श्वेतपत्रले विदेशमा नेपालको बेइज्जत गरेको छ : डा. महत

श्वेतपत्रले विदेशमा नेपालको बेइज्जत गरेको छ : डा. महत


नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालको अर्थतन्त्र सरकारी श्वेतपत्रमा उल्लेख भएजस्तो खस्किएको नभई केही पक्षमा निकै सुधार भएको दाबी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रप्रति टिप्पणी गर्दै डा. महतले पहिलेका सरकारको बदनाम गर्न भ्रामक श्वेतपत्र ल्याइएको जिकिर गरे ।

गत साता जारी श्वेतपत्र पूर्वाग्रहपूर्ण र नकारात्मक भएको वरिष्ठ अर्थविद्समेत रहेका महतको दाबी छ । पछिल्ला तीनवटा सरकारका पालामा गरिएका काम मात्र श्वेतपत्रले समेटेर स्पष्ट पारेको र ०४८ सालपछिका खासगरी काङ्ग्रेस नेतृत्वका सरकारले गरेका राम्रा कामहरू श्वेतपत्रमा नसमेटिएको डा. महतले खुलासा गरे । ‘श्वेतपत्र कुनै दलविशेषको पक्षपाती र पूर्वाग्रही छ,’ डा. महतले घटना र विचारसँग भने, ‘श्वेतपत्रले विदेशमा हाम्रो बेइज्जत गरेको छ । वास्तवमै श्वेतपत्रले नेपालकै खिल्ली उडाउने काम गरेको छ । ०४८ मा जारी बजेटमा ३५ प्रतिशत विदेशी सहायता थियो, अहिले बाह्य सहयोगको मात्रा घटेर १४ प्रतिशतमा झरेको छ, यसको अर्थ हाम्रो परनिर्भरता कम र राजस्व उठ्ती बढेको छ । श्वेतपत्रमा यस्ता सकारात्मक विषय उल्लेख नगर्नु दुर्नियतपूर्ण छ ।

‘माओवादी द्वन्द्व, राजनीतिक अस्थिरता र ०७२ मा गएको भूकम्पले पनि हाम्रो अर्थव्यवस्था कमजोर भएको हो, तर यहीबीचमा पनि राजस्व सङ्कलनलगायतका काम भएका छन्, यो सकारात्मक कुरा हो,’ नेता महतले भने । सरकारले आफू जोगिन र काम गर्न नसक्ने भएपछि ढुकुटी रित्तो देखाएर अनेक बहानाबाजी गरेको प्रस्ट्याउँदै डा. महतले सरकारले वित्तीय अराजकता निम्त्याउन खोजेको बताए । अर्थ व्यवस्थामा धेरै सकारात्मक पक्षहरू रहे पनि यस विषयमा श्वेतपत्र केही बोलेको छैन भन्दै उनले भने, ‘वित्तीय अराजकता बढेको छ, अनुत्पादक क्षेत्रमा खर्च अस्वाभाविक बढेकोबढ्यै छ, यसलाई रोक्न आवश्यक छ, श्वेतपत्रले सुधारका कुरा र सम्भावित राम्रा पक्षलाई लुकाएर नकारात्मक पक्ष मात्र उजागर गरेको छ ।’ कुल गार्हस्थ उत्पादन ५ प्रतिशत सामाजिक क्षेत्रमा खर्च भइरहेको छ, वित्तीय अनुशासनमा नबस्ने र जथाभावी खर्च गर्ने प्रवृत्ति रोक्नुपर्ने सुझाव डा. महतको छ ।

सङ्घीयताले पनि खर्च बढाउने काम गरिरहेको सन्दर्भ उठाउँदै डा. महतले अबको सरकारले झनै अनुत्पादक क्षेत्रमा खर्च गर्ने समस्या झेल्नुपर्ने दाबी गरे । एक फरक प्रसङ्गमा काङ्ग्रेसका वरिष्ठ नेता डा. महतले नेपाली काङ्ग्रेसलाई सुधार गरेर लैजानका लागि नेतृत्वले इच्छाशक्ति देखाउनुपर्ने बताए । नेतृत्व असक्षम भएसम्म अन्य सदस्यले मात्र गरेर बोलेर केही नहुने भन्दै उनले अहिल्यै नेतृत्व परिवर्तन गर्ने कुरा आफूहरूले नगरेको तर नेतत्वले पार्टी हारको जिम्मेवारी लिँदै संवेदनशील बन्न आवश्यक रहेको स्पष्ट पारे ।