जुत्ता बोक्ने दोषी कि बोकाउने ?

जुत्ता बोक्ने दोषी कि बोकाउने ?


Babita 5

– बबिता बस्नेत

मन्दिर जाँदा या अन्त कतै जाँदा भीभीआईपीहरूको जुत्ताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सुरक्षा क्षेत्रले जे–जे गर्नुपर्छ गरोस्, तर यसरी खुलेआम या कुनै पनि रूपमा बर्दीको अपमान नगरियोस् ।

राष्ट्रपति विद्या भण्डारी र उहाँका छोरीहरूको जुत्ता उठाएर हातमा बोक्दै गरेका नेपाली सेनाका जवानका फोटाहरू मिडियामा आएपछि उक्त कार्यको व्यापक आलोचना भएको छ । कसैले हातमा जुत्ता बोकेर हिँड्दै गरेको फोटो त के मान्छे नै धेरै देखियो होला, तर त्यस्ता दृश्यले खासै आँखा बिझाउँदैन थिए । यसपटकको फोटोमा आँखा बिझाउनुको प्रमुख कारण मुलुकको राष्ट्रिय सेनाको बर्दी लगाएका बहालवाला सिपाहीहरू राष्ट्रपति र उहाँका छोरीले खुट्टामा लगाएका जुत्ता हातमा बोकिरहेका थिए । राष्ट्रपति विद्या भण्डारी र उहाँका छोरीहरू यही कात्तिक ६ गते सप्तरीको छिन्नमस्ता मन्दिर दर्शनका लागि जाँदा त्यहाँ मन्दिरबाहिर राखिएका जुत्ता बोकेर नेपाली सेनाले उहाँहरू पूजाबाट निस्कने ठाउँसम्म पु¥याएका हुन् । जुत्ता उठाउँदै गरेका र हातमा जुत्ता बोकेर हिँड्दै गरेका सिपाहीहरूका फोटो र समाचार प्रकाशित भएपछि सामाजिक सञ्जालमा अनेक प्रतिक्रिया छाए । त्यसमध्ये बीबीसी नेपाली सेवासम्बद्ध गनी अन्सारीले ट्विटरमा लेखेका थिए, ‘मैले दिनरात केही नभनी कमाएको रकमबाट काटिने कर राष्ट्रपति वा उनका आफन्तको जुत्ता सेनाबाट उठाउन लगाउनका निम्ति होइन ।’ हुन पनि आफ्नो देशको राष्ट्रिय सेनाले ड्युटीकै रूपमा झैँ गरी जुत्ता बोकेर हिँड्दै गरेको दृश्य अलि अप्ठ्यारो लाग्ने प्रकारको नै थियो ।

यो कुरालाई लिएर कतिले राष्ट्रपतिलाई ‘गणतन्त्रकी महारानी !’ भन्ने प्रतिक्रिया पनि दिए । तर, हामीले के बुझ्न आवश्यक छ भने एउटा निश्चित उद्देश्यका लागि अर्थात् भनाँै राष्ट्रपतिको सुरक्षाका लागि सवारीस्थल पुगेका सेनाका ती जवानलाई आफू र छोरीहरूको जुत्ता उठाएर ल्याऊ भनेर राष्ट्रपतिले अवश्य नै भन्नुभएको होइन । उक्त काम त्यहाँका सेनाका माथिल्लो तहमा रहेका अधिकारीको आदेशबाट भएको हो भनेर बुझ्न गाह्रो पर्दैन । सेनामा आदेश नमान्ने भन्ने कुरै भएन । सेना या प्रहरीको काम भीभीआईपीलाई सुरक्षा दिने हो जुत्ता बोक्ने होइन, तर भीभीआईपीका व्यक्तिगत तहका कामहरू पनि सुरक्षाकर्मीबाटै गराएको देखिन्छ । राष्ट्रपतिमा मात्र नभएर यो कुरा अन्य भीभीआईपीहरूमा पनि लागू भइरहेको छ । लुगामा आइरन लगाउनेदेखि खाना पकाउनेसम्मका काममा सुरक्षाकर्मी खटेको देखिन्छ । जुन कुराका लागि सुरक्षाकर्मीको छाती नापेर भर्ती गरिएको हुँदैन ।

मुलुकमा गणतन्त्र आउनु केही वर्षअघि शाही नेपाली सेनाका जर्नेल टीका धमलाले तत्कालीन श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहदेवको जुत्ताको तुना बाँधिदिँदै गरेको फोटो सार्वजनिक भएपछि यस्तै प्रकारले आलोचना भएको थियो । जर्नेल भइसकेका व्यक्तिको त यस्तो अवस्था छ भने सेनामा अरूको के होला ? भनेर त्यसलाई शाही नेपाली सेनाको मर्यादामा चुनौतीको रूपमा लिइएको थियो । कतिले उक्त दृश्यलाई राजा–महाराजाहरूको ऐयासीका रूपमा समेत चित्रित गरेका थिए । तर, त्यतिवेला पनि राजाले मेरो जुत्ताको तुना बाँधिदेऊ भनेर जर्नेललाई भन्नुभएको होला भनेर विश्वास गर्ने आधार छैन । राजाले जुत्ता लगाउन लाग्दा जर्नेल आफैँ गएर तुना मिलाइदिएका होलान् भनेर सीधै अनुमान गर्न सकिन्थ्यो । यद्यपि आलोचना जर्नेल साबको होइन राजाकै भयो । यसपटक राष्ट्रपति विद्या भण्डारीको सवालमा पनि आलोचना सेनाको होइन राष्ट्रपति र उहाँका छोरीहरूकै भइरहेको छ ।

