नातावाद लादेर जबर्जस्ती खेलाडी

नातावाद लादेर जबर्जस्ती खेलाडी


खेलाडी सबैका छोराछोरी बन्न सक्छन्, यसमा दुईमत छैन । तर, साँच्चिकै खेलाडी बन्न खेलाडीमा हुनुपर्ने गुणको आवश्यकता पर्छ । यदि त्यो गुण त्यसमा निहित छैन भने त्यो कदापि खेलाडी बन्न सक्तैन । जसले खेलकुदको मनोविज्ञानको अध्ययन गरेको छ त्यसले यो कुरामा लालमोहर लगाउन निमेषको समय लगाउँदैन । उसले प्रस्टसँग भन्न सक्छ– कुन खेलका लागि कुन खेलाडी सुहाउँदो अर्थात् फिट छ । साँचो कुरा के हो भने नेपालमा खेलाडी हुन त्यस्तो कुनै गुण चाहिँदैन । यहाँ त वैज्ञानिक हिसाब र जोडघटाउभन्दा पनि समाजमा कहीँ काम नलाग्ने भएपछि खेलकुदमा हामफाल्ने परम्परा चल्दै आएको छ । नेपालमा प्रायजसो बाध्यता र जबर्जस्तीले मात्र खेलाडी भएका छन् भन्दा अतिसयोक्ति नहोला । यस्तै खेलाडीका कारण नेपाली खेलकुद दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको छ । परिणाम, एक वर्षको त कुरा छोडौँ, एक दशकमा पनि एउटा उत्कृष्ट खेलाडी जन्मिन सकेको छैन ।

जबर्जस्तीले कसैलाई पनि खेलाडी बनाउन सक्तैन, यो ध्रुवसत्य हो । तर, अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ जबर्जस्ती आफ्नो छोरा सफलराम श्रेष्ठलाई ‘स्की’ खेलको खेलाडी बनाउन सफल भएका छन् । हो, श्रेष्ठले छोरालाई खेलाडी बनाए पनि सफल कत्तिको सफल खेलाडी बन्न सफल भएका छन् त्यो उनको विगतको प्रदर्शनले प्रस्ट पारेको छ । सफल स्कीका त्यस्ता खेलाडी हुन्, जसले आफ्नो विधा क्रसकन्ट्रीमा अहिलेसम्म दौड पूरा गर्न सकेका छैनन् । चाहे त्यो नेपालमा आयोजना भएको होस् या विदेशमा । यसअघि उनले युथ ओलम्पिक गेम्समा क्रसकन्ट्रीतर्फ सहभागिता जनाए पनि उक्त दूरी पूरा गर्न असफल भएका थिए । अहिले जापानको सापारोमा आयोजना भइरहेको आठौँ एसियन विन्टर गेम्समा सफलले क्रसकन्ट्री विधामा सहभागिता जनाएका छैनन् । उनी अल्पाइन स्काईतर्फ प्रतिस्पर्धा गर्दै छन् । प्राप्त जानकारीअनुसार क्रसकन्ट्री विधामा मनिकला राईले प्रतिस्पर्धा गर्दै छिन् । सफलले क्रसकन्ट्री विधा छोडेर अल्पाइन स्काईलाई किन रोजे ? यो उनको विगतको खराब प्रदर्शनको परिणाम हो भन्दा फरक नपर्ला । अन्यथा विगतदेखि क्रसकन्ट्रीमा सहभागिता जनाउँदै आएका सफलरामले एक्कासि आफ्नो विधालाई कदापि परित्याग गर्ने थिएनन् । आफ्नो विधाका सफल खेलाडी बन्ने कोसिस अवश्य गर्ने थिए ।
safal ram

