एमालेलाई घिसार्दै अघि बढे झलनाथ

एमालेलाई घिसार्दै अघि बढे झलनाथ


अध्यक्षता एमालेको, निर्देशन माओवादीको
पार्टी निर्णयविपरीत मन्त्रीहरूको कार्यविभाजन गरिएपछि नेकपा एमालेको आन्तरिक विवाद अरू गहिरिने सङ्केत देखिएका छन् । प्रधानमन्त्री झलनाथ खनालले जालझेलपूर्ण तरिकाले विष्णु पौडेललाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएको आरोप एमालेका नेताहरूले लगाएका छन् । गत सोमबार पार्टीका केही प्रभावशाली नेताहरू काठमाडौंमा नभएको मौका पारेर झलनाथ खनालले एमाले स्थायी समितिको बैठक राख्नुभएको र सो बैठकमा सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हारि्दक श्रद्धाञ्जली अर्पण गर्ने मात्र निर्णय भएकोमा बैठकको निर्णय भन्दै विष्णु पौडेललाई रक्षामन्त्री बनाइएपछि खनालमाथि जालझेल गरेको आरोप लागेको हो । प्राप्त जानकारीअनुसार सोमबार (फागुन २३) को बैठकमा माधव नेपाल, केपी ओली, विद्या भण्डारी र अशोक राई उपस्थित हुनुहुन्थेन र बैठकमा मन्त्रिमण्डलबारे सामान्य छलफल भए पनि कुनै निर्णय भएको थिएन । यसअघि एमाले स्थायी समितिको पूर्ण बैठकले माओवादीलाई सुरक्षासम्बन्धी कुनै पनि मन्त्रालय दिन नहुने ठहर गर्दै विष्णु पौडेललाई गृहमन्त्री बनाउन प्रधानमन्त्री झलनाथ खनाललाई निर्देशन दिएको थियो । जनविद्रोहको तयारीमा रहेका माओवादीले लोकतन्त्र पक्षधर मानिएका विष्णु पौडेलको हातमा गृह मन्त्रालय रहँदा असहज परिस्थिति सिर्जना हुने र माओवादीका निम्ति अनिष्ट पनि हुनसक्ने ठहर गरी पौडेललाई पन्छाउन झलनाथमाथि दबाब दिँदै आएको थियो । त्यसो त झलनाथ स्वयम् पनि गृहमन्त्रीमा पौडेललाई राख्न चाहनुहुन्नथ्यो । उहाँ माओवादीलाई गृह दिन मञ्जुर हुनुहुन्छ र कारणबस माओवादीलाई गृह मन्त्रालय दिनै नसकिने अवस्था आएमा आफ्नो विश्वासप्राप्तलाई उक्त जिम्मेवारी सुम्पन्न चाहनुहुन्छ भन्ने खनालका निकटवर्तीहरूको भनाइ छ ।
सात महिनाको नाङ्गो तर अथक प्रयासपछि प्रधानमन्त्री बन्न सफल झलनाथ खनाल आफ्नो पार्टी एमालेभन्दा माओवादीप्रति विश्वस्त हुनुहुन्छ । प्रचण्डको सल्लाह र निर्देशनअनुरूप चल्न प्रतिबद्ध उहाँले मन्त्रिमण्डललाई पूर्णता दिने सवालमा पनि प्रचण्डको भावनालाई उच्च महत्त्व दिने प्रयास गर्नुभएको बताइन्छ । प्रचण्डले पनि झलनाथलाई बलियो बनाउन भित्रभित्रै निकै सक्रियता दर्शाउनुभएको छ । मधेसकेन्द्रित दलहरूमध्येबाट सरकारमा सामेल गराउन प्रचण्डले उपेन्द्र यादवसँग अनेकौँ चरणमा वार्तालाप गर्नुभएको छ । मंगलबार साँझ? फागुन २४ गते) पनि प्रचण्डले उपेन्द्र यादवसँग विशेष वार्तालाप गर्नुभयो । प्रचण्डसँगको वार्तापश्चात् यादव अत्यन्त उत्साही हुनुभएको छ र उहाँलाई उपप्रधानमन्त्रीसहित आवास तथा भौतिक, परराष्ट्र या ऊर्जामध्ये कुनै पनि मन्त्रालय दिन आफूहरू तयार भएको विश्वास प्रचण्डले भेटका अवसरमा दिलाउनुभएको थियो । यादव माओवादी-झलनाथ गठबन्धनमा सामेल हुन हतारिएपछि मधेसी जनअधिकार फोरमभित्र विवाद र तनाव उत्पन्न भएको छ । प्रभावशाली नेता जयप्रकाश गुप्ता पार्टीको प्रतिष्ठामा धक्का पुग्ने गरी सरकारमा नजाने अडानमा हुनुहुन्छ, तर उपेन्द्र भने पार्टी विभाजन नै हुन्छ भने पनि अब सरकारमा जानबाट नरोकिने अवस्थामा देखिनुहुन्छ । यादवलाई सरकारप्रति यति सकारात्मक बनाउनमा प्रचण्डको विशेष योगदान रहेको खनालको ठहर छ । आफ्नो पार्टीका ठूलाठूला नेताहरूचाहिँ असहयोगको वातावरण बनाउन सक्रिय रहेको ठान्नुहुने झलनाथ खनाल प्रचण्डको सक्रिय भूमिकाबाट प्रसन्न हुनुभएको छ र उहाँले यसबीचमा प्रचण्डसँगको हिमचिम निकै बढाउनुभएको छ । खनाल र प्रचण्डबीच बढ्दो घनिष्टताले एमाले र लोकतन्त्रलाई चरम सङ्कटमा पुर्‍याउन सक्ने एमाले नेताहरूले ठानेका छन् । माधव नेपाल, केपी ओलीर्,र् इश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु पौडेललगायतका नेताहरू गत शुक्रबार? फागुन २० गते) माधव नेपालको निवासस्थान कोटेश्वरमा विशेष बैठक गरी यस्तै निष्कर्षमा पुगेका थिए । उक्त बैठकका सहभागीहरूले झलनाथ खनाल पार्टीलाई माओवादीमा विलय गराउने हदसम्म जाने भएकोले त्यसलाई रोक्न के गर्ने भन्ने विषयमा पनि छलफल गरेका थिए । झलनाथ लोकतन्त्र र पार्टीहितविरुद्ध अघि बढेमा प्रधानमन्त्री पदबाट राजीनामा माग्नुपर्ने कुरा पनि बैठकमा उठेको थियो । बैठकमा खनालको भूमिकाप्रति चिन्ता प्रकट गर्दै विष्णु पौडेललाई गृहमन्त्री नबनाइएमा पौडेलले अस्वीकार गर्ने र पार्टी निर्णयविरुद्ध गएको अपराधमा खनालविरुद्धको कारबाहीलाई जोडदार रूपमा अघि बढाउनुपर्ने राय पनि नेताहरूले प्रकट गरेका थिए । तर, एमालेका वरिष्ठ नेताहरूले यसरी छलफल गरेको ठीक तीन दिनपछि झलनाथ खनालले पार्टी निर्णयको विपरीत विष्णु पौडेललाई रक्षामन्त्री बनाइदिनुभएको छ । भनिन्छ, खनालले पौडेलको अनुमति लिएर नै उहाँलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । तर, मन्त्रालयको जिम्मेवारी निर्धारण गरिएका दिन (गत सोमबार) अर्का मन्त्री गंगालाल तुलाधरले राति नै मन्त्रालय पुगेर पदबहाली गर्नुभएको थियो भने पौडेलचाहिँ जानुभएन । पौडेलले पार्टीका वरिष्ठ नेताहरूसँगको छलफलपश्चात् मात्र ‘रक्षा मन्त्रालय’का बारेमा निर्णय लिने इच्छा राख्नुभएको बताइन्छ । भनिन्छ, उहाँ आफू व्यक्तिगत रूपमा चाहिँ रक्षामन्त्री स्वीकार गर्ने पक्षमा हुनुहुन्छ, तर त्यसो गर्दा धोकाधडी गरेको देखिने र झलनाथ खनाललाई माओवादी बन्नबाट जोगाउन पनि नसकिने भएकोले मात्र पौडेल केही हच्किनुभएको बताइन्छ । पार्टीको निर्णय र भावनाविपरीत विष्णु पौडेलले गृहबाहेक अरू कुनै मन्त्रालय स्वीकार गर्ने सङ्केत मात्र दिनुहोला भन्ने माधव नेपाल र केपी ओलीलगायतका नेताहरूले सोच्नुसम्म पनि भएको थिएन । नेताद्वयको अनुपस्थितिमा नै पौडेलले विद्रोह गर्दै मन्त्री पदबाट राजीनामा गरेर झलनाथलाई चुनौती दिनुहोला भन्ने अपेक्षा पार्टी नेताहरूले गरेका थिए । तर, उहाँले त्यसो गर्न आवश्यक ठान्नुभएन । बरु ‘कति झगडा गर्नु’ भन्दै झलनाथसमक्ष आत्मसमर्पण गर्ने मानसिकता देखाउनुभयो । पौडेलको यस्तो व्यवहारले माधव-ओली पक्षलाई गम्भीर चोट पुर्‍याएको छ । पौडेल नेताहरूसँग छलफल गरेर मात्र निर्णय लिन इच्छुक देखिनुलाई चाहिँ कतिपयले सकारात्मक मानेका छन् । तर, विष्णु पौडेलजस्ता नेता पनि पदका लागि सिद्धान्तच्युत भए भने त्यसले पौडेलको व्यक्तित्वलाई घटाउने मात्र होइन, एमाले पार्टी नै लोकतान्त्रिक मूल्य-मान्यताबाट च्युत हुनसक्ने या पार्टीको आन्तरिक विवाद गहिरो बनाउनसक्ने देखिन्छ । पौडेलले रक्षा स्वीकार गरेको र नगरेको दुवै अवस्थामा एमालेभित्रको विवाद अरू गहिरिने देखिएको छ । लोकतन्त्र कि सर्वहाराको अधिनायकवाद भन्ने प्रश्नमा उत्पन्न विवाद अन्तत: एमालेबाट झलनाथ खनाल चोइटिएपछि मात्र समाप्त हुने सम्भावना छ ।

