पत्रकार महासङ्घ प्रदेशस्तरको चुनाव उत्कर्षमा

पत्रकार महासङ्घ प्रदेशस्तरको चुनाव उत्कर्षमा


नेपाल पत्रकार महासंघ प्रदेशस्तरको चुनावी माहोल उत्कर्षमा छ । उम्मेदवारहरू आफ्नो पक्षमा मत जुटाउन भरमग्दुर प्रयत्न गरिरहेका छन् । समर्थक–शुभचिन्तक पत्रकारहरू पनि आ–आफ्ना निकटका उम्मेदवारका लागि भोट मागिरहेका छन् । सातै प्रदेशमा आ–आफ्ना उम्मेदवारहरूका निम्ति मत माग्दै हिँडेका सञ्चारकर्मीहरूले चुनावी अभियानलाई उत्कर्षमा पुर्याएका छन् ।

देश संघीयतामा गएपछि प्रदेशस्तरको ढाँचाअनुरुप विधान संसोधन गरेर महासंघले संघीय प्रणालीअन्तर्गत पहिलोपटक प्रदेशस्तरको चुनाव गर्न लागेको हो । यही वैशाख २२ गते हुने निर्वाचनमा प्रतिष्ठान लगायतका अधिकांश अध्यक्ष, अन्य पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचनमा एमाले, कांग्रेस र माओवादीनिकटका पत्रकार संगठन बीच भएको गठबन्धनले अधिकांश पदमा निर्विरोध भएको हो । तर, पत्रकार महासंघ जस्तो तटस्थ संचारकर्मीको छाता–संगठनमा राजनीतिक सिण्डिकेट हुन नहुने भन्दै केही जुझारु र ब्यवसायिक पत्रकारहरू चुनावी मैदानमा उत्रेका छन् ।

प्रदेश नं ३ मा पनि अध्यक्ष पदमा चुनाव हुने निश्चित भएको छ । कर्मठ युवा पत्रकार गिरिजा अधिकारीले अध्यक्षमा चुनाव जित्ने दाबीका साथ उम्मेदवारी दिने घोषणा गरेपछि निर्वाचन हुने परिस्थिति बनेको निर्वाचन आयोजक समितिले जनाएको छ । तीन दलका पत्रकार संगठन प्रेस चौतारी, प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलबाट उठ्ने उम्मेदवारलाई जुझारु पत्रकार गिरिजाले चुनौती दिने भएका हुन् । गिरिजा अधिकारीलाई सबै ब्यवसायिक पत्रकाहरूको साथ रहेको चुनावी माहोलले देखाएको छ ।

तीन दलको तर्फबाट पुराना कम्युनिष्ट कार्यकर्ता तथा पछिल्लोपटक संचारक्षेत्रमा लागेका प्रताप बिष्टले उम्मेदवारी दिने भएका छन् । ब्यबसायिक पत्रकारहरूले भने गिरिजा अधिकारीलाई चुनावमा उठाउने र जसरी पनि जिताउने अभियानलार्ई तिव्रता दिएका छन् । अधिकारीलार्ई जिताउन स्वच्छ, इमानदार र ब्यवसायिक पत्रकारहरूले मोर्चाबन्दी गरेका छन् । दलहरूको सिण्डिकेटले इमान्दार र असल पत्रकारले मौका नपाएको भन्दै पत्रकार महासंघले ब्यवसायिक पत्रकारहरूलाई मात्र प्राथमिकता दिनुपर्ने बताएका छन् । प्रदेश नं ३ मा १० वटा जिल्लाका १२३८ मतदाता रहेका छन् ।