँदैन । आगामी तीन महिनाभित्रै प्रचण्डबारे दक्षिणको धारणा स्पष्ट हुनसक्ने सङ्केतहरू प्रकट भएका छन् । कदाचित प्रचण्डप्रति अहिले उत्पन्न आशङ्का तीन महिनाभित्रै पुष्टि हुन गयो भने मुलुकमा असामान्य अवस्था पैदा हुने देखिएको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि प्रचण्ड बदलिन सक्ने र उहाँ आन्तरिक राजनीतिमा एमालेसँग निकट हुनसक्ने मुख्य आशङ्का शक्तिकेन्द्रहरूको छ ।

अहिले आशङ्का गरिएजस्तै गरी प्रचण्ड बदलिनुभएमा नेपालको राजनीति सरकार परिवर्तनमा मात्र सीमित नभई नसोचिएको अवस्थातिर उन्मुख हुनसक्ने अनुमान गर्न सकिन्छ । प्रचण्ड बदलिनुभएन र वर्तमान गठबन्धनको भावनाअनुसार अघि बढ्नुभयो भने उहाँलाई नेपाली कांग्रेस र मित्रराष्ट्रको साथ र सद्भाव यथावत् रहने त छ, तर ओलीसँग मिलेर उहाँले बनाउनुभएको ‘राष्ट्रवादी’ छवि भने जोगिन सक्ने विश्वास गरिँदैन । त्यसैले प्रधानमन्त्रीका रूपमा प्रचण्डको राजनीतिक यात्रा यतिबेला अत्यन्त सकसपूर्ण र जोखिमपूर्ण ठहरिन पुगेको छ ।