फ्रान्स जान रोकिएका किशुनजीलाई खुलामञ्चमा जान पनि रोकिएको थियो
पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको दबाब झेल्नै नसक्नेगरी बढेपछि कृष्णप्रसाद भट्टराईले २०५६ चैत ४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको स्मरण हामीमध्ये धेरैले गरेका छौँ, तर राजीनामा दिनुअघि भट्टराईले कोइरालासँग भिड्नेबारेमा पनि विचार गर्नुभएकोचाहिँ धेरै कमलाई मात्र थाहा छ । २०५६ को मङ्सिरमा तात्कालिक शाही नेपाल वायुसेवा निगमले दुईवटा विमान खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरी पर्यटन मन्त्रालयमा सिफारिस गरेपछि गिरिजाप्रसाद कोइरालाले भट्टराईको राजीनामा सार्वजनिक रूपमै माग्नुभएको थियो । कोइरालाले राजीनामा माग्नुभएको भोलिपल्ट भट्टराई प्रधानमन्त्रीका रूपमा पर्यटन मन्त्रालयको निरीक्षण भ्रमणमा जानुभयो र त्यहाँ उहाँले भन्नुभयो, ‘विमान खरिद-प्रक्रिया पारदर्शी तुल्याइनेछ र कमिशन आएमा त्यो राज्यकोषमा दाखिला हुनेछ ।’ त्यसबेला पर्यटनमन्त्री हुनुहुन्थ्यो- विजयकुमार गच्छदार । कोइरालाले राजीनामा माग्नुको कारण विमान खरिद गर्ने निर्णय नै हुनुपर्छ भन्ने ठम्याई भट्टराईको थियो र उहाँले राजीनामा मागेको जवाफ विमान खरिद गरेबापतको कमिशन राज्यकोषमा दाखिला गर्ने भनी कोइरालालाई दिनुभएको थियो । गिरिजाप्रसाद कोइरालाले मागेकै कारण भट्टराई राजीनामा दिने पक्षमा नरहनुभएपछि उहाँविरुद्ध पार्टी (काङ्ग्रेस) बाट नै अनेक खेल सुरु भए । अनेकौँ दबाब र तनाव दिँदा पनि पदत्याग गर्ने निष्कर्षमा भट्टराई नपुग्नुभएपछि कोइरालाले काङ्ग्रेस संसदीय दलमा भट्टराईविरुद्ध अविश्वास प्रस्ताव गरेर बलजफ्ती पदमुक्त गर्ने/गराउने षड्यन्त्र गर्नुभयो । त्यस्तो प्रयासलाई पनि किशुनजीले झेल्दै आउनुभएको थियो, तर अन्त्यमा आफ्नै मन्त्रिमण्डलका केही सदस्यहरू नै राजीनामा गरेर कोइरालाको पक्षमा लागेपछि भट्टराईले केही असहज महसुस गर्नुभएको थियो । उहाँले आफू फ्रान्स भ्रमणमा जाने र त्यहाँबाट फर्किएपछि राजीनामा दिने इच्छा गिरिजाप्रसादसमक्ष प्रकट गर्नुभयो । तर, कोइरालाले दुई साता पनि नकुर्ने बताएपछि भट्टराई द्विविधामा पर्नुभयो । गिरिजाप्रसादसँग पदमा रहेर भिड्ने या पद छोडेर भन्ने दुई विकल्पमध्ये पद नछोडीकन भिड्नुपर्छ भन्ने शुभचिन्तक एवम् सल्लाहकारहरूको सुझावलाई दृष्टिगत गरी भट्टराईले चैत ६ गते (२०५६) दिउँसो टुँडिखेल खुलामञ्चमा एक विशाल जनसभाको आयोजना गर्ने र आफ्ना कुराहरू जनतासमक्ष राख्ने निर्णय लिनुभयो । भट्टराईको यस्तो निर्णय सरकारी सञ्चारमाध्यमहरूमा पनि पठाइयो । तर, उक्त सन्देश सार्वजनिक हुनु अगावै तात्कालिक सञ्चारमन्त्री रामचन्द्र पौडेलले प्रकाशन/प्रसारण गर्न रोग लगाइदिनुभयो । राष्ट्रिय समाचार समितिका तात्कालिक प्रमुखलाई टेलिफोन गरी पौडेलले मन्त्रीका हैसियतमा ‘त्यहाँ किशुनजीको कार्यक्रमसम्बन्धी कुनै समाचार आए-नआएकोबारे’ सोध्नुभयो, त्यसपछि उक्त समाचार रोक्न निर्देशन दिनुभयो । भनिन्छ, रामचन्द्र पौडेलगायतका नेताहरू नै किशुनजीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनुभन्दा राजीनामा दिनु उचित हुन्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । आफ्ना भनिएकाहरूबाट समेत बलियो साथ प्राप्त हुने नदेखिएपछि संसद्लाई सम्बोधन गरी राजीनामा दिने निर्णयमा कृष्णप्रसाद भट्टराई पुग्नुभएको थियो । त्यसबेला भट्टराईका विरुद्ध राजा वीरेन्द्र सक्रिय हुनुभएको थियो भने नेपाली राजनीतिमा प्रभाव राख्ने केही मुलुकहरू पनि उहाँको पक्षमा नरहेको बुझिन्थ्यो । एउटा राष्ट्रवादी र शुद्ध प्रजातन्त्रवादी नेता हुनुको पीडा व्यहोर्दै भट्टराईले प्रधानमन्त्री पदबाट राजीनामा गर्नुभयो । त्यसपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभएको थियो । २०५६ वैशाखमा आमनिर्वाचन हुनुअघि पार्टी सभापतिसमेत रहनुभएका गिरिजाप्रसाद कोइरालाले ‘भावी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई’ भनी घोषणा गर्नुभएको थियो । निर्वाचनमा भट्टराईकै नाममा मत माग्ने काम भएको पनि हो, तर प्रधानमन्त्री भएको सातौँ महिनामा भट्टराईसँग राजीनामा मागेका कोइरालाले एघारौँ महिनामा उहाँलाई पदत्याग गर्न बाध्य तुल्याउनुभयो । पार्टी एकतामा आँच नपुगोस् भन्ने हेतुले भट्टराईबाट पदमा अल्झिनुभन्दा राजीनामा दिनु नै उपयुक्त हुने निर्णय भयो । पद प्राप्त गर्न र टिकाउन जेसुकै हथकण्डा पनि अपनाउने परम्परा बसिसकेको देश नेपालमा भट्टराई त्यतापटि्ट लाग्नुभएन, बरु त्याग गरेर गिरिजाप्रसादले अन्तिम लक्ष्य बनाउनुभएको प्रधानमन्त्री पदलाई नै होच्याइदिनुभयो, यसबाट पनि भट्टराईको महानता महसुस गर्न सकिन्छ ।

