दाताको दानबाट पण्डितहरू रसरङमा

दाताको दानबाट पण्डितहरू रसरङमा


dinbandhu
प्राविधिक शिक्षाका लागि भन्दै महायज्ञ लगाएर धर्मको ठेकेदारी चलाउँदै आएका केही व्यक्तिले रकमको दुरुपयोग गरेको गुनासो सुनिएको छ । विभिन्न स्थानमा महायज्ञको आयोजकका रूपमा देखिँदै आएका धु्रव बस्याल, पण्डित दीनबन्धु पोखरेल र कमलनयन गौतमले आर्थिक अनियमितता र यौनशोषणसमेत गर्ने गरेका पीडितका निकटजनहरूको दाबी छ । दाताले दिएको दानबाट उनीहरूले स्थानीय महिलाको यौनशोषणदेखि निजी सम्पत्ति आर्जन गर्ने गरेको सूत्र दाबी गर्छ । पण्डितहरूले आर्थिक अवस्था कमजोर भएका महिलालाई ललाइफकाई यौनशोषण गर्ने, वैदेशिक रोजगारीमा पठाइदिने र श्रीमतीकै रूपमा भाडामा राख्नेसम्म गरेको पाइएको बताइन्छ ।

प्राविधिक शिक्षा, सामाजिक सेवा, स्कुलभवन निर्माणलगायतका क्षेत्रमा सघाउने भन्दै श्रीमद्भागवत महायज्ञ लगाएर दाताबाट ठूलो धनराशि दानबापत लिने र त्यसरी प्राप्त दानबाट रङ्गीन मिजासका पण्डितहरूले विभिन्न छात्रालाई बहकाउमा पार्ने, दानको रकम निजी स्वार्थका लागि प्रयोग गर्ने, महायज्ञ लगाइएका स्थानहरूमा परस्त्रीलाई श्रीमतीकै रूपमा लगानी गर्ने गरेको सम्बद्ध स्थानीयको भनाइ छ ।

यौनकर्मलाई विशेष प्राथमिकता दिने स्वभावका बस्याल, गौतम र पोखरेलले प्राविधिक शिक्षा र अन्य सामाजिक कार्यका लागि भन्दै एक सय आठ महायज्ञ लगाएर आर्थिक अनियमिततादेखि महिलाको यौनशोषण गर्दैगर्दा धर्मको नाममा हुने विकृतिलाई रोक्न कुनै पनि निकायबाट कदम नचालिएकोमा आमतप्का हैरान छन् । दाताले दिएको दान रकम कहाँ कति सदुपयोग या दुरुपयोग भयो भनेर पनि सार्वजनिक नगरिनु अर्को विडम्बना हो । बस्यालले हालसम्म नौवटा महायज्ञको आयोजना गरिसकेका छन् भने बाँकी सय महायज्ञ लगाएर करोडौँ रकम असुल्ने योजनामा रहेको सूत्र बताउँछ । महायज्ञ र धर्मको नाममा दानबाट प्राप्त रकमको यस्तो दुरुपयोग कतिसम्म क्षम्य होला, सोचनीय छ ।

एउटा महायज्ञमा वाचन गरेबापत दश लाख रुपैयाँ लिने दीनबन्धु पोखरेल महायज्ञ आयोजना गरेबापत बीस लाख बढी रकम असुल्ने धु्रव बस्याल र कमलनयन गौतमले धर्मलाई आधार बनाएर यौनशोषणदेखि व्यापक आर्थिक घोटाला गर्दै आएको आरोप लाग्दै गर्दा उनीहरूका क्रियाकलापमाथि निगरानी गर्ने निकाय नभएकै हो त भन्ने प्रश्न एकातिर खडा भएको छ भने अर्काका श्रीमती भगाउनेदेखि महायज्ञको दान रकम खन्याएर अविवाहिता छोरीचेलीमाथि यौनशोषण गरिँदा पनि धर्मान्ध समाज आँखा चिम्लेर बस्नु अर्को दुःखदाश्चर्य मानिएको छ ।
– बिसुराल राजेश