पर्सा–इन्काउन्टर घटना रहस्यमय !

पर्सा–इन्काउन्टर घटना रहस्यमय !


encounter

गत असोज २४ गते पर्सा प्रहरीको कारबाहीमा आपराधिक कार्यमा संलग्न एक भारतीयको ज्यान गएको छ । वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा मुख्य योजनाकार रहेका बिहार समस्तीपुर जोगबेहरा–५ घर भई हाल रक्सौल बस्दै आएका दिलसाद अहमद मोटरसाइकलमा सवार भई हतियारसहित वीरगञ्जतर्फ आएको सूचना प्राप्त भएपछि पर्सा प्रहरी सतर्क भएको थियो । प्रहरीले अहमद चढेको मोटरसाइकल रोक्न खोज्दा गोली उसले उल्टै फायर गरेपछि जवाफमा प्रहरीले पनि गोली चलायो र सो भिडन्तमा दिलसादको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए । वीरगञ्ज उपमहानगरपालिका–१८ स्थित शिरोमणि टोलनजिकै राति ९ बजे उक्त घटना घटेको प्रहरीको भनाइ छ ।

अर्को एक सूत्रले दिएको जानकारी भने फरक छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्च टोलीले असोज २३ गते दिउँसो नै दिलसाद अहमदलाई नियन्त्रणमा लिएको थियो र भोलिपल्ट मौका छोपी ‘इन्काउटर’को घटना सिर्जना गर्दै दोहोरो भिडन्तमा मारिएको भनिएको हो । बाराका हीरामान साहसँग दिलसाद वीरगञ्ज आएको पत्तो पाएपछि पर्सा प्रहरीले हीरामान साहलाई कुनै दखल नपु¥याई दिलसादलाई नियन्त्रणमा लिएको थियो । पर्सामै कार्यरत एक प्रहरीका अनुसार केही महिनाअघि हीरामान साहलाई पनि पर्सा प्रहरीले हतियारसहित पक्राउ गरेको थियो । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम ब्रान्चकै एक सइको दबाबमा रिहा गरिएको थियो । पर्सा प्रहरीले इन्काउन्टर गरेका दिलसाद अहमद भारतीय अपराधी हुन्, तर सुरेश केडियाको अपहरण काण्डका मुख्य योजनाकारचाहिँ अहमद नरहेको एक प्रहरी अधिकृतको भनाइ छ । केडिया अपहरण काण्डका मुख्य योजनाकार भारतीय अपराधी बब्लु दुवे र दुवेका भतिजा पर्र्ने चञ्चल पाण्डे रहेको स्पष्ट भए पनि आपराधिक कर्ममा लिप्त अर्का व्यक्तिको इन्काउन्टरलाई उद्योगी सुरेश केडियाको अपहरण काण्डसँग किन जोडिएको हो, रहस्यपूर्ण छ । केडियालाई अपहरण गर्ने अपराधीहरू भने यतिबेला कारागारमा कैदीजीवन बिताइरहेका छन् ।