देहावसानअघि तीनै नेता टाढिए किन?
जननायक बीपी कोइरालाका उत्तराधिकारी तीन नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले जीवनको अन्तिम अवस्थामा काङ्ग्रेस पार्टीसँग दूरी कायम गर्नुलाई अनौठो संयोग मानिएको छ । ०४६ को प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग मनमुटाव पैदा भएपछि कोइरालाको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाउँदै सिंहले काङ्ग्रेस परित्याग गरेको घोषणा गर्नुभएको थियो । काङ्ग्रेसमा जीवन समर्पण गर्नुभएका गणेशमान सिंहले काङ्ग्रेस पार्टीप्रति तीव्र असन्तुष्टि र मतभेदका बीच देहत्याग गर्नुभएको थियो । संस्थापक नेता कृष्णप्रसाद भट्टराईले पनि देहत्याग गर्नुअघि आफू काङ्ग्रेस पार्टीबाट अलग्गिएको घोषणा गर्नुभएको थियो । काङ्ग्रेसले बीपी कोइरालाको विचार-दर्शन परित्याग गरी बाटो बिराएको, कम्युनिस्टहरूको लहलहैमा लागि संवैधानिक राजतन्त्रसहितको लोकतान्त्रिक व्यवस्था छोडेर गणतन्त्रको पक्षमा लागेको, निष्ठाको राजनीतिबाट काङ्ग्रेसका नेताहरू च्यूत हुँदै गएकोजस्ता कारण देखाउँदै भट्टराईले आफूलाई काङ्ग्रेसबाट अलग्याउनुभएको थियो । २०४७ सालको प्रजातान्त्रिक संविधानलाई विस्थापित गर्न काङ्ग्रेससमेत संलग्न हुनुलाई भट्टराईले अत्यन्त आपत्तिजनक मान्दै त्यसलाई गम्भीर गल्तीका रूपमा लिनुभएको थियो । वास्तवमा नेपाली काङ्ग्रेसले बाटो बिराएपछि त्यसलाई सच्याउन प्रयास गर्दा नसकिएकोले भट्टराई काङ्ग्रेसको मूल्य-मान्यतासहित पार्टीबाट अलग्गिनुभएको थियो । तर, गिरिजाप्रसाद कोइरालाको भने कुरा बेग्लै छ । कोइराला काङ्ग्रेस पार्टीको सभापति पदमा कायम रहेर नै मर्नुभयो, उहाँले पार्टी परित्याग गरेको घोषणा पनि गर्नुभएन । तर, पार्टी त्यागेको भन्दा पनि खतरनाक र काङ्ग्रेस पार्टीलाई दूरगामी रूपमा असर पर्ने भूमिका उहाँले निर्वाह गर्नुभयो । देशको संविधान निर्माण गर्न संविधानसभा गठनका लागि निर्वाचन हुँदै थियो, गिरिजाप्रसाद कोइरालाले ऐतिहासिक महत्त्वको उक्त निर्वाचनमा आफू कुनै पार्टीविशेषको नेता नभएको बताउँदै काङ्ग्रेसको पक्षमा चुनाव प्रचार गर्न चाहनुभएन । प्रथम राष्ट्रपति बनाइदिने माओवादीको प्रलोभनमा उहाँ पर्नुभएको थियो र त्यसताक उहाँले आफूलाई माओवादीको समेत नेता ठान्न थाल्नुभएको थियो । त्यसैले कोइरालाले काङ्ग्रेसको पक्षमा सहयोग पुग्नेगरी कुनै गतिविधि गर्नुभएन, जे-जति गर्नुभयो माओवादीकै लागि गर्नुभयो । तर, रोचक के भने काम माओवादीका पक्षमा गरिरहँदा पनि उहाँले काङ्ग्रेस पार्टीको सभापति पदचाहिँ छोड्नुभएन । संसद्बाट गणतन्त्र घोषणा गराएर प्रथम राष्ट्रपति बन्न ठिक्क परेर बस्नुभएका कोइराला त्यतिबेला चित खानुभयो जब माओवादी राजारामप्रसाद सिंहलाई बोकेर राष्ट्रपति निर्वाचनको मैदानमा आयो । माओवादीबाट धोखा पाएपछि गिरिजाप्रसादले काङ्ग्रेसको नाम त लिन थाल्नुभएको थियो । तर, त्यसबेलासम्म पार्टी र प्रजातन्त्र नराम्रोसँग सङ्कटमा परिसकेको थियो । पार्टीको सभापति पद नछाडीकन काङ्ग्रेसबाट अलग्गिँदाको पीडाका बीचमै कोइरालाको इहलीला समाप्त भएको हो । स्मरणीय छ, सर्वोच्च नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईले गिरिजाप्रसाद कोइरालाका कारण काङ्ग्रेसबाट अलग्गिनुपरेको थियो भने कोइराला स्वयम्चाहिँ माओवादीको प्रलोभनमा परेर राष्ट्रपति पद प्राप्त गर्ने आशामा काङ्ग्रेसबाट टाढिनुभएको थियो ।

यसरी जाहेर गरे राजाले चिन्ता
पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्वास्थ्यस्थितिलाई लिएर हरक्षण चिन्तित पूर्वराजा ज्ञानेन्द्रले उहाँको अन्तिम दर्शन गर्न भने पाउनुभएन । नेता भट्टराई अस्पतालमा रहँदा निरन्तर सर्म्पर्कमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र भट्टराईको निधनमा अति दु:खी हुनुभएको स्रोतले बताएको छ । प्राप्त जानकारीअनुसार भट्टराईको निधन हुनु तीन दिनअघि पूर्वयुवराज पारस उहाँको स्वास्थ्यस्थिति बुझन नरि्भक अस्पताल पुग्नुभएको थियो । अस्पतालमा उहाँले भट्टराईकी सहयोगी अमिता कपाली र चिकित्सकहरूसँग जति खर्च लागे पनि आफूले व्यहोर्ने जानकारी दिँदै जहाँ लगेर हुन्छ उपचार गर्न अनुरोध गर्नुभएको थियो । चिकित्सकहरूले पूर्वयुवराजसँग आफूहरूले सकेसम्म कोसिस गरिरहेकोे र विदेश लैजान सक्ने अवस्था नरहेको बताएका थिए । स्मरणीय छ, पूर्वयुवराज पारस हृदयाघात भई नरि्भक अस्पताल भर्ना हुनुभएका बेला नेता कृष्णप्रसाद भट्टराई पूर्वयुवराजलाई हेर्न नरि्भक पुग्नुभएको थियो । त्यतिबेला उहाँले युवराज पारसलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्नुभएको थियो । त्यतिबेला भट्टराईले र्’हर्ट एट्याक्ट हुने कुनै उमेर हो यो? ‘ भन्दा पारस मुस्कुराउनुभएको थियो । स्वास्थ्यस्थिति बुझिसकेपछि भट्टराईले केहीबेर हसिमजाक गर्नुभएको थियो । बिरामीलाई हेर्न जाँदा अँध्यारो मुख लगाउनुहुन्न भन्ने उहाँको मान्यता थियो । त्यसो गरे बिरामीको आत्मबल घट्छ भन्ने गर्नुहुन्थ्यो उहाँ ।
प्राप्त जानकारीअनुसार नेता भट्टराई अस्पतालमा रहुञ्जेल पूर्वराजा ज्ञानेन्द्रले प्रत्येक दिनजसो उहाँकी सहयोगी अमता कपालीलाई टेलिफोन गरेर स्वास्थ्यको जानकारी लिने गर्नुभएको थियो । यसका अलावा राजाका निजी सचिव पशुपतिभक्त महर्जन दिनको एकपल्ट अस्पताल पुगेर स्वास्थ्यस्थिति बुझेर राजामा जाहेर गर्नुहुन्थ्यो । उहाँको देहान्तपछि किशुनजीको निवास बाँडेगाउँ जानका लागि पूर्वराजाले तयारी गर्नुभएको थियो तर पछि दशरथ रंगशाला जाने भन्ने निर्णय भयो । अन्तत: सुरक्षाको कारण देखाएर उहाँलाई रंगशाला गई भट्टराईलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने अवसर पनि दिइएन । राष्ट्रपति त्यहाँ जाने भएकोले पूर्वराजालाई श्रद्धाञ्जली दिन जानबाट रोकिएको बुझिएको छ । पछि राजाको सट्टा पशुपतिभक्त महर्जन नै रंगशाला पुगेर पूर्वराजा र राजपरिवारका तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । आफ्ना निकटवर्तीहरूसँग देशले एउटा सच्चा देशभक्त गुमाएको भनी राजाले दु:ख व्यक्त गर्नुभएको थियो ।
सन्तनेता कृष्णप्रसाद भट्टराईले नेपाली काङ्ग्रेसले राजसंस्था हटाउने माओवादी एजेण्डालाई अनुमोदन गरेपछि पार्टीको साधारण सदस्यबाट समेत राजीनामा गर्नुभएको थियो । वैदेशिक हस्तक्षेपबाट मुलुकलाई मुक्त गर्न राजसंस्थाको आवश्यकता रहेको अभिव्यक्ति उहाँले पटकपटक दिनुभएको थियो । संविधानसभामार्फत संविधान नबनी सभाको म्याद थप्न लागेपछि २०४७ सालको संविधानलाई नै ब्युँताएर मुलुक सञ्चालन गर्नुपर्ने धारणा उहाँले राख्नुभएको थियो ।

