दिलेन बने पूर्वाञ्चल सिङ्गिङ स्टार

दिलेन बने पूर्वाञ्चल सिङ्गिङ स्टार


Dilen

पूर्वाञ्चल बागिना कला केन्द्र धरान सुनसरीद्वारा आयोजित पूर्वाञ्चल सिङ्गिङ स्टार सिजन–४ को उपाधि तेह्रथुमका दिलेनबाबु लिम्बूले जितेका छन् । गत शनिबार धरान–८ स्थित सभागृहमा आयोजित ग्रान्ड फिनालेमा उत्कृष्ट टपटेनका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधि चुमेका हुन् । उपाधिसँंगै लिम्बूले नगद ५० हजारका साथमा पूर्वाञ्चल संङ्गीत विद्यालय इटहरीको तर्फबाट एक वर्ष निःशुल्क सङ्गीत शिक्षा, एक म्युजिक भिडियो, दुईवटा गीत रेकर्डको अवसर र ट्रफीका साथै प्रमाणपत्र हात पारेका छन् ।

Dilen 2
यसैगरी धरानकी आश्मा अधिकारीले दोस्रो उपाधिसँगै नगद २५ हजारका साथमा पूर्वाञ्चल सङ्गीत विद्यालय इटहरीको तर्फबाट ६ महिना निःशुल्क सङ्गीत शिक्षा, एउटा गीत रेकर्ड र ट्रफीका साथै प्रमाणपत्र प्राप्त गरिन् भने झापाका ब्रायन लिम्बूले तेस्रो उपाधिसँगै नगद १५ हजार, एउटा गीत रेकर्डको अवसर, पूर्वाञ्चल संङ्गीत विद्यालय इटहरीको तर्फबाट तीन महिना निःशुल्क सङ्गीत शिक्षा र ट्रफीका साथै प्रमाणपत्र हात पारे । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ लोकगायक एलपी जोशी, विशेष अतिथिहरू सञ्चारकर्मी राजकुमार कार्की, यूएन कलेजका प्रमुख डम्बरकुमार तुम्बापोद्वारा पुरस्कार प्रदान गरिएको थियो । सो प्रतियोगिताका मुख्य निर्णायकमा वरिष्ठ लोकगायक बालकृष्ण कार्की तथा गायक एवम् सङ्गीतकार विशाल राई रहेका थिए ।

यसैगरी ग्रान्ड फिनालेमा टपटेन प्रतिस्पर्धीबाट बेस्ट भोकलमा मोरङका मिलन परियार, बेस्ट पब्लिक च्वाइसमा मोरङका सुरेश धिमाल, बेस्ट पर्फर्मेन्समा इलामका सुमन थेबे र बेस्ट डिसिप्लिनमा इलामकै दीपक घिमिरे घोषित भए । उनीहरूलाई कार्यक्रम संयोजक भक्तिराज राई तथा विशिष्ट अतिथिहरूले मायाको चिनोसँगै ट्रफी प्रदान गरेका थिए ।

कार्यक्रममा धरानका पत्रकारद्वय रोहित राई र शेखरनाथ जोगी, त्यस्तै तेह्रथुमका पत्रकार भगिश्वर (मनोज) लिम्बूलाई जनही पाँच हजार ५१ रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको थियो । सो कार्यक्रममा गायिका मेलिना राई तथा पूर्वाञ्चल स्टार– २ का विजेता प्रकृति थलङ, स्टार– ३ का विजेता सिर्जना तामाङ, उपविजेता ठाकुरमान योगी, सेकेन्ड रनरअप विकास राई तथा हेमु स्मृति चोङवाङ, एलबी सुब्बा, कार्यक्रम संयोजक भक्तिराज राईलगायतले गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध पारेका थिए भने हाम्रो डान्स सेन्टर धरानका कलाकारले नृत्य प्रस्तुत गरी दर्शकलाई थप मनोरञ्जन प्रदान गरेका थिए ।
– मनिता चाम्लिङ (धरान)