फेरि छल गर्दै प्रचण्ड

फेरि छल गर्दै प्रचण्ड


prachandaछलकपटमा माहिर मानिएका एमाओवादी अध्यक्ष प्रचण्डले एकपटक फेरि छल गरेका छन् । तर, यसपटकको छल आफ्नै पार्टीका नेता–कार्यकर्तालाई हो या अन्तर्राष्ट्रिय समुदाय र अन्य राजनीतिक दलहरूलाई हो भन्ने स्पष्ट हुन सकेको छैन । प्रचण्ड एकातिर छिमेकी राष्ट्र भारत र अमेरिकालाई आफू बदलिएर प्रजातन्त्रवादी भइसकेको देखाउन चाहन्छन् भने अर्कोतिर पार्टीभित्र सबभन्दा क्रान्तिकारी एवम् राष्ट्रवादी नेताको छवि बनाइराख्न चाहन्छन् । त्यसैले प्रचण्डले सातौँ महाधिवेशनमा पुँजीवादी जनवादी क्रान्तिलाई पार्टीको गन्तव्य बनाउने व्यहोरा उल्लेख गरेका छन् । वास्तवमा नयाँ जनवादी क्रान्तिलाई पुँजीवादी जनवादी क्रान्तिकै रूपमा बुझिन्छ भन्ने ज्ञान नभएकाहरूका लागि यो ठूलो घटना हुनसक्छ र तिनलाई प्रचण्डहरू बदलिएको भान पनि हुनसक्छ । जनवादीको अघिल्तिर जोडिएको ‘नयाँ’ शब्द ‘एक्स्पोज’ भइसकेकोले ‘पुँजिवादी’ शब्दको विशेषण जोडेर प्रचण्डले भारत, अमेरिकालगायत विश्व समुदायलाई भुलभुलैयामा राख्ने प्रयत्न गरेका छन् भने नयाँ जनवाद भनेको पुँजीवाद हो भनेर कार्यकर्तापङ्क्तिलाई थामथुम पार्ने प्रयास पनि उनले गरिरहेका छन् । यसबाट प्रचण्डले अन्तर्राष्ट्रिय समुदाय या आफ्नै पार्टी दुईमध्ये एउटालाई कालान्तरमा धोखा दिने निश्चित भएको स्पष्ट बुझ्न सकिन्छ । त्यसैगरी प्रचण्डको दस्तावेजमा विभिन्न राजनीतिक दलहरूप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने महल नै हटाइएको छ । कुनै पनि कम्युनिस्ट पार्टीले आफ्ना महाधिवेशनमा विभिन्न विषयमा छलफल गरी दृष्टिकोण बनाउने गर्दछ र त्यसमा विभिन्न राजनीतिक दल तथा अन्य शक्तिहरूबारे पनि स्पष्ट धारणा प्रस्तुत गरिएको हुन्छ । एमाओवादीको पालुङटार बैठकमा पनि दलहरूप्रतिको स्पष्ट दृष्टिकोणसहितको प्रतिवेदन पेस गरिएको थियो ।
पालुङटार बैठकमा ‘अमेरिकी राम्राज्यवाद र भारतीय विस्तारवाद तथा स्वदेशमा उनीहरूद्वारा संरक्षित नेपाली काङ्गे्रसलगायतसँग प्रधान अन्तरविरोध रहने’ व्यहोराको प्रतिवेदन पारित गरिएको थियो । त्यसबेला डा. बाबुराम भट्टराईले चाहिँ भारत र अमेरिकाको नाम उल्लेख नगरी ‘साम्राज्यवाद र विस्तारवाद संरक्षित’ शब्द मात्र राख्नुपर्ने विचार प्रस्तुत गरेका थिए । सातौँ महाधिवेशनमा प्रचण्डले आफ्नो प्रतिवेदनमा भारत र अमेरिकाको नाम कहीँ–कतै नकारात्मक रूपमा उल्लेख गरेका छैनन् । केवल एक ठाउँमा साम्राज्यवाद र विस्तारवाद भन्ने शब्दको चयन गरेका छन् । दलहरूप्रतिको दृष्टिकोणको महल नै प्रचण्डले आफ्नो प्रतिवेदनबाट हटाएका छन् । यदि दलहरूप्रति उनको दृष्टिकोण बदलिएको हो भने प्रतिवेदनमा स्पष्ट रूपमा खुलाइनुपर्दथ्यो, प्रतिवेदनमा दृष्टिकोण नखुलाइनुको अर्थ हुन्छ– उनले दलहरूप्रतिको धारणा लुकाएर ‘केमोफ्ल्यास’ मात्र गर्न चाहेका छन् । महाधिवेशनका लागि गत शुक्रबार (माघ १९ गते) हेटौँडा प्रस्थान गर्नुभन्दा अघिल्लो दिन बिहीबार प्रचण्डनिकटका केही नेताहरूले प्रचण्डको निवासस्थान पुगी प्रतिवेदनमा दलहरूप्रतिको दृष्टिकोणको महल हटाइएकोबारेमा धारणा मागेका थिए । नेताहरूको जिज्ञाशा मेट्ने क्रममा उनले हाँस्दै भनेका थिए, ‘हेर्नुस्, परिस्थिति बुझेर काम गर्नुपर्छ, हामीले विगतमा जुन धारणा बनाएका थियौँ फेरि तिनै कुराहरूलाई दोहो-याइरहनु उचित हुन्न र त्यसले राम्रो पनि गर्दैन । बरु महाधिवेशनमा कसैले प्रश्न उठाए भने यो छुटेको या लेख्न नभ्याएको भन्नुपर्छ र सुझावहरू सामेल गरेर प्रतिवेदनलाई पूर्णता दिने जवाफ दिनुपर्छ ।’ प्रचण्डको यस अभिव्यक्तिले पनि उनी छल गर्दै छन् र अन्तर्राष्ट्रिय समुदायलाई ‘केमोफ्ल्यास’ गर्दै छन् भन्ने स्पष्ट गरेको छ । यदि अन्तर्राष्ट्रिय समुदायलाई झुक्याइएको होइन भने पार्टीपङ्क्तिलाई झुक्याएको भनेर बुझ्नुपर्ने हुन्छ ।
अर्कोतिर एमाओवादीले मधेसी मोर्चाको वैशाखी टेकेर सत्ता–राजनीतिमा आफ्नो अस्तित्व जोगाइरहेको छ । मधेसी मोर्चाप्रतिको एमाओवादी दृष्टिकोण सकारात्मक छैन । प्रचण्डहरू मोर्चामा आबद्ध समूहहरूलाई विदेशी दलाल शक्तिका रूपमा हेर्ने गर्दछन् । तर, वर्तमान परिस्थितिमा मोर्चालाई विदेशी दलाल करार दिने सामथ्र्य एमाओवादीमा छैन । त्यसैले पनि प्रचण्डले आफ्नो प्रतिवेदनमा दलहरूप्रतिको दृष्टिकोण प्रस्तुत गर्ने महल हटाएको बुझ्न सकिन्छ । प्रचण्डहरू आगामी चुनावमा समेत मधेसी मोर्चासँग तालमेल गरेर अघि बढ्न चाहन्छन् र चुनावी परिणाम पूर्णरूपले आफ्नो पक्षमा नआए मधेसी मोर्चासँग गठबन्धन गरेर सरकार बनाउने योजना प्रचण्डहरूको छ । प्रतिवेदनमा मोर्चालाई शक्तिका रूपमा उल्लेख गर्न नहुने, दुश्मनका रूपमा उल्लेख गर्दा त्यसको बहुआयामिक असर पर्ने भएकोले प्रचण्डले जानाजान दलहरूप्रतिको दृष्टिकोणको महल नै गायव गरेको देखिन्छ । समग्रमा बुझ्दा प्रचण्ड अहिले पनि बदलिएका छैनन् उनले अभिव्यक्ति र व्यवहारको कार्यगत शैलीमा मात्र परिवर्तन ल्याएका छन् । यसबाट प्रचण्डहरू देशलाई सङ्कटबाट निकास दिन नभई सबैलाई भुलभुलैयामा पारेर क्रान्तियात्रामा उद्यत् हुन चाहन्छन् भन्ने स्पष्ट गरेको छ ।

