पत्नीलाई मन्त्री बनाउने सभापति देउवाको प्रस्ताव नेता खड्काद्वारा अस्वीकार

पत्नीलाई मन्त्री बनाउने सभापति देउवाको प्रस्ताव नेता खड्काद्वारा अस्वीकार


Khum Bahadur

नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्काकी धर्मपत्नी शिला खड्कालाई मन्त्री बनाउन काङ्ग्रेस सभापति शेरबहादुर देउवाले राखेको प्रस्ताव खड्काले अस्विकार गर्नुभएको छ । नियमित स्वास्थ्य परीक्षणका क्रममा गत शनिबार भारतको वेङ्लोर जानुभएका नेता खड्कालाई मंगलबार (सायन १८ गते) सभापति देउवाले टेलिफोन गरी ‘तपाईंको श्रीमती शीला खड्कालाई मन्त्री बनउानुपर्ने भयो, त्यही भन्न फोन गरेको’ भन्नुभएपछि नेता खड्काले उक्त प्रस्तावलाई अस्विकार गर्दै भन्नुभयो– ‘त्यो हुँदैन, मेरो श्रीमतीलाई मन्त्री बनाइरहनु पर्दैन । मैले पहिले नै तपाईंसँग शङ्कर भण्डारीलाई मन्त्री बनाउन भनिसकेको छु । शङ्करलाई नै मन्त्री बनाउनुहोस् ।’

यसरी खड्काले प्रस्ताव अस्विकार गरी युवा नेता शङ्कर भण्डारीलाई नै मन्त्री बनाउन जोड दिनुभएपछि सभापति देउवाले ‘शङ्करलाई मन्त्री बनाउन नसकिने भइयो, ममाथि धेरै ठूलो दबाब छ, बरु तपाईंको श्रीमतीलाई उर्जा मन्त्रालय या त्योभन्दा पनि राम्रो मन्त्रालय दिन्छु, शङ्करलाई चाहिँ सकिँदैन’ भन्ने जवाफ दिनुभएको थियो । नेता खड्काले ‘यदि दुई जनाको नाम मैले दिनुपर्ने हो भने एकजना शङ्कर भण्डारी भइहाले, अर्को नामका बारेमा छलफल गर्न सकिन्छ, म साथीहरूसँग छलफल गरेर तपाईंलाई जवाफ दिन सक्छु । एकजना मात्रै हो भने शङ्करलाई गर्नुहोस् । बरु तपाईंले अब पार्टीको पदाधिकारी पनि टुङ्गो लगाउनुपर्‍यो’ भन्नुभएपछि सभापति देउवाले ‘ठिक छ, ठिक छ’ भनी टेलिफोन राखिदिनुभएको थियो ।

कसैले षडयन्त्रमूलक ढङ्गले खुमबहादुर खड्काको बदनाम गर्ने र उहाँलाई कमजोर बनाउने उद्देश्यले पत्नि शीला खड्कालाई मन्त्री बनाउन खोजिएको ठहर खड्काले गर्नुभएको छ । खड्कापत्निको नाम एकतर्फी ढङ्गले मन्त्रीका रूपमा घोषणा गरिए उहाँले सपथ ग्रहण नगर्नुहुने बुझिएको छ ।