स्की खेलको विकास र विस्तारका लागि नेपालमा प्रचुर सम्भावना छ । प्रकृतिले पनि हामीलाई यसमा साथ दिएको छ । तर, साधन–स्रोतको अभावले गर्दा नेपालमा स्की खेलाडी जन्माउन निकै गाह्रो छ । यसको अर्थ नेपालमा स्की खेलाडी नै जन्मिदैन भन्ने होइन । जन्मिन्छन्, तर यसका लागि नातावाद–कृपावादको साङ्लोलाई तोड्नुपर्छ । यहाँ त जीवनरामले आफ्नो छोरा सफलरामबाहेक अन्य खेलाडी नै देखेनन् । साँच्चै श्रेष्ठले स्की खेलको विकासमा नौलो आयाम थप्ने चाहना राखेको भए उनले कदापि आफ्नो छोरा सफलरामलाई स्कीको खेलाडी बनाउने थिएनन् । उल्टै बाउ अध्यक्ष रहेको सङ्घको एक मात्र पुरुष खेलाडी सफललाई बनाएर खेलकुदमा नातावादको पराकाष्ठालाई उजागार गरिदिए । परिणाम, जबर्जस्ती स्की खेलाडी बनाएका सफल असफल मात्र भए । बाउका कारण सधैँ विवादमा परिरहे । खेलकुदमा हारजित सबैको हुन्छ, तर जीवनरामको छोरा भएका कारण उनी सबैको आँखाको तारो बने, बिनाकारण चर्चा र चासोको विषय बने । यसरी श्रेष्ठले आफ्नो शक्तिको दुरुपयोग गर्दै सफलरामलाई युथ ओलम्पिकसम्म पु¥याउन सफल भए पनि त्यसले नेपाली खेलकुदमा पारेको नकारात्मक प्रभावलाई हेर्दा दुवै बाउछोरा सफलभन्दा असफल भएका छन् भन्दा अतिसयोक्ति नहोला । अब यसको हेक्का जीवनरामले राख्छन् वा राख्दैनन् त्यो भविष्यमा उनले गर्ने क्रियाकलापले बताउनेछ ।

अहिले नेपालको प्रतिनिधित्व गर्दै जापानको सापारोमा सञ्चालन भइरहेको आठौँं एसियन विन्टर ओलम्पिक प्रतियोगितामा नेपालका तीनजना खेलाडीले सहभागिता जनाएका छन् । जसमा क्रसकन्ट्रीतर्फ मोनिका राई र अल्पाइन स्काईतर्फ सफलराम श्रेष्ठ र संगीता तामाङ रहेका छन् । उक्त टोलीको सेभ द मिसनको रूपमा तेज गुरुङका साथै अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव लामा टेन्डी शेर्पा पनि जापान पुगेका छन् । पहिले यो प्रतियोगितामा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल पनि जाने निश्चित भए पनि ओलम्पिक कमिटीको विवादले गर्दा दाहाल नगएको बुझिएको छ । त्यस्तै, एसियन विन्टर प्रतियोगितामा सहभागिता जनाइरहेका तीनैजना खेलाडी सक्षम र प्रशिक्षित रहेको लामाले बताए । लामाका अनुसार सफलले चीन, संगीताले कस्मिर र मनिकलाले युरोपमा प्रशिक्षण लिएर यो प्रतियोगिताका लागि छनोट भएका हुन् । यसरी पूर्ण व्यवस्थित तरिकाले प्रशिक्षण लिएर विन्टर एसियन गेम्समा पुगेका खेलाडीले अब कस्तो प्रदर्शन गर्लान्– त्यो प्रतीक्षाको विषय बनेको छ । तीनजना खेलाडीले यो प्रतियोगिताका लागि कति समय वैदेशिक प्रशिक्षण लिएका हुन् त्यसको जानकारी लामाले नगराए पनि खेलाडीहरूको प्रदर्शनले उनीहरूको मापदण्ड कोर्ने पक्का छ । त्यसपछि खेलाडीहरू साँच्चिकै छनोट भएका थिए कि नातावाद र कृपावादको पराकाष्ठा थियो, त्यसको छिनोफानो अवश्य हुनेछ । अर्थात् सत्यतथ्य छताछुल्ल हुनेछ । त्यसपछि लामाको जवाफ के हुनेछ, त्यो हेर्नलायक हुनेछ ।