माघ छब्बीस गते ऐतिहासिक सभा
प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगर्ने र एमाओवादी सहमतिमा नआउने ठहर भएपछि नेपाली काङ्गे्रस र एमालेसहित विपक्षीहरू सङ्घर्षकै माध्यमबाट सरकार बदल्ने अठोटसहित मैदानमा उत्रिएका छन् । यस क्रममा विभिन्न जिल्लामा जागरण सभा सम्पन्न भइसकेका छन् भने राजधानीमा माघ २६ गते बृहत् आमसभा गर्ने तयारीमा दलहरू जुटेका छन् । २६ गतेको विरोधसभा ऐतिहासिक हुने र त्यसले जनआन्दोलनको आधार तयार गर्ने आयोजकहरूले विश्वास गरेका छन् । यसअघि काङ्गे्रस–एमालेले आयोजना गरेका सभाहरूमा सहभागीको सङ्ख्या अपेक्षाकृत सानो भएकोले सत्तापक्ष प्रसन्न हुने गरेको, तर यसपालिको सभाले उनीहरूलाई चुनौती दिने ठानिएको छ ।

बैंकिङ क्षेत्र मारवाडी कब्जामा
निजी क्षेत्रको विभिन्न वाणिज्य बैंकहरूमा जम्मा ६९ जना व्यापारीको आधिपत्य रहेको पाइएको छ । त्यसमध्येमा पनि केही सीमित माडवारीहरूको हालिमुहाली बैंकिङ क्षेत्रमा रहेको तथ्य देखिएको छ । प्राप्त तथ्यअनुसार खेतान, अग्रवाल, चौधरी, जैन, संघाई, मुरारकालगायतका ग्रुपमा आबद्ध रहेका व्यापारीको लगानी ज्यादा रहेको छ ।
कुनै पनि बैंकमा १५ प्रतिशत सेयर रहेको व्यक्तिले अर्को बैंकमा लगानी गर्न कानुनत: मिल्दैन । तर, नेपालका सीमित व्यापारीले एउटा बैंकमा २५ प्रतिशतभन्दा बढी लगानी गरेर पनि अर्को बैंकमा उत्तिकै सङ्ख्यामा लगानी गरेका छन् । यसरी लगानी गर्दा बैंकिङ प्रणाली आफूअनुकूल सञ्चालन गर्न सजिलो हुने भएकाले नेपालका सबैजसो वाणिज्य बैंकमा लगानी उनीहरूले गरेका हुन् ।
नेपाल राष्ट्र बैंक स्रोतका अनुसार व्यापारीले सर्वसाधारणका नाममा बैंकको सेयर खरिद गर्न लगाएर सेकेन्डरी सेयर खरिद भन्दै पछि आफ्नो नाममा पास गर्ने गरेका छन् । यसरी सेकेन्डरी सेयर किन्ने व्यापारीमा खेतान समूह र अग्रवाल समूह अग्रपङ्क्तिमा रहेका छन् । उनीहरूले धेरै बैंकका सेकेन्डरी सेयर खरिद गरेर विस्तारै बैंकिङ प्रणालीलाई नै आफूअनुकूल चलाउन खोजिरहेका छन् । राष्ट्र बैंकका अनुसार निजी क्षेत्रको वाणिज्य बैंकहरूमा सर्वसाधारणको नाममा सेयर रहेको भनिए पनि ती साना व्यापारी तथा सेयर दलालहरूको बढी सेयर रहने गरेको देखिन्छ ।
नेपालका बैंकमा लगानी गरेका केही उद्योगीले नेपालमा गरेको लगानीबाट प्राप्त आम्दानीलाई विदेशमा लगानी गरिरहेका छन् । यसरी लगानी गर्नेमा चौधरी र खेतान समूहका व्यापारी अग्रस्थानमा रहेका छन् । चौधरी ग्रुपमा विनोद चौधरीले भारतमा चाउचाउ कारखानामा लगानी गरेका छन् भने खेतान ग्रुपका राजेन्द्र खेतानले भारतमै बियर कम्पनीमा लगानी गरेका छन् । स्मरणीय छ, विनोद चौधरीले नेपाली नागरिकले पनि विदेशमा लगानी गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । उनले यस्तो माग दरबार हत्याकाण्डपछि उठाउँदै आएका हुन् । दरबार हत्याकाण्डअघिसम्म कालोसूचीमा परेको चौधरीले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र अधिराजकुमार धीरेन्द्रले विदेशमा विभिन्न व्यवसायमा लगानी गरेको र सो लगानीलाई वैध तुल्याउन उनले यसप्रकारको वकालत गर्दै आएको बताइन्छ ।
राष्ट्र बैंकका अनुसार निजी क्षेत्रको लगानीबाट सञ्चालनमा ल्याइएको नबिल बैंकमा ३० प्रतिशत मात्र सर्वसाधारणको लगानी रहेको छ । त्यस्तै बैंकमा एनबी इन्टरनेसनलको नाममा ५० प्रतिशतभन्दा बढी सेयर रहेको छ । त्यसमा चौधरी ग्रुपको प्रमुख सेयर रहेको छ । चौधरी ग्रुपका विनोद चौधरी, निर्माण चौधरी, अरुण चौधरी, सारिका चौधरी, राहुल चौधरीलगायत रहेका छन् । स्रोतका अनुसार चौधरी ग्रुपको मात्र ५३ प्रतिशतभन्दा बढी सेयर रहेको छ । यसैगरी बैंकमा बिमा संस्थानको १० र औद्योगिक विकास निगमको करिब ६ प्रतिशत सेयर रहेको छ । बंैकमा अहिले चुक्ता पुँजीको रूपमा दुई अर्ब तीन करोडभन्दा बढी रहेको छ ।
०४९ सालका स्थापना भएको हिमालयन बैंकमा पनि खेतान समूहको आधिपत्य रहेको छ । उक्त बैंकमा खेतानपछि ज्योति ग्रुपको लगानी रहेको छ । त्यस्तै, पकिस्तानको हबिब बैंकको २०, कर्मचारी सञ्चय कोषको १४ प्रतिशत सेयर पनि त्यहाँ रहेको छ । एन टे«डिङ र म्युचल टे«ेडिङ कम्पनीको १३–१३ प्रतिशत सेयर रहेको उक्त बैंकमा सर्वसाधारणको नाममा १५ प्रतिशत मात्र सेयर रहेको बताइन्छ । बैंकमा चुक्ता पुँजी दुई अर्बभन्दा बढी रहेको छ । यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकमा पनि व्यापारीहरूकै आधिपत्य छ । ८० प्रतिशत सेयर व्यापारीहरूको र बाँकी २० प्रतिशत सर्वसाधारणको सेयर रहेको बताइन्छ । १५–१५ प्रतिशत लगानी राष्ट्रिय वाणिज्य बैंक र बिमा संस्थानको रहेको छ । बैंकमा व्यक्तिभन्दा पनि कम्पनीहरूको नाममा लगानी गरिएको छ । ती कम्पनीहरूमा घरजग्गा तथा सेयर कारोबारीहरूको लगानी रहेको छ ।
एसिया, अमेरिका, युरोपलगायत विभिन्न ६९ वटा देशमा सञ्चालित रहेको नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेपाल शाखामा पनि सर्वसाधारणका नाममा माडवारीहरूले सेयर खरिद गरेका छन् । उनीहरूले सो बैंकका सेकेन्डरी सेयरका रूपमा बैंकको सेयर खरिद गरेका हुन् । बैंकमा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७५ र नेपालीहरूको २५ प्रतिशत सेयर रहेको छ । ५५ प्रतिशत सेयर स्टेट बैंक अफ इन्डियाको रहेको नेपाल एसबीआई बैंकमा व्यापारीहरूले नै सर्वसाधारणको नाममा सेयर खरिद गरेका छन् । बैंकमा सर्वसाधारणको तर्फबाट मनोजकुमार अग्रवाल, निरञ्जनकुमार टिबडेवालालगायत रहेका छन् । उनीहरूले नेपालका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन् । त्यसैगरी बैंकमा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंकको १५–१५ प्रतिशत र बाँकी सेयर सर्वसाधारणको नाममा रहेको छ ।
