यातायात व्यवसायीको हडतालविरुद्ध वाइसीएल

यातायात व्यवसायीको हडतालविरुद्ध वाइसीएल


सरकारले यातायात क्षेत्रमा रहँदै आएको सिण्डिकेट तोड्न लागेको विरोधमा यातायात व्यवसायीहरु आज हडतालमा उत्रिएका छन् । हडताल शब्द प्रयोग नगरी सिण्डिकेटवादी व्यवसायीले आ-आफ्ना सवारी साधन ग्यारेजमा थन्क्याएर आमयात्रुलाई कष्ट पुर्याउने काम गरेका छन् । यसरी अत्यावश्यक सेवामा अवरोध गरेको विरोधमा विभिन्न संघ संगठनहरुले व्यवसायीको यस कदमको विरोध गरेका छन् ।

यसै विषयमा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लीग, नेपालले पनि यातायात व्यवसायीको कदमको विरोध गरेको छ । सो संगठनका अध्यक्ष राम्रसाद सापकोटा ‘दीपशिखा’ले आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै तिव्र विकास र समृद्धिको सपनासहित अघि बढिरहेको मुलुकका लागि कुनै पनि प्रकारको बन्द तथा हडताल स्विकार्य हुन नसक्ने जनाएका छन् । संगठनका महासचिव सुवोधराज शेर्पालीसमेतको हस्ताक्षर रहेको विज्ञिप्तिमा यातायात व्यावसायी नै यातायात बन्दमा उत्रिएको आजको घटनाप्रति योङ्ग कम्युनिष्ट लीगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

यातायात क्षेत्रमा देखिएको सेवा समितिहरुको सिण्डीकेटका विरुद्ध सरकारले चालेको कदमको विरोधमा आयोजित यातायात बन्दविरुद्ध सबै किसिमका सवारी संचालन गरेर यात्रामा सहयोग गर्न सवारी चालक तथा धनीहरुलाई वाईसीएलले अपिल गरेको छ ।

आफ्ना सबै निकायहरुलाई परिचालन गरी ग्यारेजमा थन्क्याइएका गाडीहरु संचालनमा ल्याउन र नमाने तिनका रुट परमिटहरु खारेज गर्न समेत संगठनले सरकारसँग माग गरेको छ ।

संगठनमातहतका सबै समितिहरुलाई पनि आफुसँग भएका सवारी साधनहरु (निजी मोटरसाईकल, कार, ढुवानीमा प्रयोग हुने साधनहरु) परिचालित गरि सार्वजनिक सेवा दिन वाईसीइल कमाण्डले निर्देशन गरेको छ। आफुअनुकुल स्थानमा ‘लिफ्ट’ दिई सहयोग पुर्याउन पनि दीपशिखाले आम निजी सवारीधनीहरुलाई अपिल गरेका छन् ।