चार सङ्गठनका लडाकु एकै दलमा
आंशिक सत्तामा सहभागी हुँदै सम्पूर्ण सत्ताप्राप्तिका लागि जनविद्रोहको तयारीमा रहेको माओवादीले ‘जनस्वयम्सेवक दल’ नामक नयाँ लडाकु दस्ता खडा गरी प्रशिक्षण सुरु गरेको छ । सैन्य शिविरबाट झिकाइएका र बाहिरएका केही लडाकुहरू, वाईसीएलका कार्यकर्ता, अखिल क्रान्तिकारीमा आबद्ध विद्यार्थी र मजदुरमध्येका अपेक्षाकृत स्वस्थ र लडभिड गर्न सक्ने व्यक्तिहरूलाई समेटेर माओवादीले बेग्लै लडाकु दस्ता खडा गरेको हो । वाईसीएलको छवि बिग्रिएको र लडाकुहरूमध्ये ठूलो सङ्ख्यामा शिविरहरूमै रहेको हुँदा माआवादीले ‘जनविद्रोह’ र पार्टीको अन्य गतिविधिका लागि छुट्टै लडाकु दस्ताको आवश्यकता महसुस गरेको बताइन्छ । जनस्वयम्सेवक दल नामक दस्ता देशको पचहत्तरवटै जिल्लामा निर्माण गर्ने प्रक्रिया सुरु भइसकेको छ
र त्यसनिम्ति मुलुकका विभिन्न भागहरूमा प्रशिक्षण दिने कार्यक्रम पनि धमाधम भइरहेका छन् । ‘शान्ति र संविधान’को नारा दिँदै जनविद्रोहको चेतावनी दिइरहने माआवादीले छुट्टै र सशक्त लडाकु दस्तासमेत निर्माण गरेपछि मुलुकको शान्ति स्थापना प्रक्रिया थप सङ्कटमा पर्ने र नयाँ संविधान पनि नबन्ने सम्भावना बढाएको छ ।

आजाद अगाडि
नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभा जति-जति नजिकिँदै छ नयाँ नेतृत्व चयनका लागि उद्यमीहरूबीच प्रतिस्पर्धा पनि तीव्र हुँदै गएको छ । आगामी चैत २८ र २९ गते सम्पन्न हुन गइरहेको साधारणसभा तथा निर्वाचनबाट मुलुकभरका उद्यमी-व्यवसायीहरूको नेतृत्व हासिल गर्न उद्यमीनेताहरूबीच देखिएको प्रतिस्पर्धामा आजाद श्रेष्ठको पल्ला भारी बन्दै गएको बताइएको छ ।
आगामी अध्यक्षका लागि सबभन्दा पहिला आफूलाई उम्मेदवार घोषणा गरेका आजाद श्रेष्ठको टोली चुनावी भेटघाट तथा छलफलका क्रममा पूर्वाञ्चल भ्रमण सम्पन्न गरी पश्चिमतर्फ लागेको छ । सो क्रममा आजादले प्रस्तुत गरेका कार्यक्रम तथा एजेण्डाहरूलाई स्थानीय व्यवसायी तथा प्रतिनिधिहरूले निकै अभिरुचिपूर्वक सुनेर आत्मसात् गरेको समूहका एक सदस्यले बताए । पूर्वाञ्चल भ्रमणले अध्यक्षका प्रत्याशी आजादको सिङ्गो टिम नै अत्यन्त उत्साहित बनेकोसमेत बताइएको छ ।
यसरी पूर्वबाट हासिल भएको समर्थनको उत्साह बोकेर पश्चिम लागेको आजाद समूहलाई गण्डकी अञ्चलभित्रका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको गत साता सम्पन्न भेलाले पनि दह्रो समर्थन गर्ने निर्णय गरेको छ । महासङ्घका कार्यसमिति सदस्य तथा गण्डकी अञ्चल प्रतिनिधि वृषराज श्रेष्ठको अध्यक्षतामा तनहुँमा भएको भेलाले आगामी निर्वाचनमा आजादलगायत गण्डकी अञ्चलभित्रका उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी तुल्याउन कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ । महासङ्घका वर्तमान अध्यक्ष कुशकुमार जोशी, पूर्वअध्यक्ष आनन्दराज मुल्मी, वरिष्ठ उपाध्यक्ष आजाद श्रेष्ठलगायतका हस्तीहरूको उपस्थितिमा सम्पन्न सो भेलाले गण्डकी अञ्चलभित्र उत्पादन भएको विद्युत् सो अञ्चलभित्र आपूर्ति गरेर बाँकी रहेकोलाई मात्र अन्यत्र सप्लाई गर्न सम्बन्धित निकालाई अनुरोध गर्ने, बैंक तथा वित्तीय संस्थालाई बीचअवधिमै व्याज वृद्धि गर्ने प्रवृत्ति बन्द गर्न अनुरोध गर्नेलगायतका निर्णय गरेको थियो ।
यसैबीच आगामी साधारणसभामा सम्भावित उम्मेदवारका रूपमा चर्चामा रहेका कृष्ण ताम्राकारले पनि आजादलाई समर्थन गर्ने उद्घोष गरेका छन् भने वर्तमान अध्यक्ष कुशकुमार जोशीलगायतका उद्यमी-व्यवसायीको ठूलो समूहले पनि उनलाई समर्थन र सहयोग गरेर आगामी तीनवर्षो कार्यकालका लागि नेतृत्व सुम्पने रणनीति बनाएको छ । आजादसँगको प्रतिस्पर्धामा चण्डी ढकाल समूहले भने सुरज वैद्यलाई अघिसारेको छ । तर, व्यवसायीहरूबीच पैदा भएको माहोलका आधारमा भने उद्यमी-व्यवसायीहरूको आगामी नेताका रूपमा आजाद श्रेष्ठ नै स्थापित हुने निश्चितप्राय: देखिएको छ ।

एमालेका स्थानीय नेतामाथि आक्रमण
नेकपा एमालेका धावा गाउँ पार्टी कमिटीका सचिव मीनप्रसाद सिंखडालाई अज्ञात समूहले छुरा प्रहार गरी घाइते बनाएका छन् । धावा गाविस वडा नं. ४ निवासी सिंखडा गत १८ गते साँझ बाटोमा हिँडिरहेको अवस्थामा आक्रमणको सिकार भएका थिए । गोरखा सदरमुकामबाट घरतर्फ जाँदै गरेका सिंखडामाथि तान्द्राङ गाविसको अर्चले खोलामा अज्ञात समूहले छुरी, चुपी प्रहार गरी आक्रमण गरेको नेकपा एमाले गोरखाले जनाएको छ ।
मरणासन्न हुनेगरी आक्रमण गरेर खोलाको किनारमा फालिएका सिंखडालाई भोलिपल्ट बिहान आठ बजेतिर मात्र गोठालाहरूले फेला पारेका थिए । बाख्रा गोठाला र विद्यार्थीले घ्याम्पेसालबाट एम्बुलेन्स ल्याएर गोरखा अस्पताल पुर्‍याएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि तत्काल काठमाडौं पुर्‍याइएको थियो । उनको न्युरो अस्पतालमा उपचार भइरहेको एमाले गोरखा जिल्ला अध्यक्ष रामशरण बस्नेतले बताए । बस्नेतका अनुसार आक्रमणबाट टाउकोको हाड फुटेको र शरीरभरि चोट रहेकोले सिंखडाको अवस्था नाजुक रहेको छ । घटनास्थलबाट प्रहरीले आक्रमणमा प्रयोग भएको छुरी एकथान, बियरको फुटेको बोतल एकथान, नखोलिएको बियरको बोतल एकथान, पञ्जा एकथान बरामद गरेको छ । घटनामा संलग्न शङ्कास्पद व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक गोरखसिंह भण्डारीले जानकारी दिए ।यता नेकपा एमाले जिल्ला समितिले एक विज्ञप्ति प्रकाशित गरी घटनाको भत्र्सना गरेको छ । जिल्ला उपाध्यक्ष विश्वेश्वर कट्टेलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा छद्मभेषी रूपमा एमाले नेता तथा कार्यकर्तामाथि हुने गरेका यस्त घटनाको निन्दा गरिएको छ साथै तत्काल दोषी पत्ता लगाई कडा कारबाहीको माग गरिएको छ ।