त्यस्तै नेपाल बंगलादेश बैंकमा एनबी ग्रुपको लगानी रहेको छ भने बंगलादेशमा रहेको बैंक एसिया लिमिटेडको १५, आईएफआईसी बैंकको करिब १०, क्यापिटल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज् र मनास्लु इन्भेष्टमेन्ट प्रालिको १५ प्रतिशत सेयर रहेको छ । यी दुवै कम्पनी एनबी ग्रुपका हुन् । यो बैंकमा जितबहादुर श्रेष्ठलगायतका व्यक्तिहरूको चर्तिकला रहेको छ ।
पञ्जाव नेसनल बैंकको २० प्रतिशत सेयर रहेको एभरेष्ट बैंकमा उद्योगीहरू मित्रदेश पाठक, राधा श्रेष्ठ, कृष्ण श्रेष्ठलगायतका छन् । यसैगरी बी.के. श्रेष्ठ र स्वोनो होटलको करिब १९ प्रतिशत सेयर रहेको छ । बैंक यी व्यक्तिहरूकै अधीनमा चलिरहेको छ भने यसमा सर्वसाधारणको नाममा ३० प्रतिशत सेयर रहेको छ । स्रोतका अनुसार बंैकले अन्य बैंकहरूसँग मर्जरका लागि बेलाबेलामा प्रयास गर्दै आए पनि अहिलेसम्म मर्जर हुन सकेको छैन ।
बैंक अफ काठमाडौंमा ९१ दशमलब ६८ प्रतिशत सेयर सर्वसाधारणको रहेको बताइन्छ । अन्य संस्थाको सेयर जम्मा ८ दशमलब ३२ मात्र रहेको छ । तर, यस बैंकमा सबैभन्दा बढी सेयर रणबहादुर शाहको रहेको बताइन्छ । यसैगरी केही महिनाअघिबाट बैंकमा खेतान समूह पनि प्रवेश गरेको छ । बैंकका एक सञ्चालकले दिएको जानकारीअनुसार बैंकमा सर्वसाधारणका नाममा उद्योगीहरूले मेजर सेयर लिएका छन् ।
यसैगरी होटल तथा पर्यटन व्यवसायीहरू मञ्जु अग्रवाल, श्रवण मास्के, शक्ति गोल्यान, गोपालसुन्दर कक्षपति, राजारामा जोशी, निर्मल प्रधानलगायतका व्यक्तिको विशेष लगानी रहेको लुम्बिनी बैंकमा कर्मचारी सञ्चय कोषको १५, नागरिक लगानी कोषको साढे सात प्रतिशत मात्र सेयर रहेको छ । त्यस्तै एनआईसी बैंक यस बैंकको संस्थागत लगानी एक प्रतिशत र नागरिकको लगानी ९९ प्रतिशत रहेको बताइन्छ । यसमा सर्वसाधारण जनताको नामबाट मारवाडी समूहको प्रमुख सेयर रहेको बताइन्छ । सुवासचन्द्र संघाईको नाममा मात्र १३ प्रतिशतभन्दा बढी सेयर रहेको छ । त्यस्तै दिवाकर गोल्छा र लोकमान्य गोल्छाको १३ प्रतिशत, तुल्सीराम अग्रवाल र पवनकुमार अग्रवालको १०, वासुदेव गोल्यान, विशाल अग्रवाल, त्रिलोचन्द्र अग्रवाल, अशोकचन्द्र अग्रवाल, अञ्जु, जगदीश आग्रवाल पनि यसका प्रमुख सेयरधनीहरूमा पर्छन् ।
माच्छापुच्छे« बैंकमा संस्थाको लगानी २२ प्रतिशत रहेको छ भने व्यक्तिको लगानी ७८ प्रतिशत रहेको छ । यस बैंकमा उद्योगी, दलका नेता तथा सर्वसाधारणको मिश्रित लगानी रहेको बताइन्छ । यसमा सूर्यबहादुर केसी र उनको परिवारको राम्रै लगानी रहेको छ भने शोभितबहादुर कार्की, जगतमोन गौचन, योगेन्द्र श्रेष्ठ यस बैंकका प्रमुख सेयरकर्ता हुन् ।
कुमारी बैंकमा संस्थापकको ७० प्रतिशत सेयर रहेको छ भने सर्वसाधारणको ३० प्रतिशत मात्र सेयर रहेको छ । यस बैंकमा शारदा ग्रुप, मुरारका ग्रुप, दुगड ग्रुप, गोयल, अग्रवाल ग्रुपमा आबद्ध व्यक्तिको सेयर रहेको छ । त्यस्तै, खेतान समूहको लगानीमा लक्ष्मी बैंक सञ्चालित छ । यसमा खेतान परिवारको मात्र २३ प्रतिशत लगानी रहेको छ भने ७७ प्रतिशत लगानी अन्य व्यक्तिको रहेको बताइन्छ । स्थापनाकालमा मोहनगोपाल खेतान अध्यक्ष रहेको यस बैंकमा अहिले उनका छोरा राजेन्द्र खेतान अध्यक्ष छन् । यस बैंकको ३५ प्रतिशत सेयर सर्वसाधारणको रहेको बताइन्छ । बाँकी अन्य सेयर सर्वसाधारणको नाममा खेतान समूहले नै किनेको तथा अग्रवाल र संघाई ग्रुपको पनि त्ससमा सेयर रहेको बताइन्छ ।
सनराइज् बैंकमा दुगड परिवारको बाहुल्य छ र यो परिवारको मात्र २३ प्रतिशत एकमुष्ट सेयर रहेको छ । त्यस्तै, गोयल परिवारको १०, सर्वसाधारणको ३० र बाँकी अग्रवाल, शारदा, तातेड, माडवारी समुदायलगायतको सेयर रहेको छ । बैंक अफ एसियामा रामचन्द्र संघाई र गोविन्दलाल संघाईको मात्र २० प्रतिशत सेयर रहेको छ । त्यसैगरी त्रिलोचन अग्रवाल, तुल्सीराम अग्रवाल, विशाल अग्रवाल, अनुज अग्रवालको नाममा पनि २० प्रतिशत सेयर रहेको छ भने सर्वसाधारणको नाममा ३० प्रतिशत सेयर रहेको छ । ग्राण्ड बैंक बंैकर्सहरूको मिश्रित लगानीमा सञ्चालन गरिएको छ । यसमा संस्थापक सेयर २१ प्रतिशत रहेको छ । व्यक्तिगत लगानी ७९ प्रतिशत रहेको छ ।
सिद्धार्थ बैंकमा केडिया समूहको बढी सेयर रहेको छ । यो समूहको लगानी बैंकमा २० प्रतिशत रहेको छ । यसमा नरेन्द्रकुमार अग्रवाल, पवनकुमार अग्रवाल, चिरञ्जीवी अग्रवाललगायतको पनि सेयर रहेको छ । ग्लोबल आईएमई बैंकमा संस्थापकहरूको ४७ प्रतिशत लगानी रहेको छ । व्यक्तिगत संस्थापकहरूको लगानी १७ र सर्वसाधारणको ३० प्रतिशत सेयर रहेको बताइन्छ ।
सिटिजन बैंकमा कालु गुरुङ, प्रदीपजंग पाण्डेको प्रमुख लगानी रहेको छ भने विभिन्न व्यापारीको मात्र ४५ प्रतिशतभन्दा बढी सेयर रहेको छ । यस्तै प्राइम कमर्सियल बैंकमा पनि व्यापारीहरूको लगानी बढी रहेको छ । बैंकमा शिक्षा व्यवसायी उमेश श्रेष्ठको सबैभन्दा बढी लगानी रहेको बताइन्छ । यस बैंकमा सर्वसाधारण जनताको नाममा पनि ३० प्रतिशत लगानी रहेको छ ।
एनएमबी बैंकमा मलेसियन कम्पनीको १२, कर्मचारी सञ्चय कोषको ११ प्रतिशत लगानी रहेको छ भने अन्य माडवारी समुदायको लगानी रहेको छ । यसैगरी मुरारका, अग्रवाल, राठी, गोयल, जैनलगायतका व्यापारी समूहको लगानी रहेको छ । किष्ट बैंकमा कमलप्रसाद ज्ञवालीको सबैभन्दा बढी सेयर रहेको बताइन्छ । फाइनान्सबाट बैंकमा रूपान्तरण भएको यस बैंकमा राजेन्द्र शाक्य परिवारको २३ प्रतिशत तथा अन्य संस्थापकसमेत गरेर ६० र ४० प्रतिशत सर्वसाधारणको सेयर रहेको छ । जनता बैंकमा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका व्यक्तिको बढी लगानी रहेको बताइन्छ । मेघा बैंक, कमर्ज एण्ड टुरिजम बैंक, सिभिल बैंक, सेन्चुरी बैंकमा पनि विभिन्न क्षेत्रका व्यापारीको लगानी रहेको छ । सानिमा बैंक गैरआवासीय नेपालीको लगानीमा सञ्चालन गरिएको बैंक हो । यसमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको प्रमुख सेयर रहेको छ ।

