चितवनमा सुनिए खलपात्र

चितवनमा सुनिए खलपात्र


khal patra 1

कर्मी नाट्य समूह तथा अराजक अक्षर समूह भरतपुर (चितवन)ले नगरमा थियटर निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले एकल कविता वाचन, नाटक मञ्चनलगायतका विविध सिर्जनात्मक कार्यक्रमको आयोजना गरिरहेको छ । यसै सिलसिलामा नारायणघाटस्थित नारायणी कला मन्दिरमा कवि मुकुन्द खलपात्रको एकल कविता वाचन कार्यक्रमको आयोजना गरिएको छ ।

गलत साथीसङ्गतले गर्दा कुनै समय लागूऔषधको दुव्र्यसनी बन्न पुगेका तर कालान्तरमा कविता तथा नाट्य कर्ममा समाहित भएका उनले आफ्ना जीवनका अनेकन मोडमा घटित घटनाहरूलाई विषयवस्तु बनाएर रचना गरिएका आमा, नमस्ते सर, अर्धनग्न सगरमाथा, बिकिलिक्स विहंगम, पोस्टमार्टम पृथ्वी, पशुपति कोलाजलगायत करिब दुई दर्जन कविता गत शनिबार आयोजित कार्यक्रमबीच खलपात्रले सुनाए । उनको कविता सुन्न चितवनका चर्चित कविहरू प्रेमविनोद नन्दन, गोविन्दराज विनोदी, सरिता तिवारी, रोशन दाहाल, गणेश श्रवणसहित कविता अनुरागीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
खलपात्रद्वारा वाचित कवितामाथि बोल्दै कवि तथा गीतकार प्रेमविनोद नन्दनले कवि खलपात्रका कविताले भूपी शेरचनको स्मरण गराएको बताए भने कवि सरिता तिवारीले मुकुन्द खलपात्र प्रयोगधर्मी कवि भएको उल्लेख गर्दै उनका कविताहरू काव्यिक गुणवत्ताले भरिपूर्ण रहेको दाबी गरिन् ।

कार्यक्रमको प्रायोजन जस्मिन पेन्ट्स र सहप्रायोजन मनकामना हार्डवेयरले गरेका थिए । दुई महिनाअघि काठमाडौंमा एकल वाचन गरेका खलपात्रको गृहनगरमा यो दोस्रो कार्यक्रम भएको कार्यक्रम संयोजक अन्जान ढुङ्गानाले बताए । संयोजक ढुङ्गानाका अनुसार थियटर निर्माणका लागि आर्थिक सहयोग जुटाउन यसप्रकारका कार्यक्रमलाई देशव्यापी रूपमा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।