सैन्य वेस क्याम्प स्थापना नगरेको नेकपाको प्रष्टोक्ति

सैन्य वेस क्याम्प स्थापना नगरेको नेकपाको प्रष्टोक्ति


विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सैन्य बेस क्याम्प स्थापना गरेको भन्ने समाचार कतिपय मिडियाले प्रकाशित गरेपछि सो पार्टीले त्यसको खण्डन गरेको छ । क्याम्प सञ्चालन गरेको भन्ने खबर कुनै खास नियतवश फैलाइएको हुन सक्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीले कुनै पनि ठाउँमा सैन्य बेस क्याम्प नबनाएको स्पष्ट पारेको हो ।

सो पार्टीका पूर्वी कमाण्ड इन्चार्ज विरहीले आफ्नो पार्टी देशब्यापी रुपमा राजनैतिक जनजागरण र संगठन सुदृढिकरणमा लागेको तर कुनै सैन्य गतिविधि नगरेको जनाएका छन् । केही अनलाइन पोर्टलमा प्रहरीको हवाला दिँदै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सिन्धुलीको हरिहरपुरगढी गाँउपालिकामा सैन्य बेस क्याम्प सञ्चालन गरेको ब्यहोराका समाचार प्रसारण गरेका थिए । सोही विषयमा प्रतिक्रिया दिँदै पूर्वी कमाण्ड इन्चार्ज नेता विरहीले आफ्नो पार्टी विभिन्न जनवर्गीय संगठनका भेला सम्मेलनमा लागिरहेको तर सैन्य गतिविधिमा नलागेको दाबी गरेका हुन् ।

यसै विषयमा नेकपाका जनकपुर ब्युरो सदस्य राजु कार्कीले पनि आफ्नो पार्टीले कुनै सैन्य गतिविधि नगरेको प्रष्ट्याएका छन् । नेकपाले सामुहिक समाजघर बनाउने योजना बनाएको तर सैन्य गतिविधिको सोच नबनाएको दाबी गर्दै उनले विनाकारण पक्राउ गरिएका आफ्ना नेता कार्यकर्ताहरुलाई झुटा मुद्दामा फसाउनको लागि हातहतियार सहित विप्लवका कार्यकर्ता पक्राउ गरेको भन्ने प्रचार गरेको तर्क गरे ।

यसै क्रममा उनले आफ्नो पार्टीका राजन र पुर्णबहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको जानकारी पनि दिए । उनीहरु दुवैलाई पैदल यात्राका क्रममा र्लाहीको बाग्मति नपा वडा नं. १ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको बताइएको छ । राजन नेकपाका सर्लाही सेक्रेटरी हुन् भने भुजेल विद्यार्थी हुन् ।