आफ्नै लाइनमा पार्टी आएको बाबुरामको दाबी, ब्ल्याकमेलिङ नगर्न प्रचण्डको चेतावनी
एकीकृत नेकपा माओवादीको हेटाँैडामा जारी साताँै महाधिवेशनमा पार्टी कसको ‘लाइन’मा चलिरहेको छ भन्ने विषयमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष बाबुराम भट्टराईबीच विवाद देखियो । अध्यक्ष प्रचण्डले तयार गरेको प्रतिवेदन आफ्नै लाइनअनुसारको रहेकाले पार्टीमा आफ्नो बाहुल्य रहनुपर्ने उपाध्यक्ष डा भट्टराईले बताएपछि नेतृत्वमा विवाद देखिएको हो ।
‘अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गरे पनि त्यो मेरै लाइनअनुसारको छ,’ प्रधानमन्त्रीसमेत रहेका उपाध्यक्ष भट्टराईले भने, ‘पहिले मोहन वैद्य पनि यही पार्टीमा हँुदा उनको लाइनअनुसार पनि पार्टी चल्ने गथ्र्यो । तर, अहिले मेरै सिद्धान्त र लाइनअनुसार चलेको छ,’ अध्यक्ष प्रचण्ड आफ्नो लाइनमा आएपछि कार्यदिशामा एकरूपता आएकोले महाधिवेशनपछि पार्टी एकढिक्का हुने र एउटैको लाइनमा चल्ने भट्टराईले हेटौँडामा आफूनिकट सञ्चारकर्मीहरूसँग बताएका थिए ।
उनले पार्टीको कार्यदिशामा एकरूपता रहेकोले नेतृत्व पनि सर्वसम्मतिबाट चयन हुने र त्यसमा आफ्नो पक्षका नेताहरू धेरैभन्दा धेरै सहभागी हुने तर्क अघि सारेका थिए । उनको भनाइ थियो, ‘मोहन वैद्यले पार्टी विभाजन गरेपछि राजनीतिक र साङ्गठनिक कार्यदिशामा एकरूपता आएको छ, त्यो मेरै लाइनअनुसारको हो ।’ उनले पार्टीमा आफ्नोभन्दा फरक धार आउने सम्भावना पनि नरहेको दाबी गरेका छन् । तर, कुनै पनि कम्युनिस्ट पार्टीमा दुईलाइन सङ्घर्ष अनिवार्य मानिन्छ ।
आफूले सुरुदेखि नै उठाउँदै आएको माक्र्सवादको सिर्जनशील प्रयोगका विÈयमा पहिले फरक रहे पनि पार्टी विभाजनपछि अध्यÔ दाहाल पनि आइपुगेको भट्टराईको तर्क छ । ‘म पहिल्यैदेखि माक्र्सवादलाई सिर्जनशील ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्थेँ,’ भट्टराईले भने, ‘किरणजीहरू पुरानै तरिकाले यसको प्रयोग गर्न खोज्नुहुन्थ्यो । अध्यÔको के हो भन्नेमा शङ्का थियो । किरणहरू गएपछि वस्तुगत अवस्थाले पनि मेरो र अध्यÔबीच समान बुझाइ भएको छ, त्यसैअनुसार पार्टी चलेको छ ।’
यता अध्यक्षले भने पार्टी कुनै एकजनाको मात्र नभएर सबैको सुझाव र विचारको आधारमा अघि बढेको र कसैले मेरै विचारअनुसार पार्टी चलेको छ भन्नु मूर्खता हुने धारणा आफूनिकट नेताहरूसमक्ष राखेर भट्टराईको तर्कको खण्डन गरेका छन् । उनले घुमाउरो पारामा भट्टराईले राखेको प्रस्तावबारे असहमति प्रकट गर्दै केही साथीहरू ब्ल्याकमेलिङ गर्दै हुनुहुन्छ, त्यसले पार्टीको हित होइन अहित मात्र गर्छ भनेका छन् । प्रचण्डले पार्टी कसैको निजी कम्पनी नभएको र यसमा सबैको विचारले मात्र चल्न सक्ने नभए त्यो पार्टी नभएर ‘पाटी’ मात्र हुने धारणा राख्दै पार्टी आफ्नो कार्यदिशाअनुसार चलेको र आगामी दिनमा पनि त्यसैअनुसार चल्ने बताएका थिए ।
उपाध्यक्ष भट्टराईले आफूनिकट नेता तथा सीमित पत्रकारसँग पार्टी आफ्नो लाइनमा चलेको बताएपछि अध्यक्ष प्रचण्डले पनि आफूनिकटका नेताहरूसँग यस्तो बताएका हुन् । उनले यो पार्टी एक भएर अघि बढ्ने बेलामा कसैको कुराको पछि लागेर पार्टीमा अहित हुने कुरामा नलाग्न भनेका थिए । यसअघि भट्टराईले पार्टीमा दुईलाइन सङ्घर्ष रहेको बताउँँदै पार्टीमा वैद्य र मेरो मात्र लाइन रहेको र अध्यक्ष त्यसको सञ्चालक मात्र भएको बताउँदै आएका थिए । अध्यक्ष भट्टराईले पार्टीको विस्तारित बैठकमा आफ्नै लाइन पारित भएको र सातौँ महाधिवेशनले पनि आफ्नै लाइन पारित गर्ने दाबी गर्दै आएका छन् ।

पत्रकारहरूको दशकौँ पुरानो माग पूरा
पत्रकारिता क्षेत्रले दशकौँअघिदेखि माग गर्दै आएको समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने निर्णय सरकारले गत साता गरेको छ । सरकारी विज्ञापन देशभरिका पत्रपत्रिका, एफएम रेडियो तथा टेलिभिजनहरूलाई निश्चित मापदण्डका आधारमा समानुपातिक ढङ्गले वितरण गरिनुपर्छ भन्दै पछिल्ला वर्षहरूमा नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले विशेष तत्परता लिएको थियो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विशेष अग्रसरतामा सरकारले गत साता उक्त निर्णय लिएको हो ।
सरकारी विज्ञापन समानुपातिक रूपमा देशका सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने निर्णय भएपछि सरकारी विज्ञापनमा रहेको एकाधिकारको स्थिति अन्त्य हुने भएको छ । यस निर्णयबाट निजी क्षेत्रको एक राष्ट्रिय दैनिक भने आहत भएको छ र उसले ज्ञानेन्द्रकालीन एकद्वार नीति अवलम्बन गरेको भन्दै समानुपातिक विज्ञापन प्रणालीका बारेमा भ्रम फैलाउने कोसिस गरेको छ । निजी क्षेत्रका अखबारमध्ये सबैभन्दा बढी सरकारी विज्ञापन प्राप्त गर्दै आएको उक्त दैनिकले समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने निर्णयको विरोध गर्नुलाई पत्रकारिता क्षेत्रले आश्चर्यजनक ठानेको छ । सरकारको यस निर्णयले पत्रकारहरूद्वारा सञ्चालित साना लगानीका सञ्चारमाध्यमहरूले विशेष राहत महसुस गर्ने विश्वास गरिएको छ । समानुपातिक विज्ञापन प्रणाली लागू भएपछि राष्ट्रिय दैनिकहरू समाचारपत्र, राजधानी, अन्नपूर्ण पोष्ट, नयाँ पत्रिका, कान्तिपुर तथा सौर्यलगायतले सरकारी विज्ञापनमा समान पहुँच राख्नेछन् भने देशभरिका एफएम रेडियो र अन्य दैनिक तथा साप्ताहिक पत्रिकाहरू पनि लाभान्वित हुनेछन् । सरकारले समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने निर्णयका साथै पत्रकारिता क्षेत्रको हित प्रवद्र्धनका पक्षमा अन्य केही महत्वपूर्ण निर्णय पनि गरेको छ । सरकारले पत्रकारितासँग सम्बन्धित निर्णयको कार्यान्वयन भएमा पत्रकारिता क्षेत्रले त्यसको स्वागत गर्ने विश्वास गरिएको छ ।

