जसले मनकामना माईसँग ‘राष्ट्र’ मागेका छन्

जसले मनकामना माईसँग ‘राष्ट्र’ मागेका छन्


मधुर मुस्कानबिना कसैको सामु प्रस्तुत हुनै नजान्ने यी गायक गीत भने मुटुमा बिझ्ने प्रकारका गाउँछन् । तीन दशकअघि यिनले गाएको गीत हरेक नेपालीको ओठमा झुन्डिएको थियो, अहिले पनि उक्त गीत उत्तिकै प्रिय मानिन्छ, मानिसहरू स्मरण गर्दछन्, ‘जिन्दगीले कहाँ ल्याइपुऱ्यायो, केही थाहा छैन, केही थाहा छैन, यहाँ विरहसिवाय मैले केही पाउनै सकिनँ ।’ उनी अर्थात् ख्यातिप्राप्त गायक प्रमोद पाण्डे ।

वि.सं. २०३९ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएर गायन क्षेत्रमा प्रवेश गरेपछि उनको पहिलो गीत ‘विवशताले घेरिएको विवशतामै डुब्ने भो’ बोलको गीतले अपेक्षा गरेअनुरूपको चर्चा पाएन, तर दोस्रो गीत यति चर्चित र प्रिय बन्यो कि स्वयम् गायक प्रमोदले समेत कल्पना गरेका थिएनन् । वास्तवमा प्रमोद पाण्डेलाई गायन क्षेत्रमा दोस्रो गीतले नै स्थापित गरेको हो । रेडियो नेपालमा प्रमोदका साठीभन्दा बढी गीत रेकर्ड भएका छन् । २०६८ सालमा आठवटा गीत समेटिएको ‘मधुमास’ शीर्षकमा गीति एल्बम सार्वजनिक गरेका उनको अहिलेसम्म आधुनिक, भजन, राष्ट्रिय र लोकसमेत गरी एक सयभन्दा बढी गीत स्रोतामाझ चल्तीमा छन् । सय गीतमध्ये तपाईं आफूलाई सबैभन्दा सन्तुष्टि मिलेको गीतचाहिँ कुन हुन् ?

प्रश्नको जवाफमा प्रमोद भन्छन्, ‘जिन्दगीले कहाँ ल्याइपुऱ्यायो र आँखैमा राखेर मुटुभरिको विश्वासले बाँधेर बोलिदिए पो’ यी दुई गीतले मलाई ज्यादा सन्तुष्टि दिएको छ । प्रमोदले आफ्नी आमा चेतकुमारी पाण्डे (स्वर्गीय) द्वारा रचित कैयन भजनमा पनि स्वर दिएका छन् । आफ्नी आमाद्वारा रचित ‘त्यो चरणमा स्वर्ग छ, त्यो आशीषमा ममता छ, मातापिताको सेवामा धर्म छ’ बोलको भजनलाई ज्यादै मन पराएर प्रमोदलाई ज्येष्ठ नागरिक समाज काठमाडौंले अभिनन्दन पनि गऱ्यो। यसबाहेक ‘मङ्गलकारिणी दुःख निवारिणी बगलामुखी माता’ बोलको भजनले पनि आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछन् ।

वि.सं. २०२० साल माघ १० गते काठमाडौं क्षेत्रपाटीको भुरुङखेलमा पिता किरणप्रसाद पाण्डे र माता चेतकुमारी पाण्डेबाट जन्मिएका प्रमोद पाण्डेले अर्थशास्त्रमा एमएसम्मको अध्ययन गरेका छन् । २०४५ सालमा ट्राभल एजेन्सीको कामबाट व्यवसायमा पाइला हालेका पाण्डेले कुमारी एयर फ्रेट प्रा.लि. कम्पनीमार्फत कार्गो सेवा उपलब्ध गराइरहेका छन् । नेपाल फ्रेट फर्वार्डर एसोसिएसनको सचिव रहिसकेका र हाल नेपाल च्याम्बर अफ कमर्सको निर्यात समितिको सदस्य रहेका प्रमोद भान्साको सामान आपूर्ति (किचन आइटम सप्लाई) गर्ने व्यापारमा पनि संलग्न छन् ।

