ओलम्पिकमा रमिते सहभागिता कहिलेसम्म ?

ओलम्पिकमा रमिते सहभागिता कहिलेसम्म ?


Jivan Ram

नेपालले ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागिता जनाएको लामो समय भइसकेको छ । तर, अहिलेसम्म नेपालको उपलब्धि भनेको सहभागिताभन्दा माथि उठ्न सकेको छैन । ओलम्पिक खेलमा नेपालको सहभागिता कहिलेसम्म सहभागितामा सीमित रहने हो त्यो अहिले चर्चा र चिन्ताको विषय बनेको छ । विगतका ओलम्पिकमा सहभागिताको नाममा रमिते बनेर फर्केका खेलाडी र पदाधिकारी यसपटकको रियो ओलम्पिकमा पनि रमिते बनेर फर्किने पक्का छ ।
ओलम्पिक खेलको इतिहासलाई कोट्याउँदा अहिलेसम्म तेक्वान्दोका संगीना वैद्य र दीपक विष्ट मात्र ओलम्पिक छनोट चरण पार गरेका खेलाडी हुन् । यी दुई खेलाडीबाहेक अहिलेसम्म कुनै पनि खेलाडीले छनोट चरण पार गर्न सकेका छैनन् । ध्रुवसत्य के हो भने अन्यले वाइल्ड कार्डमार्फत ओलम्पिकमा सहभागिता जनाएका हुन् । रियो ओलम्पिकमा सहभागिता जनाएका सातै खेलाडी वाइल्ड कार्डमार्फत त्यहाँ पुगेका हुन् ।

जहाँ आफ्नो हैसियत छैन, त्यहाँको सहभागिताले के अर्थ राख्छ ? परिणाम हाम्रो सामुन्य छ । अहिलेसम्म ओलम्पिक पुगेका खेलाडी दोस्रो चरणमा पुगेको इतिहास छैन । रियो ओलम्पिकमा पनि यही कुरो दोहोरिएको छ । अहिलेसम्म प्रतिस्पर्धा गरेका सम्पूर्ण खेलाडी पहिलो चरणदेखि नै बाहिरिएका छन् । र पनि, ओलम्पिकमा नेपालको सहभागितालाई सधैँ उपलब्धिमूलक मानिँदै आएको छ । यसर्थमा कि ओलम्पिकमा खेलाडीभन्दा ओलम्पिक कमिटीका पदाधिकारीले मस्ती गर्न पाएका छन् । रियो ओलम्पिककै कुरा गर्दा पनि खेलाडीभन्दा दोब्बर सङ्ख्यामा एनओसीका पदाधिकारीले त्यहाँ सहभागिता जनाइरहेका छन् । कुरा प्रस्ट छ, उनीहरूले ओलम्पिक खेललाई खेलकुदको कुम्भभन्दा पनि विदेश सयर गर्ने र सपिङ गर्ने थलोबाहेक अन्य केही सोचेका छैनन् ।

आफू राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव हुँदा भिजन ट्वान्टी–२० को अवधारणा ल्याउने खुद अवैधानिक ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ हुन् । अहिले उनले ओलम्पिक कमिटीमा राज गरेको एक दशकभन्दा बढी समय भइसकेको छ । श्रेष्ठ अहिले एनओसीको अध्यक्ष पनि छन् । यस्तो अवस्थामा उनले आफैँले ल्याएको अवधारणालाई किन कार्यान्वयनमा ल्याउन सकेनन् ? त्यसतर्फ उनले ध्यान दिन नसके पनि प्रत्येक ओलम्पिकमा आफ्नी श्रीमतीलाई साथै लान भने बिर्सिएका छैनन् । हो, ओलम्पिक कमिटीको अध्यक्षको नाताले श्रीमतीलाई सँगै लान पाउने भए पनि खेलाडीको हकहितका लागि एउटा माखोसमेत मार्न नसक्ने श्रीमतीलाई जहिले पनि डुलाउँदा श्रेष्ठलाई किन लाज लागेन ? प्रश्न तेर्सिएको छ ।

आँखा चिम्लिएर ओलम्पिकमा नाङ्गो नाच नाचिरहेका श्रेष्ठले रियो ओलम्पिकमा आफ्ना नजिकका मान्छेलाई मात्र लगेर अर्को ताण्डव मच्चाएका छन् जुन आफँैमा कति शर्मनाक छ त्यो श्रेष्ठको आत्माले समेत धिक्कारेको होला भन्दा गलत हुन्न होला । यसरी आफू अध्यक्ष, आफ्नानजिकका पदाधिकारी, छोरा खेलाडी र श्रीमतीलाई घरदेखि एनओसीसम्म सर्वेसर्वा बनाउँदै आएका जीवनरामले भविष्यमा अरू कति उपद्रो गर्ने हुन् त्यो प्रतीक्षाको विषय बनेको छ ।