पदाधिकारी चयनमा बेग्लै विवाद
हेटौँडाको औद्योगिक क्षेत्रमा जारी एकीकृत नेकपा माओवादीको सातौँ महाधिवेशनमा पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्य चयनमा केन्द्रीय नेताहरूबीच गहिरो मतभिन्नता देखिएको छ । पार्टी अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकताको परिचय दिने र सर्वसम्मतबाटै नेतृत्व चयन गर्ने जिकिर गर्दै आए पनि नयाँ कार्यसमितिको पदाधिकारीमा भने को–को बस्ने भन्ने विवाद देखिएको हो ।
लामो विवादबीच महाधिवेशन प्रतिनिधि र पर्यवेÔक चयन गरे पनि पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयनमा निकै ठूलो विवाद देखिएको महाधिवेशनमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार अध्यÔमा प्रचण्ड र उपाध्यÔद्वय भट्टराई र श्रेष्ठको पद पक्का भए पनि अन्यमा विवाद देखिएको हो । विवादित रहेको पदमा एक उपाध्यÔ, महासचिव, सचिव र कोÈाध्यÔ रहेको छ । स्रोतका अनुसार यी पदमा आधा दर्जन नेताहरूको दाबी परेपछि विवाद देखिएको हो । पदाधिकारीमा निवर्तमान सचिव पोष्टबहादुर बोगटी, नेताहरू कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, अमिक शेरचन, वर्Èमान पुन, हिसिला यमीलगायतले दाबी गरेका छन् । उनीहरूलाई यी पदमा पार्टीमा कायम अध्यक्ष र दुई उपाध्यक्षको बेग्लाबेग्लै गुटले पदाधिकारीको रूपमा अघि सारेका हुन् ।
स्रोतका अनुसार अध्यÔ प्रचण्ड भट्टराईलाई वरिष्ठ र श्रेष्ठसँगै अहिलेका सचिव बोगटीलाई उपाध्यÔ बनाउने योजनामा रहेका छन् । उनी महरालाई महासचिव बनाउन चाहन्छन् । तर, भट्टराई र श्रेष्ठले महरालाई महासचिव बनाउन चाहेका छैनन् । भट्टराईले आफूपÔीय नेता रायमाझीलाई महासचिवमा दाबी गर्न लगाएका छन् भने श्रेष्ठले पनि आफूपÔीय नेता गिरिराजमणि पोखरेललाई अघि सारेका छन् ।
अध्यक्ष प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार महरालाई महासचिव नदिए बोगटीलाई महासचिव बनाएर महरालाई तेस्रो नम्बरको उपाध्यÔ वा पहिलो वरियताको सचिव बनाउने योजना दाहालको छ । पार्टी एकतामार्फत एमाओवादीमा आएका आफूलाई कम्युनिस्ट पार्टीको सदस्यता दिने पुराना नेता अमिक शेरचनलाई पदाधिकारीभित्र राख्ने योजनामा पनि दाहाल रहेका छन् । त्यसैअनुसार प्रचण्डले शेरचनलाई कोÈाध्यÔ बन्न आग्रह गरेका छन् । तर, शेरचनले मानिरहेका छैनन् । यसैगरी बोगटीलाई महासचिव र महरालाई सचिव बनाउने अवस्थामा शेरचनलाई तेस्रो वरियताको उपाध्यÔ दिने योजना पनि दाहालको छ । उपाध्यक्षका लागि शेरचनको पनि स्वीकारोक्ति रहेको छ ।
यसैगरी उपाध्यÔ भट्टराईले रायमाझीलाई सचिव र पत्नी हिसिला यमीलाई कोÈाध्यÔ बनाउन पहल गरिरहेका उनीनिकट एक नेताले बताएका छन् । पार्टीभित्र महराभन्दा ‘सिनियर’ भएकाले रायमाझीलाई पहिला पदाधिकारीभित्र ल्याइनुपर्ने तर्क भट्टराई पÔको छ । अर्का उपाध्यÔ श्रेष्ठले गिरिराजमणि पोखरेललाई पदाधिकारीभित्र ल्याउन कसरत गरिरहेका छन् । केही नेता–कार्यकर्ताले त पोखरेललाई पदाधिकारी बनाउन ‘बार्गेनिङ’ गर्नकै लागि श्रेष्ठले राष्ट्रियताका सवालमा फरक मतको घुर्कीसमेत लगाएको बताएका थिए ।
पार्टीमा पदाधिकारी चयनमा विवाद हुने सम्भावनालाई ध्यानमा राखेर महाधिवेशनमा पेस गर्न तयार पारिएको मस्यौदा विधानमा उपाध्यÔ र सचिव ‘आवश्यकताअनुसार राख्न सकिने’ पदावली राखिएको एक नेताले बताए । पदाधिकारी चयनमा विवाद नहोस् भनेर पार्टी विधान मस्यौदामा अध्यÔ एकजना, आवश्यकताअनुसार उपाध्यÔ, एकजना महासचिव, आवश्यकताअनुसार सचिव र एकजना कोÈाध्यÔ राख्ने प्रस्ताव गरिएको छ । पार्टीभित्रको शक्तिसन्तुलनअनुसार पदाधिकारी बाँडफाँडका लागि यस्तो लचकदार प्रस्ताव बनाइएको महाधिवेशनमा सहभागी ती नेताले जानकारी दिए ।
पार्टी प्रवक्ता अग्नि सापकोटाले नयाँँ नेतृत्व चयनमा पार्टीमा कुनै विवाद नरहेको दाबी गरेका छन् । उनले भने, ‘सबै कुरा एकमतले हुन्छ, यसमा कसैको पनि विवाद रहेको छैन ।’ प्रवक्ता सापकोटाले यसो भनिरहँदा महाधिवेशनमा सहभागीले टिके प्रथाको अन्त्य गरिनुपर्ने भन्दै गुटगत प्रणाली अन्त्य गर्न भन्दै नेतृत्वको आलोचना गरेका थिए । महाधिवेशनमा तीन हजार पाँच सय प्रतिनिधिको सहभागिता रहेको छ । यस महाधिवेशनले एक सय ५० सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

डीएसपी बढुवामा पनि गच्छदारको ‘तेस्रो आँखा’
नेपाल प्रहरीमा लामो समयदेखि रिक्त ४९ प्रहरी नायव उपरीक्षक पदमा यसै साता पदपूर्ति गर्ने तयारी भइरहेको बुझिएको छ । मुलुकको राजनीतिक सङ्क्रमणका कारण लामो समयदेखि पदोन्नति हुनबाट वञ्चित सङ्गठनप्रति वफादार प्रहरी निरीक्षक पीडामा रहे पनि यतिखेर अत्यन्तै कनिष्टहरूले पैसाकै भरमा अगाडि आउन कसरत गरिरहेको जानकारीमा आएको छ । प्राप्त समाचारअनुसार गृहमन्त्री विजयकुमार गच्छेदारले डीएसपी बढुवामा ज्यादै रुचि बढाएका छन् । एकीकृत माओवादी महाधिवेशनको मौका छोपेर ज्यादै कनिष्ट झन्डै डेढ दर्शन इन्स्पेक्टरलाई नगदका भरमा डीएसपी बनाउन गृहमन्त्री गच्छदार ज्यान फालेर लागेका छन् । ४९ रिक्त पदका लागि फ्रेस ब्याचभन्दा अगाडिका २८ जना भए पनि त्यसमा अधिकांश गे्रड रोक्का र बढुवा रोक्काजस्ता कारबाहीमा परेका र आईएभन्दा कम शैक्षिक योग्यता भएकाहरूको सङ्ख्या ठूलै रहेकोले ‘फ्रेस ब्याच’बाट धेरै बढुवामा पर्ने निश्चित छ । २० वर्षपछाडिको सङ्गठनप्रमुख बन्ने सपना देख्दै कतिपय कनिष्ट इन्स्पेक्टरहरू यतिखेर विभिन्न स्रोतमार्फत गृहमन्त्री गच्छदारकहाँ नगदसहित पुगेको बुझिएको छ । विशेषगरी तराईका ‘मालदार’ ठाउँहरूमा बसेर ब्रह्मलुट गरेका इन्स्पेक्टरहरू विभिन्न स्रोतमार्फत गृहमन्त्रीका सम्धी भक्ति माझीलाई नगद बुझाइरहेको बुझिएको छ । रोलक्रमको १००औँ स्थानमा रहेका सुभास बोहोरा धनुषाका एक फोरम नेतामार्फत माझीलाई नगद बुझाउनेमध्ये एक हुन् । त्यस्तै मोरङ फोरमको गच्छदार थरका एक नेतामार्फत रकम बुझाएपछि ९२ नम्बरमा रहेका सञ्जयसिंह थापा पनि ढुक्क भएर बसेका छन् । गच्छदारकी साली र श्रीमतीकी साथीलाई खुसी बनाएर रकम बुझाउने ८७ नम्बरका शिवकुमार श्रेष्ठ पनि अगाडि जाने कुरामा ढुक्क देखिएका छन् । ९०को लाइनमा रहेका महेन्द्रकुमार श्रेष्ठ र नकुल पोखरेल गृहमन्त्रीका आर्थिक लेनदेन हेर्ने पीएका रूपमा कार्यरत यज्ञ चौधरीमार्फत अगाडि आउने निश्चित भएको बताइन्छ । त्यस्तै, अर्जुन तिमिल्सिनाले पनि चौधरीमार्फत धनराशि बुझाइसकेको एक स्रोतले बताएको छ । रामजनम चौधरीमार्फत रकम बुझाएर अगाडि नम्बरमा आउने विश्वास पाएका पदम विष्ट, मनोज विश्वासमार्फत चक्रराज जोशी, श्याम महतो, नवराज अधिकारी, रामेश्वर कार्की पनि २० वर्षपछि सङ्गठनप्रमुख बन्नका लागि रकम बुझाउने अधिकृतका रूपमा चर्चामा रहेका छन् । अन्य केही कनिष्ट इन्स्पेक्टरहरूले भक्ति माझीलाई सीधै भेटेर रकमकलम बुझाइसकेका बताइन्छ । प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले कार्यक्षमता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सुपरभाइजरको सिफासलाई आधार बनाउने अड्डी लिएइरहेका बेला यस्ता व्यक्तिहरूले गृहमन्त्रीलाई रिझाएर बढुवा पाए भने प्रहरी सङ्गठनलाई गम्भीर क्षति पुग्ने सम्बद्ध अधिकारी बताउँछन् ।