नियम मिच्दै उल्ट्याउँदै कास्कीका जिशिअ
जिल्ला शिक्षा अधिकारीको आवेगपूर्ण निर्णयले एक नेपाली नागरिकले खाइपाई आएको रोजगारीमा कति प्रभाव पार्छ भन्ने पछिल्लो उदाहरण कास्कीमा प्राप्त भएको छ । कास्की जिल्ला शिक्षा अधिकारी वैकुण्ठप्रसाद अर्यालले अघिल्लो वर्ष २०६६ फागुन ५ गतेदेखि लागू हुनेगरी भद्रकाली उमाविकी शिक्षिका दिव्यलक्ष्मी पराजुलीलाई असाधारण बिदा स्वीकृत गर्ने निर्णय गरेकोमा एक वर्षपछि आफैंले उल्ट्याएका छन् । शिक्षा अधिकारी अर्यालले फागुन ९ गते गोप्य निर्णय गरी जिशिका कास्कीको च.नं. १२८८-०६७/११/९ मै ‘गोप्य’ जनाई भद्रकाली उमाविलाई आफैंले गरेको निर्णय उल्ट्याइएको पत्र पठाएका थिए । उता भद्रकाली उमाविका प्राचार्य घनश्याम रिजालले जिशिकाको पत्र प्राप्त भई शिक्षिका दिव्यलक्ष्मीका अभिभावकलाई जनाउ दिइसकेको बताएका छन्, तर त्यस्तो व्यहोराको पत्र लेख्नुको कारणबारे आफूले केही जानकारी नपाएको भन्दै आर्श्चर्य प्रकट गरेका थिए ।
पत्रमा ०६६/१/१५ मा दिव्यलक्ष्मीको नाममा स्वीकृत भएको असाधारण बिदा ऐन-नियमसम्मत नभएकाले निर्णय उल्ट्याई अस्वीकृत गरिएको व्यहोरा जानकारी गरिएको उल्लेख गरेका छन् । शिक्षा ऐन नियमावलीमा स्थायी शिक्षकको हकमा स्थायी भएको मितिले कम्तीमा पाँच वर्ष सेवा गरेपछि मात्र असाधारण बिदा स्वीकृत हुने प्रावधान छ, त्यस्तो बेतलबी? असाधरण) बिदा सेवा अवधिभर एकपटक एक वर्ष नबर्ढाई तीन वर्षसम्म लिन सकिने उल्लेख छ, तर ऐनको प्रावधानलाई समेत पर्वाह नगरी तीन वर्षमै बिदा स्वीकृत गरेका शिक्षा अधिकारी अर्यालले बिदा अवधि सकिएको ४ दिनपछि पूरै बिदा अस्वीकृत भएको आवेगपूर्ण र गोप्य निर्णय गरेका छन् । आफूले उल्ट्याएको गोप्य निर्णय सार्वजनिक हुने डरले भद्रकाली उमाविको फाइल विद्यालय प्रशासनमा नपर्ठाई अर्यालले आफैंसँग राखेको खुल्न आएको छ । विद्यालय प्रशासनका प्रमुखसमेत रहेका निमित्त जिशिअ रमेश पौडेलसँग सर्म्पर्क गरी जिज्ञासा राख्दा पीडित पक्षले जानकारी गराएपछि मात्र आफूले थाहा पाएको र फाइलसमेत विद्यालय प्रशासनमा नरहेको बताए ।
जिल्ला शिक्षा अधिकारीको आफैं निर्णय गर्ने आफैं उल्ट्याउने हल्काफुल्का निर्णयले दिव्यलक्ष्मीको जागिर सङ्कटमा परेको छ । रीतपूर्वक बिदा स्वीकृतिको पत्र बुझेर बाहिर गएको अवस्थामा उल्टिएको निर्णयको अवस्था के हुने र त्यसको नैतिक र कानुनी जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योलता छाएको छ ।
एउटा झुटो लुकाउन सयवटा झुटो बोल्नुपर्ने बाध्यताको सिकार बनेका अर्याल ऐन-कानुनलाई लत्याएर काम गर्न माहिर छन् भन्ने पुष्टि हुँदै गएको छ । माघ १० गते उनले तनहुँको खैरहनी उमाविमा कार्यरत अस्थायी शिक्षिका रंगिता सुवेदीलाई गैरकानुनी निर्णय गराई जिल्लान्तर सरुवा गरेकोमा उक्त विवाद हाल विभाग र क्षेशिनिमा छानबिनकै क्रममा रहेको छ । एउटा गैरकानुनी काम भएको महिना दिन नपुग्दै अर्को विवादास्पद निर्णय हुनुलाई स्वेच्छाचारिताको नमूना नै मान्नुपर्ने अवस्था उब्जिएको छ ।
एक वर्ष पहिलाको निर्णय उल्टाएर आफैं धामी आफैं बोक्सी बनेका जिल्ला शिक्षा अधिकारी अर्यालले एक महिना पहिला माघ १० गते गरेको अनियमित सरुवाको निर्णय उल्ट्याउन भने उनलाई सकस परेको बुझिएको छ । आफ्नै कार्यालयका कर्मचारीकी श्रीमती भएका कारण अर्याललाई अप्ठेरो परेको छ भने क्षेत्रीय शिक्षा निर्देशक बाबुराम पौडेल आफू तनहुँमा जिशिअ हुँदा आफैंले नियुक्ति गरेको शिक्षिका सुवेदीको सरुवा बदर गर्नुपर्ने प्रकृतिको ठहर भए पनि अप्ठेरो महसुस गरिरहेका छन् । दुवै निकायले माथिल्लो तहले बदर गरि्दए हुन्थ्यो भन्दै मुख ताकेर बसेका छन् ।
-यदुनाथ बञ्जारा

प्रमुख फेरिए पनि नम्बर उही
लमजुङमा कार्यालयप्रमुख फेरिने गरे पनि मोबाइल नम्बर भने परिवर्तन नहुने नौलो परम्परा देखिएको छ । कार्यालयप्रमुखहरू सरुवा भएर अन्यत्र गए पनि मोबाइलको सिमकार्ड नलैजाने गरेकाले नयाँ आउने प्रमुखलाई सजिलो हुने गरेको छ । नयाँ आउने प्रमुखको समेत पुरानै नम्बर हुने भएकोले सर्वसाधारणलाई पनि सर्म्पर्क गर्न सजिलो हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, नेपाली सेनाको गण र जिल्ला प्रहरी कार्यालयमा यस्तो परम्परा रहेको छ ।
जिल्ला प्रहरी कार्यालयमा ०६४ यता ६ जना प्रहरी प्रमुख सरुवा भए पनि मोबाइल नम्बर भने पुरानै रहेको छ । सुरुवातका दिनमा लिइएको मोबाइल नम्बर प्रमोद खरेल, शिवहरि बास्कोटा, प्रकाश अधिकारी, कृष्णहरि शर्मा हुँदै हालका प्रनाउ सन्दीप भण्डारीसम्म आइपुगेको छ ।
त्यसैगरी नेपाली सेनाको बेसीसहरस्थित रणबम गणका गणपति नवराज गुरुङले पनि यसअघिका गणपतिले प्रयोग गर्दै आएको नम्बर नै चलाउनुभएको छ । यस्तो चलनले कार्यालयसँगको काममा सजिलो हुने र जिल्लावासीसँगको सम्बन्ध अझै नजिक बनाउने गुरुङले बताउनुभयो ।
भर्खरै सरुवा भएर जिल्ला विकास समिति लमजुङको स्थानीय विकास अधिकारीको जिम्मेवारीमा आउनुभएका उत्तमप्रसाद नागिलाले यसअघिका स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलकै नम्बर प्रयोग गर्दै आउनुभएको छ । नागिलाले पनि यस्तो परम्पराले सर्वसाधारणलाई काममा सजिलो तुल्याएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय लमजुङका प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले पनि यसअघिका प्रजिअ विष्णुप्रसाद पोखरेलले प्रयोग गरेकै नम्बर प्रयोग गरेर परम्परालाई निरन्तरता दिनुभएको छ । प्रमुखहरूले बोकेको सिमकार्ड कार्यालयकै खर्चमा खरिद गरेको कारण पनि सरुवा भएर जाँदा उनीहरूले अन्यत्र लैजाने गरेका छैनन् ।
कार्यालयप्रमुखहरूले कार्यालयसँग सम्बन्धित काम, माथिल्लो निकाय र जिल्लाभित्र पुरानै नम्बर बढी प्रयोग गरे पनि घरायसी, आफन्त र अन्य कामका लागि भने आफ्नै नम्बर प्रयोग गर्ने गरेका छन् । पुरानै नम्बर प्रयोग गर्दा झन्झट र अनावश्यक कलको समेत सामना गर्नुपर्ने कतिपय प्रमुखहरूको भनाइ रहेको छ । जिल्लामा ०६४ सालमा मोबाइल सेवा सुचारु भएपछि थालनी भएको यस्तो परम्परालाई अधिकांश प्रमुखले निरन्तरता दिँदै आएका छन् ।
– छविलाल बगाले

