धीरेन्द्रलाई अगाडि उभ्याए मात्रै छोरीले नागरिकता पाउने !

धीरेन्द्रलाई अगाडि उभ्याए मात्रै छोरीले नागरिकता पाउने !


तत्कालीन अधिराजकुमार धीरेन्द्र शाहकी छोरी श्रेया शाहलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्न काठमाडौं महानगरपालिकाका वडाध्यक्ष बाधक बनेको पाइएको छ । काठमाडौं महानगरपालिका– ३ का वडाध्यक्ष दीपक केसी श्रेयालाई नागरिकताको लागि सिफारिस नगर्ने दृढ अडानमा देखिएका छन् । केही समयअघि धीरेन्द्रपत्नी जया पाण्डे शाह छोरी श्रेयाको नागरिकताको लागि सिफारिस लिन जाँदा उनले अपमानजनक व्यवहार गरी फर्काइदिएको बुझिएको छ ।

एक नेपालीले नागरिकता पाउन जनप्रतिनिधि नै बाधक बनेको जानकारी प्राप्त भएपछि वास्तविकता बुझ्न मंगलबार बिहान घटना र विचारले वडाध्यक्ष दीपक केसीको फोन नं. ९८५१०४१६३९ मा सम्पर्क गरेको थियो । श्रेयाको नागरिकताका विषयमा के भएको हो भन्ने हाम्रो जिज्ञासाको जवाफ दिँदै वडाध्यक्ष केसीले भने, ‘छोरीले बाउ खोज्नुभन्दा पहिला आमाले पोइ खोज्नुपऱ्यो । नेपालको कानुन यहाँहरूले पनि पढ्नुपऱ्यो, लोग्ने नभई मैले कसरी नागरिकता दिने ?’
त्रिवि शिक्षण अस्पतालमा जन्मिएको जन्म प्रमाणपत्रमा बाबुको नाम धीरेन्द्रवीरविक्रम शाह छ, त्यसबाट उनी तत्कालीन अधिराजकुमार धीरेन्द्रकी छोरी भएको स्पष्ट हुन्न र भन्ने प्रश्नमा केसीले ‘कस–कसले कहाँ छोराछोरी पाउँदै हिँड्छन्, नागरिकता त्यति सजिलै पाइन्छ ?’ भनी प्रतिप्रश्न गरे । श्रेयाकी आमा जयाले धीरेन्द्र आफ्ना पति हुन् भनेर अगाडि उभ्याएपछि मात्र आफूले नागरिकता दिने पनि उनले बताए ।

वडाध्यक्ष दीपक केसीले नागरिकताको लागि सिफारिस गर्न आनाकानी गर्दै आएका छन् । धीरेन्द्रको प्रेक्षातर्फकी छोरीहरूसँग केसीको निकट सम्बन्ध रहेको र उनीहरूको आग्रहलाई शिरोधार्य गर्दै केसीले श्रेया शाहलाई नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गर्न आनाकानी गरेका हुन् ।

दीपक केसी नेकपा एमालेको तर्फबाट विजयी वडाध्यक्ष हुन् । उनका बाबु गजेन्द्र केसी पनि पहिले सोही वडाका वडाध्यक्ष थिए । बाबुका प्रभावले चुनाव जितेका प्रतिनिधिका रूपमा चिनिने उनी सार्वजनिक जग्गा मिच्ने कारोबारीहरूसँग निकटतम व्यक्तिका रूपमा पनि चर्चित छन । श्रेयाको मुद्दामा साथीभाइसँग कुरा गर्दा भने उनले ‘अन्य सर्वसाधारणलाई भए यति प्रमाण भए पुगिहाल्थ्यो, म सिफारिस गर्थेँ, तर यो मुद्दामा चाहिँ म गर्दिनँ’ भन्दै आएका छन् । नयाँ नेपालको नियममा नागरिकताका लागि सम्बन्धित वडाले सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

ज्ञातव्य छ, प्रेक्षा शाहसँग सम्बन्धविच्छेद भएपछि वि.सं. २०४४ सालमा अधिराजकुमार धीरेन्द्रले दक्षिणकाली मन्दिरमा गई बत्तीसपुतलीकी जया पाण्डेसँग विवाह गरेका थिए । २०४५ साल असार २ गते शिक्षण अस्पताल महाराजगन्जमा श्रेया शाहको जन्म भएको थियो । धीरेन्द्र र जयाको विवाह दर्ता नभएको र धीरेन्द्रको नागरिकता उपलब्ध नभएको भन्ने कुरालाई आधार बनाउँदै वडाध्यक्ष दीपक केसीले नागरिकताको लागि सिफारिस गर्न आनाकानी गर्दै आएका छन् । एक सूत्रले जनाएअनुसार धीरेन्द्रको प्रेक्षातर्फकी छोरीहरूसँग दीपक केसीको निकट सम्बन्ध रहेको र उनीहरूको आग्रहलाई शिरोधार्य गर्दै केसीले श्रेया शाहलाई नागरिकताको प्रमाणपत्रका लागि सिफारिस गर्न आनाकानी गरेका हुन् । त्रिवि शिक्षण अस्पतालबाट प्राप्त जन्म प्रमाणपत्रमा श्रेयाको पिताको नाम धीरेन्द्रवीरविक्रम शाह भनी उल्लेख भएको छ र उनले प्रारम्भिक शिक्षा हासिल गरेको रातो बङ्गला स्कुलले उपलब्ध गराएको दस्तावेजबाट पनि श्रेया धीरेन्द्र शाह र जया पाण्डे शाहको छोरी भएको स्पष्ट हुन्छ ।

कुख्यात चक्रे मिलनको ‘व्यावसायिक साझेदार’समेत रहेका दीपक केसीको पूर्वयुवराज पारससँग पनि निकटको सम्बन्ध रहेको बताइन्छ । अमेरिकी राजदूतावासको विपरीततर्फ सुकुम्बासी बस्तीसँगै बसोवास गर्ने दीपकले चक्रे मिलनलगायतसँग मिलेर कुष्ठरोगीहरूको उपचारको लागि व्यवस्था गरिएको स्थान कब्जा गरी व्यापारिक प्रयोजनले पार्टी प्यालेस सञ्चालन गरिरहेका छन् ।

यो पनि हेर्नुहोस्-
अधिराजकुमार धीरेन्द्रकी पुत्री भन्छिन्- ‘नेपाली बन्न खोज्दा धेरै दुःख पाइयो’
https://www.ghatanarabichar.com/97916