लन्डन दूतावासलाई प्रतिष्ठित पुरस्कार
बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे संयुक्त अधिराज्यको ‘ग्रासरुट डिप्लोम्याट’ अवार्डबाट सम्मानित हुनुभएको छ । सोसियल एवम् इकोनोमिक डिप्लोम्यासीमार्फत बेलायतमा बसोवास गर्दै आएका गोर्खाली नेपालीलाई बेलायती समाजमा समायोजन गर्न राजदूत डा. चालिसेले गर्नुभएको उच्चतम् प्रयासका लागि सो अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्रदान गर्न आयोजित समारोहमा अवार्ड प्राप्त गरेपछि मन्तव्य दिँदै राजदूत डा. चालिसेले परिश्रम र अनुशासनका लागि विश्वमै परिचित रहेका गोर्खाली नेपालीलाई बेलायती समाजमा समायोजन गराइनु अपरिहार्य रहेको बताउनुभयो । ‘ग्रासरुट डिप्लोम्याट’ले आफ्नो कार्यको कदर गर्दै अवार्ड प्रदान गरेकोमा खुशी प्रकट गर्दै उहाँले भन्नुभयो, ‘बेलायतमा भिन्न आर्थिक, सामाजिक र सांस्कृतिक पहिचान बोकेर आएका नेपालीलाई बेलायती समाजमा समायोजन गराउने कार्य चुनौतीपूर्ण रहेको छ, यस अवार्डले दूतावास र मलाई पनि अभियानमा लाग्न थप उत्साहित तुल्याएको छ ।’
स्मरण रहोस्, यो अवार्ड त्यस्ता व्यक्ति–व्यक्तित्वलाई प्रदान गरिन्छ जसले संयुक्त अधिराज्यको द्विपक्षीय सम्बन्धको समस्या र अवसरलाई उच्च तहमा पु-याउने सामथ्र्य राख्दछ । सो अवार्डका लागि बेलायतस्थित उच्चस्तरीय राजनीतिज्ञ, सरकारी पदाधिकारीहरु तथा कूटनीतिज्ञहरु गरी पचास व्यक्तित्व मनोनीत हुनुभएको थियो । नेपाली राजदूत डा. चालिसेका अलावा बेलायतका लागि ब्राजिल, कोलम्बिया, अर्जेन्टिना, फिनल्याण्ड, फिलिपिन्स, होण्डुरस, मल्डोभा, स्लोभानिया र इजरायलका राजदूतहरु पनि सो अवार्डका लागि मनोनीत भएका थिए ।

चिट चोर्न नपाएपछि सुरक्षागार्डलाई धम्की
अर्कैसँग हिँडेकी श्रीमती फिर्ता पाउनुपर्ने माग गर्दै सडक बन्द गरेझैं परीक्षा केन्द्रमा चिट चोर्न नपाएपछि केही विद्यार्थी क्रूद्ध भएका छन् । घटना न्यू मिलेनियम कलेज सुकेधाराको हो । उक्त कलेजमा हाल बीबीएस तेस्रो वर्ष र एलएलबी तेस्रो वर्षका विद्यार्थीको परीक्षा चलिरहेको छ र कुल चार सय विद्यार्थी उक्त परीक्षाकेन्द्रमा सहभागी भएका छन् । बीबीएसपट्टि दश निजी क्याम्पसका विद्यार्थी परीक्षामा सहभागी रहे पनि एलएलबीतर्फ भने त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल ल क्याम्पसका विद्यार्थी मात्र परीक्षामा सम्मिलित छन् । एलएलबीको परीक्षामा अखिलकी नेतृ रामकुमारी झाँक्रीदेखि पूर्वडीआईजी एवम् गृहमन्त्री विजयकुमार गच्छदारका सम्धि भक्ति माझीलगायत विभिन्न राजनीतिक कार्यकर्ताको सहभागिता रहेको छ । अत्यन्त ‘टाइट’ मानिने उक्त परीक्षा केन्द्रमा परीक्षामा सहभागी भएको एक घण्टासम्म कुनै परीक्षार्थी बाहिर निस्कन नपाउने र परीक्षा सकिएको पाँच मिनेटभित्र परीक्षाा केन्द्रबाट बाहिरिनुपर्ने नियम छ । तर, गत सोमबार एलएलबीका डेढ दर्शन परीक्षार्थी परीक्षा सकिएपछि पनि नियमविपरीत त्यहीँ बसी होहल्ला गर्न थाले । उनीहरूको गुनासो थियो– परीक्षामा सुरक्षागार्डहरूले निकै कडा गरे । एक घण्टा बित्न लाग्दा पनि हल नछोडेपछि प्रहरीले उनीहरूलाई सम्झाएका थिए, तर उनीहरू बाहिर निस्कन मानेनन् । त्यसपछि कलेजको अनुशासन इञ्चार्ज तथा सुरक्षागार्डहरूले विद्यार्थीलाई बाहिरिन बाध्य पारेका थिए । त्यसअघि विद्यार्थी नेतृ रामकुमारी झाँक्री परीक्षा सुरु भएलगत्तै नियमविपरीत बाहिरिन खोज्दा रोक लगाएपछि उनले त्यहाँ बबण्डर मच्चाएकी थिइन् । त्यसपछि परीक्षा सकिँदा पनि केही विद्यार्थी बाहिरिन नचाहेपछि कलेजले उनीहरूलाई बलजफ्ती बाहिर निकाल्नुपरेको थियो । त्यसरी कलेजबाट बाहिर पठाइएपछि एलएलबीका परीक्षार्थीले आफूमाथि हातपात गरिएको आरोप लगाउँदै सञ्चारमाध्यमहरूबाट प्रचारबाजी गरेका छन् । कलेज प्रशासनले भने कसैमाथि हातपात नभएको जनाएको छ । निजी क्याम्पसका विद्यार्थीतर्फ परीक्षामा कुनै समस्या नभए पनि ‘सरकारी’तर्फ (एलएलबी)का परीक्षार्थीको व्यवहारलाई भने कलेज प्रशासनले गम्भीर मानेको छ । ती परीक्षार्थीले सुरक्षागार्ड तथा अनुशासन इञ्चार्जहरूलाई ज्यान मार्नेसम्मको धम्की दिएकोले कलेज प्रशासन गम्भीर भएको बताइन्छ । उक्त परीक्षा केन्द्रमा माघ १८ गतेदेखि परीक्षा सुरु भएको र आगामी फागुन १० गतेसम्म परीक्षा चल्ने बुझिएको छ ।

ग्लोबल आईएमईको डिबेञ्चर स्टक एक्सचेन्जमा सूचीकरण
ग्लोबल आईएमई बैंक लि.ले निष्कासन गरेको १० प्रतिशतको एक हजार दरका ४० लाख कित्ता डिबेञ्चर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल स्टक एक्सचेन्जका तर्फबाट निमित्त महाप्रबन्धक प्रमोद भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । वार्षिक ब्याजदर १० प्रतिशत रहेको उक्त डिबेञ्चरको भुक्तानी अवधि सात वर्षको रहेको र डिबेञ्चरको ब्याज भुक्तानी त्रैमासिक रूपमा गरिने बैंकले जनाएको छ ।
ग्लोबल आईएमई बैंक लिले आव ०६९/७० को दोस्रो त्रैमासिकसम्ममा २९ अर्ब ३७ करोड निक्षेप सङ्कलन गरी २३ अर्ब ९१ करोड ऋण लगानी गरेको जनाएको छ । यस आधा वर्षे अवधिमा बैंकको सञ्चालन मुनाफा ३३ करोड ६२ लाख तथा खुद मुनाफा २४ करोड ४९ लाख रहेको बताइएको छ भने हाल बैंकका ६३ शाखा, ६२ एटीएम तथा ३ लाखभन्दा बढी ग्राहक रहेको दाबी गरिएको छ । – हेमराज लम्साल