प्रदीपको नेतृत्वमा व्यवसायीहरू र्टर्कीमा
र्टर्कीको इस्तानबुलमा हुने एसिया प्रशान्त उद्योग वाणिज्य महासङ्घको २५औँ सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको छ । द युनियन चेम्बर्स एन्ड कमोडिटी एक्सचेन्ज अफ र्टर्कीको आतिथ्यतामा गत आइतबारदेखि मंगलबारसम्म आयोजना भएको उक्त सम्मेलनको उद्घाटन र्टर्कीका राष्ट्रपति अब्दुल्ला गुललेे एक विशेष समारोहबीच गर्नुभएको थियो ।
नेपाली प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा महासङ्घको ऊर्जा विकास फोरमका सभापति ज्ञानेन्द्रलाल प्रधान, र्सार्क उद्योग वाणिज्य सङ्घका सदस्य एवम् नेपाल आवास तथा जग्गा विकास सङ्घका तृतीय उपाध्यक्ष ओम राजभण्डारी, बागलुङ उद्योग वाणिज्य सङ्घका सहसचिव शशिकपुर श्रेष्ठ, कार्यकारिणी सदस्यहरू कृष्णकुमार श्रेष्ठ, कुमार खड्का, म्याग्दी उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष कृष्णबहादुर खत्री, कार्यसमिति सदस्य नारायणप्रसाद श्रेष्ठ, व्यवसायीहरू कमलप्रसाद श्रेष्ठ र अनुपकुमार श्रेष्ठ हुनुहुन्छ ।
एसिया तथा प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रका ‘क्यासी’का सदस्य उद्योग वाणिज्य महासङ्घ/सङ्घ/संस्थाहरूको सहभागिता रहने उक्त सम्मेलनका क्रममा महासङ्घको प्रतिनिधिमण्डलले नेपालमा लगानी एवम् पर्यटन आकर्षण, नेपालको निर्यात प्रवर्द्धन, आर्थिक सम्बन्ध विस्तार, प्रविधि तथा सूचनाको आदानप्रदान सम्बन्धमा विभिन्न मुलुकका प्रतिनिधिमण्डलसँग विस्तृत छलफल गरेको महासङ्घले जनाएको छ ।

चक्रे मिलनको बायोडाटामा मनाङेको तस्बिर
‘राजधानीको डन’को उपमा पाएका दीपक मनाङे उर्फराजीव गुरुङले आमसञ्चार माध्यममा चक्रे मिलन नामका ‘डन’को बायोडाटामा आफ्नो फोटो राखेर चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाएका छन् । आफूलाई सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीको उपाध्यक्ष रहेकोसमेत दाबी गर्ने मनाङेले सञ्चारकर्मीहरूसँगको भेटमा आफूलाई सञ्चारमाध्यमले अनाहकमा बद्नाम गर्ने प्रयत्न गरेको बताउँदै आफू समाजसेवा र राजनीतिमा संलग्न रहेको जिकिर गरे । केही समयअघि पार्टीका तत्कालीन अध्यक्ष लक्ष्मण थारूलाई अवैध यौन सम्बन्ध राख्दै गरेको अवस्थामा पक्राउ परेको विषयमा पार्टीले गठन गरेको छानबिन समिति ‘आउनुस् शीर्षस्थ नेताज्यूहरू समाजसेवामा !!’ले दोषी देखाएकोले उनलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरी कमल छाराहाङलाई अध्यक्षमा मनोनयन गरिएको जानकारी पनि सो अवसरमा गराइएको थियो । पूर्वअध्यक्ष थारूले पदको अवाञ्छित लाभ उठाएको ठहरसमेत पार्टीद्वारा गठन गरिएको छानबिन समितिले गरेको मनाङेले बताए ।

खाद्य-प्रयोगशाला निर्माणका लागि पाँच करोड अनुदान
नेपाल खाद्य संस्थानका लागि आधुनिक खाद्य प्रयोगशाला निर्माण गर्न मित्रराष्ट्र भारतले चार करोड ९८ लाख अनुदान सहयोग गर्ने भएको छ । नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गर्न लागिएको यस सहयोगसम्बन्धी सम्झौतापत्रमा काठमाडौंस्थित भारतीय राजदूतावास, काठमाडौं जिल्ला विकास समिति तथा नेपाल खाद्य संस्थानबीच गत साता हस्ताक्षर भएको छ । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको सहयोगमा काठमाडौं जिल्लामा सञ्चालित यो सोह्रौँ विकास परियोजना हुनेछ ।
नेपाल सरकारको मातहतमा रहेको नेपाल खाद्य संस्थान देशमा खाद्य पदार्थ खरिद तथा आपूर्ति गर्न करिब ३४ वर्षअगाडि स्थापना गरिएको संस्था हो । संस्थानले खाद्यान्न तथा अन्य कृषि उत्पादनहरू किसानसँग खरिद गरी नेपालका विभिन्न दुर्गम जिल्लामा आपूर्ति गर्छ । संस्थानले अन्य देशबाट आयात गरिएको खाद्यान्न पनि खरिद गर्छ । भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने नयाँ संरचनाले खाद्य उत्पादनहरूको गुणस्तर तथा मापदण्ड कायम गर्न संस्थानलाई विश्व स्वास्थ्य सङ्गठन, खाद्य तथा कृषि सङ्गठन र विश्व व्यापार सङ्गठनजस्ता अन्तर्राष्ट्रिय निकायहरूद्वारा लागू गरिएका निर्देशिकासँग तालमेल गर्न सहयोग पुग्नुको साथै यसबाट निम्नगुणस्तरको खाद्यान्नको कारणले देखिने स्वास्थ्य समस्यासमेत समाधान हुने अपेक्षा गरिएको छ ।
उल्लेखित परियोजना जिल्ला विकास समिति काठमाडौंद्वारा नेपाल सरकारको नीति-नियमअनुसार कार्यान्वयन गरिने र यी निकायहरू नै परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि पूर्णतया जिम्मेवार रहने सम्झौतापत्रमा उल्लेख गरिएको छ । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरूका प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको बुझिएको छ ।

