एउटै भ्रमणबाट उचालियो विमलेन्द्रको व्यक्तित्व

एउटै भ्रमणबाट उचालियो विमलेन्द्रको व्यक्तित्व


Nidhi 2

प्रधानमन्त्री प्रचण्डको विशेषदूतका रूपमा छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा जानुभएका उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारतीय संस्थापनले अति उच्च महत्त्व दिएको पाइएको छ । यसअघि भारतको भ्रमणमा गएका नेपाली प्रधानमन्त्रीहरूलाई भन्दा उपप्रधानमन्त्री निधिलाई भारतले उच्च महत्त्व दिएको काठमाडौंमा ठानिएको छ । निधिसँग भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, भाजपा अध्यक्ष अमित शाह, अर्का प्रभावी नेता राममाधव सिंह र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलले भेटवार्ता गर्नुले निधिको भ्रमण उच्चकोटिको रहेको स्पष्ट हुन पुगेको छ । भारतले निधिको खातिरदारी जसरी गर्‍यो यसले नेपालसँग सम्बन्ध सुधार्न भारत अति इच्छुक रहेको सन्देश दिएको छ । भारतका सञ्चारमाध्यमहरूले पनि नेपाली प्रधानमन्त्रीहरूको यसअघिका भ्रमणहरूलाई भन्दा बढी महत्त्व निधिलाई दिए ।

निधिको भ्रमणले दुईपक्षीय सम्बन्धमा व्यापक सुधार हुने सङ्केत त दिएकै छ, निधि स्वयम्को व्यक्तित्व पनि उचालिएको महसुस नेपालमा गरिएको छ । यस भ्रमणपछि नेपालमा निधिलाई कांग्रेस सभापति शेरबहादुर देउवाको वास्तविक उत्तराधिकारीका रूपमा समेत टिप्पणी गर्न थालिएको छ । भारतले दिएको महत्त्वका आधारमा कतिपयले ‘अब विमलेन्द्र निधिलाई नसोधीकन न प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गर्न सक्नुहुनेछ, न सभापति देउवाले नै निधिको इच्छाविपरीत काम गर्न सक्नुहुनेछ’ भन्नेजस्ता टिप्पणी पनि गरेका छन् । गृह मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री बनाइनुभएका विमलेन्द्र निधिलाई उपसभापति बनाउन अब देउवा बाध्य बन्नुहुने अनुमान कांग्रेसभित्र हुन थालेको छ ।

नेपालमा परराष्ट्रमन्त्री चयन हुनुअगावै उपप्रधानमन्त्रीका रूपमा ‘एक्लै’ भारत भ्रमण गर्न पाउने जुन अवसर निधिलाई मिल्यो यसले उहाँको राजनीतिक जीवनमा नयाँ मोड ल्याएको र अब निधिले कहिल्यै पछाडि फर्केर हेर्नुपर्ने अवस्था नआउने विश्वास गरिएको छ । निधि कुनै ठोस सम्झौता गर्ने उद्देश्यले भारत जानुभएको थिएन, लामो समयदेखि चिसिएको सम्बन्धलाई न्यानोपन दिने एक मात्र उद्देश्य उहाँको थियो, आफ्नो उद्देश्यमा निधि पूर्ण सफल हुनुभएको छ । यो भ्रमणसँगै नेपाल–भारत सम्बन्धमा एकाएक न्यानोपन आएको र अब प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले चाहिँ द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने कुन रूपको योगदान पुर्‍याउने हो, प्रतीक्षा त्यसैको हुँदै छ । ज्ञातव्य छ, प्रधानमन्त्री प्रचण्डबाट यही भदौको ३० गते भारतको भ्रमण हुँदै छ । प्रचण्डलाई अभूतपूर्व स्वागतको तयारी भारतमा भइरहेको छ ।

Bimalendra Nidhi and Sushma Swaraj 2