महेशलाई रोक्न वाईसीएलको शरणमा
नेकपा एमालेको सशक्त भ्रातृ सङ्गठन मानिने युवा सङ्घको फागुन ११ गतेदेखि बुटवलमा महाधिवेशन सुरु हुने भएको छ र उक्त महाधिवेशनले पुन: महेश बस्नेतलाई नै अध्यक्ष चयन गर्ने बुझिएको छ । केपी ओलीका विश्वासपात्र भनेर चिनिने बस्नेतलाई युवा सङ्घ इञ्चार्ज एमालेका केन्द्रीय सदस्य योगेश भट्टराईले समेत विकल्प नदेखेपछि बस्नेत अध्यक्ष बन्ने पक्का भएको हो । झलनाथ खनाल पक्षधर भनेर चिनिने भट्टराईले वाईसीएलको आतङ्कलाई निस्तेज पार्न बस्नेतबाहेक अरूको नेतृत्वले नसक्ने निष्कर्ष पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरेपछि युवा सङ्घका अर्का एक थरी नेताहरू भने माओवादीको शरणमा पुगेको बताइन्छ । घटना र विचारलाई प्राप्त समाचारअनुसार युवा सङ्घका वर्तमान अध्यक्ष महेश बस्नेतले यसपटक आफू अध्यक्ष नबन्ने बताइरहेका थिए । उनले पार्टीको आगामी महाधिवेशनबाट केन्द्रीय सदस्य बन्ने इच्छा राखेका थिए । तर, परिस्थितिले गर्दा उनी बुटवल महाधिवेशनबाट फेरि अध्यक्ष बन्नुपर्ने अवस्था आएको छ । महेश नै युवा सङ्घमा दोहोरिने सम्भावना बढेपछि वर्तमान महासचिव नीरज आचार्यले आफ्नो बेग्लै टिम बनाउन सुरु गरेको बुझिएको छ । नेतृत्व लिनका लागि चर्चामा रहेका झपट रावल, दिलु पन्तहरू भने भित्रभित्रै महेशसँग सुरक्षित पदको बार्गेनिङमा लागेको र अर्कोतिर नीरज आचार्यलाई नेता मान्न तयार भएको भन्दै उनलाई उचालिरहेको बताइन्छ । देशभर युवाहरूमाझ महेश बस्नेत ज्यादै लोकप्रिय भएको कारण उनी माओवादीको समेत टाउको दुखाइको कारण बनेका छन् । बुटवल महाधिवेशनबाट बस्नेत अध्यक्ष बन्ने पक्काजस्तै भएपछि माओवादीको एउटा तप्काले एमालेका नीरज आचार्यजस्ता मान्छेलाई उचालिरहेको बताइन्छ । एमालेको एक स्रोतका अनुसार माओवादीको हेटौँडा महाधिवेशनमा जानुभन्दा दुई दिनअघि राजधानीको एक घरमा वाईसीएल इञ्चार्ज गणेशमान पुन र युवा सङ्घका महासचिव नीरज आचार्यबीच बुटवल महाधिवेशनबारे छलफल भएको थियो । विपक्षी दलहरूद्वारा सञ्चालित आन्दोलन र आगामी संविधानसभाको निर्वाचनमा महेशको विकल्प खडा गर्न वाईसीएलले आचार्यलाई अघि सार्ने रणनीति बनाएको हो ।

स्वर्गद्वारीबाट दौडेर सगरमाथा चढ्ने घोषणा
प्यूठाननिवासी सञ्जय पण्डितले प्यूठानको स्वर्गद्वारीबाट दौड सुरु गरेर सगरमाथाको चुचुरोमा पुग्ने घोषणा गरेका छन् । २२ सयभन्दा बढी किलोमिटर दौडेका पण्डित कीर्तिमानी अल्ट्रा धावक हुन् । धावक पण्डितले आगामी चैत २१ देखि दौड सुरु गरी स्वर्गद्वारीबाट सगरमाथाको चुचुरोसम्मको चुनौतीपूर्ण यात्रा गर्ने छन् ।
यस अभियानमार्फत मुलुकलाई नयाँ रूपले विश्व समुदायमा परिचित बनाउने प्रयास आफूले गर्न लागेको पण्डितको भनाइ छ । यसअघि मनास्लु हिमालको सफल र सगरमाथाको असफल आरोहण गरिसकेका धावक पण्डितको पछिल्लो अभियानलाई स्वर्गद्वारी सगरमाथा शान्ति आरोहण एवम् हिमाल दौड २०७० नाम दिइएको छ ।
अभियानबारे जानकारी दिन आयोजित कार्यक्रममा धावकलाई शुभकामना दिँदै नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले राष्ट्रिय राजनीति निराशाजनक भए पनि व्यक्तिगत र समूहगत प्रयासमा देशको नाम राख्ने कार्य भइरहेकोप्रति खुसी व्यक्त गर्दै पण्डितको अभियानमा सहयोग गर्न सबैसँग आह्वान गर्नुभयो । उनले हिमाल चढ्नु र दौडनु नेपालीको रगतमै भएको उल्लेख गर्दै यो नेपालीको विशिष्ट पहिचान पनि भएकाले राज्यले यस अभियानलाई सकारात्मक रूपमा लिनुपर्ने तर्क गर्नुभयो ।
सोही कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसभासद् वीरबहादुर सिंह, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा, कीर्तिमानधारी वरिष्ठ धावक वैकुण्ठ मानन्धरले पण्डित जागरुक साहसिक युवा भएकाले उनले लक्ष्य प्राप्त गरेरै छाड्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिए ।

नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा विपद् व्यवस्थापन तालिम
नेपाली सेना र मित्रराष्ट्र अमेरिकाको मरिन फोर्स प्यासिफिक ज्वाइन्ट टास्क फोर्स–५०५ को संयुक्त आयोजनामा पाँचदिवसीय ‘ह्युम्याटरियन एसिस्टेन्स एन्ड डिज्यास्टर रेस्पोन्स टेबल टप एक्सरसाइज’ आरम्भ भएको छ । नेपाली सेनाका व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाण्डेद्वारा शुभारम्भ गरिएको सो अन्तरक्रियात्मक अभ्यास भूकम्प तथा अन्य प्राकृतिक विपद्को दृष्टिकोणले अति संवेदनशील मानिएको नेपाल र विशेषगरी राजधानी काठमाडौंमा ठूलो स्तरको विपद् आएमा यथाशीघ्र मानवीय उद्धार तथा राहतकार्यका लागि मित्रराष्ट्रहरूबाट प्राप्त हुने सैनिक सहयोगलाई प्रभावकारी ढङ्गबाट समन्वय तथा परिचालन गर्ने उद्देश्यले आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त टेबल टप अभ्यासबाट प्राकृतिक विपद्मा छिटो समयभित्र गरिने उद्धारकार्य तथा जिउधनको न्यूनतम क्षतिको लागि अपनाउने कार्यविधिको अध्ययन गर्नका साथै क्षमता अभिवृद्धि गर्न मद्दत मिल्ने बताइएको छ ।
राजधानीस्थित होटल -याडिसनमा गत सोमबारदेखि आगामी २६ गतेसम्म सञ्चालन हुने उक्त अभ्यासमा नेपाली सेना र अमेरिकी सेनाका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अमेरिकी राजदूतावासका कर्मचारीहरू, संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि र मानवीय निकायका प्रतिनिधिहरूसहित एक सय १२ जना सहभागी रहेका छन् ।

गोरखापत्रबाजेको दु:खद् अन्त्य
नेपाली पत्रपत्रिकासँग नङ र मासुको सम्बन्ध रहेका गोरखापत्रबाजेको निधन भएको छ । गत आइतबार बिहान सेती नहर किनारमा बाजे मृत अवस्थामा फेलापरेका हुन् । वास्तविक नाम चन्द्रकान्त पौडेल भए पनि गोरखापत्र दैनिक बिक्री गर्ने कामबाट पत्रपत्रिका बिक्रीवितरणलाई पेसा बनाएका हुनाले उनी गोरखापत्रबाजेका रुपमा चिनिएका थिए । स्थानीयलगायत राजधानीबाट प्रकाशन हुने अधिकांश पत्रपत्रिकाको पोखरामा बिक्रीवितरण गर्दै आएका बाजे ८१ वर्ष उमेरमा पनि उत्तिकै सक्रिय थिए ।
पत्रपत्रिका किनेर पढ्नुपर्छ र सूचना सबैभन्दा शक्तिशाली हुन्छ भन्ने सिकाउने अग्रज पात्रका रुपमा पोखरामा गोरखापत्रबाजेलाई सबैले चिन्दथे । हक्की र निडर स्वभावका गोरखापत्रबाजे जीवनभर सङ्घर्ष गरेर आफ्नै मिहिनेत र परिश्रममा बाँचे, तर त्यस्ता स्वाभिमानी व्यक्तिको मृत्यु भने बडा दु:खपूर्ण तवरले भएबाट धेरैको मन कुँडिएको छ ।