मुलुकमा राजतन्त्र हटाएर गणतन्त्र आएको सात वर्ष बितिसकेको छ । यसबीचमा जनताको स्तरमा केही नभए पनि राजनीतिक रूपमा धेरै परिवर्तन भए । नेपालको राष्ट्रिय सेना शाही नेपाली सेनाबाट नेपाली सेना बनेको छ । राजाका छोरा राष्ट्रप्रमुख हुने परम्परा हटेर जनताका छोरा–छोरी राष्ट्रप्रमुख हुने व्यवस्था मात्र आएको छैन, अभ्यास नै भइसकेको छ । तर, अरू जे–जे परिवर्तन भए पनि नेपाली सेनाको मानसिकतामा भने परिवर्तन आएको देखिएन । यति धेरै परिवर्तनपछि सेनाका कतिपय व्यवहारहरूमा पनि रूपान्तरण हुनुपर्ने हो, त्यस्तो देखिएन । जसका कारण यो मुलुकको सुरक्षामा जीवन सुम्पिन्छु भन्ने चाहनाले सेनामा आएका र आउन चाहनेहरूलाई ठूलो धक्का पुगेको छ । देशको सुरक्षा गर्ने सपना बोकेर बडो आत्मविश्वासका साथ नेपाली सेनामा भर्ना भएकाहरूले भीभीआईपीहरूका जुत्ता बोक्नुपरेपछि उनीहरूको शिर के हुन्छ ? झुक्छ कि ठाडो हुन्छ ?

राष्ट्रपतिवाला फोटोलाई नै लिऔँ, मेरो छोरा या छोरी नेपाली सेनामा छ भनेर गर्वले छाती फुलाएर बसेका बाबुआमालाई आफ्ना छोराछोरीले गरिरहेको कामको प्रकृति हेर्दा कस्तो भयो होला ? राष्ट्रपति या अन्य कसैको जुत्ता बोक्न पाइन्छ भनेर कुनै बाबुआमाले आफ्ना सन्तानलाई सेनामा पठाएका हुँदैनन् । सेनामा भर्ती हुनेहरूले पनि त्यस्तो तालिम लिएका हँुदैनन् र कुनै दिन जुत्ता बोक्नुपर्ला भनेर सोचेका पनि हुँदैनन् । हो, सेना या अन्य सुरक्षा क्षेत्रभित्र कुचो लाउने, भात पकाउनेदेखि लिएर घर बनाउने हँुदै काठको काम गर्नेसम्मका अनेक पदहरू छन् । ती सम्बन्धित क्षेत्रका ‘इन हाउस’ कामका लागि हुन् । उनीहरू त्यसैगरी ‘ओरिएन्टेट’ पनि भएका हुन्छन् । तर, सुरक्षाका लागि खटिएकाहरूको काम सुरक्षा दिने नै हो ।

यो जुत्ता प्रकरणले झट्ट हेर्दा राष्ट्रपतिलाई असर परेजस्तो देखिए पनि यसको गम्भीर असर नेपाली सेनालाई परेको छ । राष्ट्रिय सेनाको यस्तै व्यवहार हुने हो भने भोलि कुनै पनि स्वाभिमानी युवा सेनामा आउन चाहँदैन । आफूभन्दा माथिको आदेश काट्न नसकेर जुत्ता बोक्नेहरू निरीह रूपले प्रस्तुत भए, तिनको दोष छैन । दोषी त यस्तो काम गर्न आदेश दिनेहरू हुन् । मन्दिर जाँदा या अन्त कतै जाँदा भीभीआईपीहरूको जुत्ताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सुरक्षा क्षेत्रले जे–जे गर्नुपर्छ गरोस्, तर यसरी खुलेआम या कुनै पनि रूपमा बर्दीको अपमान नगरियोस् । यता भीभीआईपीहरूले पनि यस्ता कतिपय कार्यमा ‘इन्ज्वाए’ नै गरेको देखिन्छ । यिनीहरूको काम त हाम्रो सेवा गर्ने त हो नि झैं गरी व्यवहार गर्नुभन्दा के ठीक के बेठीक भनेर आफ्नो आचारसंहिता आफैँ निर्धारण गर्न सक्नुपर्छ । सवारीका नाममा सर्वसाधारणलाई सडकमा घन्टौँ जाममा पार्दा मेरो उचाइ बढ्छ भन्ने कसैले ठान्छ भने त्योभन्दा ठूलो भ्रम अर्को भइरहेको हुँदैन । त्यसैगरी अघिपछि सुरक्ष दस्ता लिएर हिँड्दा सडकमा ठूलै आतङ्क छर्दै साइरन बजाउनुपर्ने आपतकालीन अवस्था पनि मुलुकमा देखिँदैन, त्यस्ता कुरा पनि बन्द गर्न लाए हुन्छ । ‘खै… चलन नै यस्तो रहेछ’ भन्दै चलनको उपभोगतिर लाग्नुभन्दा कतिपय कुराहरू यस्ता छन् जुन परिवर्तन गर्दा नै राम्रो हुन्छ । जब व्यवहार उस्तै गरिन्छ भने व्यवस्था मात्र परिवर्तन गरेर यसको कुनै अर्थ रहँदैन, जुन अहिले भइरहेको छ ।