ढुवानीमा उपेक्षाले खेतमै सुक्यो उखु
परासी । नवलपरासीको दुर्गम स्थानको रूपमा चिनिने सुस्तामा लगाइएको उखुबालीलाई जिल्लामा रहेका चिनी कारखानाहरूले समयमै खरिद नगरिदिँदा खेतमै सुक्न थालेको छ ।
जिल्लालाई आफ्नो उखु क्रयक्षेत्र बनाएका लुम्बिनी, बागमती र इन्दिरा चिनी मिलहरूले सुस्ताको उखुलाई तौल गर्न पहिलो प्राथमिकता दिने भनिए तापनि चिनी कारखानाले सुस्ता क्षेत्रको ठाढीघाटमा उखु ढुवानी सवारीसाधन ढिलो पठाउने गरेकोले उखु सुक्न थालेको बताइएको छ । भारतीयको थिचोमिचोमा रहेको सुस्तामा चार हजार क्विन्टल उखु तयारी अवस्थामा रहेकोमा नवलपरासीका चिनी कारखानाहरूले भारत यूपीका सीमावर्ती क्षेत्रबाट कम मूल्यमा खरिद गर्दै आएकोले कारखानाका उखु ढुवानी गर्ने सवारीसाधन ढिलो पठाउँदा उखु सुक्न थालेको सुस्ता बचाऔँ अभियानका उपाध्यक्ष आदम खाँले बताउनुभएको छ । सुस्ताको पूर्व, उत्तर, दक्षिण भारत पर्ने र पश्चिमतर्फ नारायणी नदी पर्ने हुँदा सुस्ताको उखु डुङ्गाबाट ठाडोघाट तारी २ देखि ४ दिनसम्म साधन कुर्नुपर्ने अवस्थाले सुस्ताका किसान समस्यामा परेका हुन् ।
सुस्तामा उत्पादन भएको उखुमध्ये ५० प्रतिशत मात्र कारखाना पुर्‍याइएकोमा पचास प्रतिशत उखु नदी र चिनी कारखानाको कमजोर ढुवानी व्यवस्थाबाट किसानको ठूलो लगानी खेर जान सक्ने सम्भावना बढेको छ । सुस्तामा उत्पादन भएको उखुको भरपर्दो व्यवस्था कारखानाहरूले नगरेकोमा चिनी कारखाना घेराउ गर्ने चेतावनी दिइएको छ । सुस्तावासीहरूको प्रमुख नगदेबालीको रूपमा रहेको उखुको ढुवानी समस्या समाधानबारे प्रजिअ हरिराज पन्तलाई जानकारी गराइए पनि समस्या समाधान हुन नसकेको स्रोतले बताएको छ ।
यसैबीच जिल्ला विकास समिति नवलपरासीको आव ०६८/६९ को जिल्ला परिषद् परासीमा सम्पन्न भएको छ । समुन्नत समतामूलक नागरिक समाजको सिर्जना दिगो विकासको चाहना भन्ने नाराका साथ सम्पन्न परिषद्मा स्थानीय विकास अधिकारी वसन्त अधिकारीले ३ अर्ब ४१ करोड ४३ लाख ८३ हजारको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । परिषद्को उद्घाटन गर्दै पूर्वमन्त्री एवम् सभासद हृदयश त्रिपाठीले सातबुँदे सहमतिमार्फत अर्कैको इच्छा पूरा गराउन खोजिएको जनताले बुझिसकेको दाबी गर्नुभयो । सो अवसरमा सभासद् महेन्द्र जिसी, पूर्वमन्त्री रामबच्चन यादव, रोशन गाहा, चिनक कुर्मीलगायतले मन्तव्य दिनुभएको थियो ।
– आरपी

शिक्षा अधिकारीमाथि कारबाहीको माग
एकीकृत नेकपा माओवादीनिकट अखिल नेपाल शिक्षक सङ्गठनले शिक्षा क्षेत्र तथा कार्यालयमा आर्थिक अनियमितता गरेको भन्दै लमजुङ जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यलाई कारबाहीको माग गरेका छन् । सङ्गठनले प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियालाई विभिन्न १३ बुँदे मागपत्रसहितको ज्ञापनपत्र पेस गर्दै जिल्ला शिक्षा अधिकारीलाई कारबाहीको माग गरेको हो ।
जिल्ला शिक्षा अधिकारी आचार्यले ०६६ सालको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको प्रश्नपत्र तथा परीक्षासम्बन्धी छपाइमा करिब तीन लाख ५० हजार भ्रष्टाचार गरेको र अहिले पनि उस्तै क्रियाकलाप देखाएको, शिक्षा समितिबाट जबर्जस्ती निर्णय गरेर गाडी मर्मतमा एक लाख १० हजार निकासा गरेर अनियमितता गरेको, मध्यमर्स्याङ्दी आयोजना छरछिमेक कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा कम्प्युटर वितरणमा ठेकेदारसँग मिलेर कमिसन खाएकोजस्ता आरोप सङ्गठनले लगाएको छ ।
यसैगरी जिल्ला शिक्षा कार्यालयमा आउने प्रशासनिक, मसलन्द तथा अन्य खर्चहरूको पारदर्शिता नगरेको, मर्मत तथा घरभाडाको रकममा समेत हिनामिना गरेकोजस्ता माग राखी जिशिअलाई कारबाहीको माग गरिएको अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष ऋषिराम चापागाईंले बताउनुभयो । शिक्षा अधिकारी आचार्यले कार्यालयमा विद्यालयको भवन निर्माणको नक्कली बिल पेस गरी लाखौँ रुपैयाँसमेत असुलेको जानकारी आएको छ । यसैगरी उनले जिल्लामा स्रोतव्यक्तिहरूलाई ल्यापटप कम्प्युटर खरिद गर्ने नाममा ५० हजार घोटला गरेको अखिल नेपाल शिक्षक सङ्घले जनाएको छ । सङ्गठनले राखेका विभिन्न मागका सम्बद्धमा छानबिन गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले जानकारी दिनुभयो ।
यसैगरी अखिल नेपाल शिक्षक सङ्गठनले हालै शिक्षा समितिको निर्णयअनुरूप लमजुङका सबै विद्यालयका प्रधानाध्यापकहरूलाई निमित्त लेखी कामकारबाही गर्न गरेको पत्राचारको पनि विरोध गरेको छ । यथाशीघ्र प्रधानाध्यापकहरूको बैठक बोलाएर उक्त निर्देशनका बारेमा निर्णय गर्नसमेत आग्रह गरिएको छ । आफूले नयाँ शिक्षा नियमावलीअन्तर्गत रहेर काम गरेको कारण शिक्षकहरूलाई कामकारबाहीमा अलि कठिनाइ भएको कारणले यस्तो खालको आरोप-प्रत्यारोप लगाएको जिशिअ आचार्यले बताउनुभयो । आचार्यले जबर्जस्ती शिक्षकहरूको सरुवा, शिक्षकहरूको हाजिरकापीमा रातोसमेत लगाइदिएका बारेमा अखिल नेपाल शिक्षक सङ्गठनले आरोप लगाएको छ । प्रअहरूको बैठकमा समेत उक्त खर्च तथा आम्दानीका बारेमा कुनै पनि जिज्ञासा नमेटाइदिँदा प्रअहरू आक्रोशित भएका छन् । तर, जिशिअ आचार्यले आर्थिक अनियमितताको बारेमा भने कुनै प्रतिक्रिया दिनुभएन ।
कक्षा-८ को प्रश्नपत्र छपाइमा तीन लाख ५० हजार, गाडी मर्मतको नाममा एक लाख १० हजार, घरभाडा तथा मर्मतको नाममा ६० हजार, स्रोतव्यक्तिलाई ल्यापटप कम्प्युटर खरिदमा ५० हजार, विद्यालयको भवन निर्माणमा एक लाख, मध्यमर्स्याङदी छरछिमेक कार्यक्रमअन्तर्गत रहेको कोषबाट विद्यालयलाई कम्प्युटर खरिद गर्ने नाममा कमसल कम्प्युटर खरिद गरी लाखौं रुपैयाँ घोटाला ।

