एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्दै

एमाले-माओवादी एकता संयोजन समितिको बैठक बस्दै


अहिले बिहान ९ बजे एमाले–माओवादी एकता संयोजन समितिको बैठक बस्दैछ । कार्यदलले यसअघि मिलाउन नसकेका केही विषयहरुलाई सहमति जुटाउने उद्धेश्यले संयोजन समितिको बैठक बस्न लागेको हो ।

आगामी बैशाख ९ गते एमाले र माओवादीका नेताहरुले एकता घोषणा गर्ने बताउँदै आएका छन् । सोका लागि पूर्वतयारीमा दुबै पार्टीका नेताहरु लागिपरेका छन् ।

एकता भएपछि बन्ने एकीकृत पार्टीको चुनाव चिह्न के रहने, विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने की नराख्ने र समान हैसियत रहने की नरहने भन्ने विषयमा नेताहरुबीच कुरा नमिलेका कारण एकता प्रकिया झनै जटिल बन्दै गएको छ ।

यता, माओवादी केन्द्रका नेताहरुले सूर्यसँगै हँसिया हथौडा पनि चुनाव चिह्न राख्दा एकताको भावना झल्किने तर्क गर्दै आएपनि एमाले नेताहरुले सबैमा जानकार भइसकेको र लोकप्रिय रहेकाले सूर्य मात्रै चुनाव चिह्न राख्नुपर्ने अडान राख्दै आएका छन् । जसका कारण दुबै दलका नेता तथा कार्यकर्ताहरु बीच कुरा मिल्न नसकेको माओवादी केन्द्रका एक नेताले घटना र बिचारलाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमण जानुअघि नै सहमति जुटाउने कसरत भइरहेको छ ।