‘गान्धीजीको सम्झना र नेपालमा उहाँको सान्दर्भिकता’बारे सेमिनार
महात्मा गान्धीको ६५औँ सहादत दिवसको अवसरमा राजधानीमा ‘गान्धीजीको सम्झना र नेपालमा उहाँको सान्दर्भिकता’ विषयक सेमिनार सम्पन्न भएको छ । नेपाल तथा एसिया अध्ययन केन्द्रले त्रिभुवन विश्वविद्यालय, भारतीय चेयरको सहकार्यमा गत ३० जनवरीका दिन आयोजना गरेको सेमिनारमा आमन्त्रितहरूलाई स्वागत गर्दै सिनासका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका संयोजक डा. मृगेन्द्र कार्कीले कार्यक्रम आयोजनाको सन्दर्भमाथि प्रकाश पार्दै गान्धीजी जस्ता विचारकका उपदेशहरू नेपालका पाठ्यक्रममा समावेश गर्नेबारेमा सोचविचार भइरहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै पूर्वनिर्वाचन आयुक्त तथा दर्शनशास्त्रका प्राध्यापक डा. वीरेन्द्र मिश्रले गान्धीजीले आफ्नो नि:स्वार्थ जीवन र अहिंसाको माध्यमबाट संसारलाई मिलेको शिक्षाको सबैले अनुशरण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कर्तव्यपरायणता नै साधन र साध्य भएको कुरा गान्धीजीको जीवनबाट सिक्नुपर्ने बताउनुभयो । यस्तै, भारतीय राजदूतावासका प्रथम सचिव अभय कुमारले आफूले गान्धीजीको जीवनबाट प्रेरणा पाएको अनुभव सुनाउँदै ‘हाम्रो मरुद्यान ब्रह्माण्ड’ शीर्षकमा आफूले रचना गरेको कविता वाचन गर्नुभयो । कार्यक्रमका अन्य वक्तामा गान्धीवादी व्यक्तित्वहरू श्रीमती उषा ठाकुर, टीकाराम वैद्य, डा. हेमराज सुवेदी, प्रा. मोहन लोहनी र विजय कर्ण हुनुहुन्थ्यो ।
वनारस हिन्दू विश्वविद्यालयमा शान्तिका लागि युनेस्को चेयर प्रा. प्रियाङ्कर उपाध्ययले गान्धीजीले कल्पना गर्नुभएको सीमाविहीन विश्व तथा सम्पूर्ण विश्व एक परिवार भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर गुणनिधि न्यौपानेले गान्धीजीको दर्शन तथा जीवन र कहिल्यै पदको पछाडि नदौडने गणेशमान सिंहजस्ता नेताको अनुभवबाट सिक्नुपर्ने कुरामा जोड दिनुभयो । त्रिभुवन विश्वविद्यालयमा भारत चेयरका प्रा. अन्जुशरण उपाध्यायले आजको विश्वमा अहिंसाबारे जोड दिनुभयो ।

नेपाली विद्यार्थी विश्वमै नाम कमाउन सफल : राजदूत जयन्त
नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले नेपालको समृद्धि र प्रगतिका लागि भारत सधैँ सकारात्मक रहेको बताउनुभएको छ । गत साता पशुपति बहुमुखी क्याम्पसको ३३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राजदूत जयन्तले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र धार्मिक रूपमा बलियो रहेको बताउनुभयो । प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले नेपाल जल तथा प्राकृतिक सम्पदामा एसियाकै धनी भएकाले जलसम्पदाको विकासका लागि भारत सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
राजदूत जयन्तले भारत सरकारले नेपालको शैक्षिक विकासका लागि विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै मेडिकल साइन्स, इन्जिनियरिङलगायतका विषयमा भारतले नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको र सोअन्तर्गत नेपाली विद्यार्थी भारतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत रहेको जानकारी दिनुभयो । दक्षिण एसियामै नेपाली युवायुवतीको शैक्षिक गुणस्तर उच्च रहेको उल्लेख गर्दै राजदूत जयन्तले कैयन नेपालीे विद्यार्थीले विश्वमै नाम कमाउन सफल भएको उल्लेख गर्नुभयो । कार्यक्रमबीच उहाँले पशुपति कलेजमा कक्षा ११ मा अध्ययनरत उत्कृष्ट एक छात्र र एक छात्रालाई महात्मा गान्धी छात्रवृति दिने घोषणा गर्नुभयो । यसरी छानिएका छात्र–छात्राले दुई वर्षसम्म मासिक दुई हजार भारतीय रुपैयाँ अध्ययन खर्चका रूपमा पाउनेछन् ।
कार्यक्रममा क्याम्पसप्रमुख विष्णुप्रसाद पन्तले क्याम्पस समयानुकूल शिक्षा प्रदानमा कटिबद्ध रहेको भन्दै निकट भविष्यमै विश्वविद्यालय सञ्चालनका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । कलेजलाई भौतिक तथा प्राविधिक रूपमा सम्पन्न बनाउने उद्देश्यले आधुनिक शैक्षिक विकासका लागि कार्य भइरहेको उहाँको कथन थियो ।
पशुपति क्याम्पस सञ्चालक समिति उपाध्यक्ष केशरबहादुर भण्डारी, प्राध्यापक सङ्घका सभापति डा. विष्णुकुमार खत्री, कर्मचारी सङ्घका अध्यक्ष प्रदीपकुमार चालिसे, स्ववियु सभापति मनोज वैद्यले सामुदायिक कलेजले गुणस्तरीय शिक्षा र पूर्वाधार विकासमा विशेष जोड दिनुपर्ने जनाए । कार्यक्रममा उत्कृष्ट प्राध्यापक धनश्याम काफ्ले, सुमन बस्नेत र उत्कृष्ट कर्मचारी संगीता घिमिरेलगायत विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

छापामाध्यम सञ्जालद्वारा सरकारी निर्णयको स्वागत
सरकारी विज्ञापनलाई समानुपातिक ढङ्गले वितरण गर्ने सरकारी निर्णयको नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले स्वागत गर्दै नेपाल सरकारलाई धन्यवाद दिएको छ । नेपाली प्रेस जगत्ले दशकौँअघिदेखि सरकारी विज्ञापनको वितरण पारदर्शी, व्यापक र समानुपातिक ढङ्गले गरिनुपर्ने माग राख्दै आएकोमा सञ्जालले यस मागको यथाशीघ्र सम्बोधन गर्न सरकारलाई दबाब दिँदै आएको थियो । सरकारको यस निर्णयलाई सञ्जालले ऐतिहासिक भन्दै पत्रकारिताको विकास र प्रभावकारितामा सकारात्मक एवम् परिणाममुखी प्रभाव पार्ने जनाएको छ ।
सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीद्वारा प्रकाशित स्वागत विज्ञप्तिमा समाचार संस्था तथा खासगरी साना लगानीका सञ्चारमाध्यमहरूको स्तरोन्नतिमा सरकारको यस निर्णयले अविष्मरणीय योगदान पुग्ने विश्वासका साथ भनिएको छ– ‘सरकारी विज्ञापनमा एकलौटी आधिपत्य कायम राख्दै आएका एकाध नाफामुखी संस्थाले यसलाई सकारात्मक रूपमा ग्रहण नगर्ने स्थिति भए पनि सरकारको निर्णयबाट देशभर सञ्चालित एफएम रेडियो, टेलिभिजन, दैनिक, साप्ताहिक तथा पाक्षिक पत्रिकाहरू लाभान्वित हुने र यसबाट रोजगारी अभिवृद्धिमा उल्लेख्य सहयोग पुग्ने, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई सहज बनाउने, स्वरोजगार पत्रकारिता आत्मनिर्भर भई त्यसले संस्थागत रूप धारण गर्ने तथा पत्रकारिता क्षेत्रमा देखापरेका विसङ्गतिहरूलाई उन्मूलन गर्न सहयोग पु-याउने हाम्रो ठम्याइ छ ।’
पत्रकारिता क्षेत्रलाई जिम्मेवार, सकारात्मक र रचनात्मक बनाउन सहयोग पुग्ने निर्णय भन्दै विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यसरी स्वरोजगार पत्रकारितालाई माथि उठाउने उद्देश्यबाट सरकारले समानुपातिक विज्ञापन वितरण व्यवस्था गर्ने निर्णय लिएकोमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई, सूचना तथा सञ्चारमन्त्री एवम् सम्बद्ध सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ ।’