सोझै जनकपुर आउँदैछन् भारतीय प्रधानमन्त्री

सोझै जनकपुर आउँदैछन् भारतीय प्रधानमन्त्री


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गते गर्ने नेपाल भ्रमण जनकपुरबाट शुरु हुने भएको छ । दिल्लीबाट पटना हुँदै जनकपुर आउन लागेका मोदीलाई जनकपुरको बाह्रबिघा मैदानमा भब्य रुपले नागरिक अभिनन्दन गर्ने तयारी रहेको प्रदेश नंबर २ को प्रान्तीय सरकारले जनाएको छ ।

जनकपुरपछि मोदी हेलिकप्टरबाट मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन र सोही दिन काठमाडौं आउने कार्यतालिका रहेको गृहमन्त्रालयले जनाएको छ । मोदी भ्रमणलाई लिएर सरकारले सुरक्षा अवस्था अत्यन्त चुस्त बनाउन लागेको छ भने यही विषयमा बुझ्न गृहमन्त्री रामबहादुर थापा जनकपुरसमेत पुगेका छन् । जनकपुरको स्थलगत अवलोकन र उच्च सुरक्षा अधिकारीहरूसँग सुरक्षा व्यवस्थाको बारेमा थापाले छलफल गरेका थिए । सुरक्षामा कुनै कसर बाँकी नराख्न सुरक्षा अधिकारीहरूलाई गृहमन्त्री थापाले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री मोदीले जानकी मन्दिरमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ । पटनाबाट २८ गते बिहान साढे ९ बजे जनकपुर आएपछि मोदीको विशुद्ध धार्मिक कार्यक्रम मात्र हुने गृहमन्त्री थापाले जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले यसअघि गरेको नेपाल भ्रमणमा जनकपुर र मुक्तिनाथ मन्दिर जाने इच्छा देखाए पनि कारणवश उनको इच्छा पूरा हुन पाएको थिएन ।

मोदी नेपाल आउने निश्चित भएपछि नेपालका लागि भारतीय राजदुत मन्जिभ सिंह पुरी पनि जनकपुरको सुरक्षा अवस्था बुझ्न यही बैशाख ९ गते जनकपुर पुगेका थिए भने भारतीय प्रधानमन्त्रीको भ्रमणलाई भव्य तुल्याउन प्रदेश नंबर २ को सरकारले ब्यापक रुपमा तयारी गरिरहेको बुझिएको छ । मुख्यमन्त्री लालबाबु राउतले मोदीको जनकपुर भ्रमण आफूहरूका लागि अत्यन्त महत्वपूर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् । गृहमन्त्री थापाले भने नरेन्द्र मोदीको नेपाल भ्रमण केवल धार्मिक र सांस्कृतिक मात्र रहेको अर्थ लाग्ने गरी सार्वजनिक अभिब्यक्ति दिएका छन् ।

सिंगारिँदै जनकपुरधाम
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण जनकपुरधामबाटै शुरु हुने भएपछि यहाँका जनता उत्साहित भएका छन् । प्रधानमन्त्री मोदीको स्वागतका लागि प्रदेश सरकारले पनि आफ्नो तयारी तीव्र पारेको हो । मोदीको भ्रमणलाई सभ्य र भव्य बनाउनका लागि विभिन्न तयारीलाई तीव्रता दिँदै साजसज्जाको काम गरिँदैछ । प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति गठन गरिएको छ । संयोजक सोनलले प्रत्येक जिल्लाको ‘कमान्ड’ सम्हाल्ने गरी जिम्मेवारी तोकेका छन् । प्रदेश सरकारले प्रधानमन्त्री मोदीको जनकपुरधाम आगमन वैशाख २८ गते बिहान ९ बजेका लागि तयारी थालेको छ । स्रोतका अनुसार मोदी र उनको टोली तीनवटा हेलिकप्टरमार्फत जनकपुर आउनेछन् । ती हेलिकप्टर बाह्रबिघा रंगभूमि मैदानमा अवतरण गर्ने बताइन्छ । त्यसपछि जानकी मन्दिरमा पूजापाठ हुनेछ । जानकी मन्दिरमा पूजापाठपश्चात् रंगभूमि मैदानमा प्रदेश सरकारका तर्फबाट मोदीलाई नागरिक अभिनन्दन गरिनेछ ।