व्यापार व्यवसायबाट सन्तुष्ट रहेको बताउने प्रमोदले सपनाचाहिँ धनाढ्य बन्ने देखेका छैनन् । भन्छन्, ‘साँच्चै भन्ने हो भने मलाई त धार्मिक गीत (भजन) हरूले ज्यादा सन्तोष दिएको छ, त्यसैले यही क्षेत्रमा थप केही गरौँ भन्ने लागिरहेको छ ।’ ‘अब बुढ्यौलीतिर ढल्कँदै गरेको सङ्केत हो कि यो’ भन्ने हाम्रो छड्के प्रश्नमा उनले आफ्नो परिचित मुस्कानसहित भने, ‘सधैँ जवान रहन त कसरी पाइएला र ? तर, धार्मिक गीतलाई वृद्धहरूले मात्र सुन्नुपर्ने या बूढाहरूले मात्र गाउनुपर्नेजस्तो चाहिँ मलाई लाग्दैन ।’

नारायणगोपालबाट प्रभावित र प्रेरित रहेको बताउने प्रमोद सङ्गीतकारहरू गोपाल योञ्जन, नरेन्द्र प्यासी र शम्भुजित बास्कोटाप्रति बेग्लै सम्मानभाव प्रकट गर्दछन् । आफूलाई सबैभन्दा माया आमाको लाग्ने बताइरहँदा प्रमोदका आँखा भारी बन्दै गरेको देखियो, उनले दुई वर्षअघि नै आफ्नी आमा गुमाइसकेका छन् । आमालाई प्रमोद आमा नभनी ‘गुरुदेव’ शब्दले सम्बोधन गर्ने गर्दथे । भन्छन्, ‘म आमालाई गुरुदेव भनेर बोलाउँथेँ र अहिले पनि हरदिन हरक्षण म मेरो गुरुदेवलाई सम्झिरहेको हुन्छु । उहाँको काया यो धर्तीमा छैन, तर सबैभन्दा बढी माया म मेरो गुरुदेवलाई नै गरिरहन्छु ।’

तपाईं आफ्नी आमा अर्थात् गुरुदेवलाई सबभन्दा बढी माया गर्नुहुँदोरहेछ, अनि सबैभन्दा घृणाचाहिँ कसलाई गर्नुहुन्छ नि भन्ने हाम्रो जिज्ञाशामा प्रमोद भन्छन्, ‘आफ्नो धर्म, संस्कार, संस्कृति र सभ्यता छोडेर अन्तै लहसिनेहरू सबैभन्दा घृणायोग्य हुन्छन् भन्ने मेरो मान्यता छ ।’

० राजनीतिमा चाहिँ कहिल्यै रुचि जागेन ?
– मलाई राजनीतिप्रति कहिल्यै रुचि जागेन । बुबा (किरणप्रसाद पाण्डे) राजनीतिमा हुनुहुन्थ्यो । उहाँले धेरै दुःख र त्याग गर्नुभएको हो, तर मलाई राजनीति सत्जन र इमानदारहरूले गर्ने कर्मजस्तो लागेन । यो त धूर्तहरूको खेलजस्तो पो लाग्यो मलाई ।

० देशमा ठूलो राजनीतिक परिवर्तन भयो, यसलाई पनि तपाईंले सकारात्मक रूपमा लिनुभएको छैन ?
– परिवर्तन विकास र आर्थिक समृद्धिका निम्ति हुनुपर्ने हो, तर यो धर्म र संस्कृति बदल्नका निम्ति भएको हो कि जस्तो पो लाग्दै छ मलाई ।

प्रमोदलाई धर्म–संस्कृतिप्रति भइरहेको आक्रमणले चिन्तित तुल्याएको छ । सनातनी धर्म, संस्कृति र परम्पराको संरक्षण होस् भनेर उनले चार वर्षअघि मनकामना माईको मन्दिरमा पुगी गीतमार्फत धर्म–संस्कृति संरक्षण गरिदिन आग्रहसमेत गरेका थिए ।

सुनौँ गायक प्रमोदद्वारा गाइएका गीतमध्येका लोकप्रिय गीत र भजन-

जिन्दगीले कहाँ…
https://www.youtube.com/watch?v=qnLoNbG3Ouo

‘धर्म त्यहाँ छ जहाँ मातापिताको सेवा छ’
https://www.youtube.com/watch?v=7hWSl1c_10w