आङछिरिङद्वारा विश्वकीर्तिमान
सगरमाथा अञ्चल सोलुखुम्बु जिल्लाको ताप्तिङ सोलनासामा ३८ वर्षअघि जन्मेका आङछिरिङ शर्ेपाले बाह्र वर्षको कलिलो उमेरबाटै हिमाल आरोहण थालेका हुन् । अध्ययनका क्रममा अमेरिका पुगेका उनले ‘एक्स्िपडिसन र हाइकिङलाई आजपर्यत्न आफ्नो जीवनको अभिन्न अङ्ग क्षेत्रको रूपमा लिएका छन् । सन् २००९ मेमा छिरिङले तेस्रो विश्वका असहाय एवम् निरीह महिला तथा बालबालिकाको सहयोगार्थ विश्वका सातवटै महादेशका सातवटै शिखरहरू आरोहण गरी कीर्तिमान राख्ने लक्ष्य बनाएका उनले उक्त अभियान सगरमाथा विजय गरेको दिन २०१० मे २३ का दिन केवल ४२ दिनमै अपूर्व सफलताका साथ सम्पन्न गरे । स्मरण रहोस्, एक मात्र सगरमाथा आरोहणका निम्ति पूर्वतयारीदेखि अन्त्यसम्म ६५ दिनको अवधि निर्धारण गरिएको हुन्छ । यसले उनमा रहेको अदम्य साहस दर्शाउँछ ।
नेपालका गहना छिरिङलाई नेपाल वर्ष पर्यटन बोर्डको सन् २०१०-११ का लागि ‘सद्भावना राजदूत’को सम्मानले विभूषित गरिएको छ । छिरिङले माउन्ट राइनर २००२-२०१० सम्ममा एघारपटक, माउन्ट बेकर सोही अवधिमा चारपटक, चोयु २००२ सेप्टेम्बर ३ मा एकपटक इज्लेण्ड पिक २००६-१० सम्ममा तीनपटक, मेरा पिक २००६-१० सम्म दुईपटक, माउन्ट म्याककिन्ले जुन १३, २००९ मा एकपटक, माउन्ट किलिमान्जारो तीनपटक, माउट एल्ब्रस १९ जुलाई २००९ मा एकपटक, माउन्ट कोस्सी उसको १५ नोभेम्बर २००९ मा एकपटक, माउन्ट अकोन्कागुवा ९ जनवरी २०१० मा एकपटक र विश्वको सर्वोच्च शिखर सगरमाथा मे २३-२०१० मा विजय गरेका उनले सगरमाथाको एकै सिजनमा तीनपटक आरोहरण सम्पन्न गर्ने लक्ष्य लिएका छन् । यसरी छिरिङले विश्वका सातवटै महादेशका सर्वोच्च शिखरहरूको छोटो समय ४२ दिनमै आरोहरण सम्पन्न गरेर विश्वकीर्तिमान कायम गर्ने पहिलो साहसी नेपाली युवाको रूपमा आफ्नो नाम दर्जन गरेका हुन् । गिनिज बुक अप द वर्ल्ड रर्ेकर्डस्मा आफ्नो नाम विश्वकीर्तिमानी आरोहीका रूपमा लेखाउने प्रक्रिया लगभग पूरा भइसकेको उनका सहयोगी राजाराम घिमिरे बताउँछन् ।
समाजसेवामा समेत गहिरो अभिरुचि राख्ने आङछिरिङले सन् २००२-१० सम्ममा दुर्गम जिल्ला सोलुलगायतका पाँच हजारभन्दा बढीलाई आँखा, दाँत एवम् अन्य स्वास्थ्योपचारमा सहयोग गर्नुका साथै गरिब तथा जेहेनदार विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री, ल्यापटप कम्प्युटर आदि उपलब्ध गराएका छन् । यसबाहेक ताप्तिङमा ११० घरधुरीका निम्ति बिजुली उपलब्ध गराउन जलविद्युत्मा समेत ठूलो सहयोग गरेका छन् । हिमालयन उमन एन्ड चिल्डे्रन फाउन्डेसनसँग आबद्ध साहसी शर्ेपा सर एडमन्ड हिलारीको असिम प्रेरणाले गर्दा नै आफू आजको यस अवस्थासम्म आइपुगेको सगर्व बताउँछन् ।-टंकमणि निरौला

यातायात मजदुर सङ्गठित
नेपाल टे्रड युनियन काङ्ग्रेससँग आबद्ध नेपाल यातायात मजदुर सङ्घ मोरङ जिल्ला समितिले बेलबारी बजारमा छरिएर रहेका यातायात मजदुरहरूलाई डगेन्द्र लिम्बूको नेतृत्वमा सङ्गठित गरेको छ । सो क्षेत्रमा रहेको यातायात मजदुरहरूको एक भेलाले लिम्बूको अध्यक्षतामा एघार सदस्यीय नेपाल यातायात मजदुर सङ्घ बेलबारी इकाइ समितिको निरि्वरोध चयन गरेको छ । जसअनुसार उपाध्यक्षमा हेमराज श्रेष्ठ, सचिवमा गंगाबहादुर गुरुङ, सहसचिव दीपक अधिकारी, कोषाध्यक्षमा विकास श्रेष्ठ रहेका छन् ।

मासुपसलेद्वारा आत्महत्या
काठमाडौं महानगरपालिका- ३१ बागबजारस्थित इच्छुमती गल्लीमा मासुपसल सञ्चालन गर्दै आएका धादिङ गजुरीका ३४ वर्षीय राजकुमार चेपाङले आत्महत्या गरेका छन् । उनलाई गत सोमबार बिहान मिटसपको कोठामा सिलिङ-पङ्खामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

नेपाल प्रहरीमा नतिजा प्रकाशन
नेपाल प्रहरीमा प्राविधिकतर्फ विभिन्न समूहमा रिक्त रहेको प्राविधिक प्रहरी नायव निरीक्षक (रेडियोग्राफर, कम्प्युटर इलेक्ट्रोनिक्स), अटोमोबाइल ओभरसियर, सिभिल ओभरसियर, जीवविज्ञान, भौतिक (विज्ञान) र प्राविधिक प्रहरी सहायक निरीक्षक (कम्प्युटर, सञ्चार) पदमा लिइएको खुल्ला प्रतियोगिताको नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयबाट २०६७ मङ्सिर १५ गते प्रकाशित विज्ञापनअनुसार दरखास्त दिई नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा सञ्चालित स्वास्थ्य परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको नतिजा गत सोमबार प्रकाशन गरिएको हो । उत्तीर्ण उम्मेदवारहरूको लिखित परीक्षाको कार्यतालिकाको सूचनापछि प्रकाशन गरिने नेपाल प्रहरीले जनाएको छ भने उत्तीर्ण उम्मेदवारहरूको नतिजा नेपाल प्रहरीको वेबसाइट gov.np मा पनि हेर्न सकिन्छ ।

महेशको एकल कवितावाचन
०६४ पुसदेखि प्रतिष्ठित कविहरूलाई उभ्याएर एकल कवितावाचनको परम्परा सुरु गरेको ‘गुरुकुल’ले आगामी २८ गते शनिबार कवि महेश रेग्मीको एकल कवितावाचन गर्न लागेको छ । पाल्पा तानसेनमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका र विगत तीन दशकदेखि कवितालेखनमा सक्रिय रेग्मी एक सशक्त युवाकविका रूपमा साहित्यकर्मी एवम् साहित्यका आमपाठकबीच सुपरिचित छन् । गुरुकुलमा आफूले दुई दर्जन कविता वाचन गर्ने कवि महेशले बताए ।

सञ्जुको समुद्र र सपना बजारमा
कथाकार सञ्जु बजगाईंको नयाँ कथासङ्ग्रह समुद्र र सपना बजारमा आएको छ । रत्न पुस्तक भण्डारले प्रकाशन गरेको सो कृतिको सार्वजनिकीकरणको सन्दर्भमा राजधानीमा एक अन्तक्रिर्या कार्यक्रम सम्पन्न भयो । सारांश नेपालले आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति प्राज्ञ तथा कथाकार भाउपन्थीले कथाकार सञ्जुको कथाले डायस्पोरिक साहित्यमा विशिष्ट हैसियत स्थापित गरेको बताउनुभयो । उहाँले सञ्जुको कथामा नयाँ भाषा र नयाँ विषय भएको जिकिर पनि गर्नुभयो । साहित्यकार जगदीश घिमिरेले कथाकार सञ्जुको लेखनमा सांस्कृतिक रूपान्तरणको सङ्कटवस्था, जीवनशैली परिवर्तनले निम्त्याउने समस्या र दबिएर रहेका पूर्वीय नारीहरूले पाश्चात्य समाजको नारी स्वतन्त्रता उपभोग गर्न पाउँदाको अनुभूति भेटिने चर्चा गर्नुभयो । त्यस अवसरमा समीक्षक गीता त्रिपाठीले सञ्जुका कथाहरूले नारी चेतनामा नयाँपन ल्याएको बताउनुभयो भने निबन्धकार श्रीओम श्रेष्ठ रोदन, कथाकार तुलसीहरि कोइराला र कवि छविरमण सिलवालले पनि सञ्जुको कथाकारितामाथि बोल्नुभएको थियो ।
यसअघि दुई कृति प्रकाशित गरिसक्नुभएकी कथाकार सञ्जु बजगाईंको समुद्र र सपनामा रहेका १५ वटै कथामा डायास्पोराका कुरा र नारी पात्रहरूलाई महत्त्वका साथ उभ्याउने प्रयास गरिएको छ । कथाकार सञ्जु आठ वर्षदेखि बेल्जियमको ब्रसेल्समा रहँदै आउनुभएको छ ।