पदाधिकारी मनोनयनका लागि काँग्रेस केन्द्रीय सदस्यको बैठक बस्दै

पदाधिकारी मनोनयनका लागि काँग्रेस केन्द्रीय सदस्यको बैठक बस्दै


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनयनका लागि निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो बोलाइएको बैठकमा पदाधिकारी मनोनयन गर्ने सभापति देउवाको तयारी रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

देउवा निकट मानिएका नेता प्रकाशशरण महतले शुक्रबार बोलाइएको बैठकले पदाधिकारी मनोनयन गर्ने सम्भावना रहेको जानकारी दिए ।

काँग्रेस विधानमा निर्वाचित केन्द्रीय सदस्यबाट पदाधिकारी मनोनयनको प्रावधान रहेको छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधरले भने बैठक अगाडि रणनीति बनाउन छुट्टै भेला बोलाएको बुझिएको छ ।

संस्थापन इतरको भेलाले सभापतिले बोलाएको बैठकमा जाने वा नजानेबारे निर्णय लिने पौडेल निकट स्रोतले बताएको छ । पौडेल तथा सिटौला पक्षधरले विधानमा पदाधिकारी मनोनयन महाधिवेशनको दुई महिनामा गर्नुपर्ने प्रावधान रहेको भन्दै दुई वर्ष वितेको अवस्थामा मनोनयन गर्न नमिल्ने तर्क गर्दै आएका छन् ।

यसअघि बोलाइएको बैठकमा संस्थापत इतरले बैठक बहिष्कार गरेपछि आजका लागि बैठक समय तय गरिएको थियो ।