भारत भ्रमणबारे यसो भन्छन् प्रधानमन्त्री ओली

भारत भ्रमणबारे यसो भन्छन् प्रधानमन्त्री ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे संसदमा सार्वजनिक महत्वको वक्तव्य दिएका छन् । उनले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिए ।

उनले मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दो, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने तथा छिमेकीलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको जनाउँदै शंकारहित र भरपर्दो मित्रता कायम गर्ने सरकारको नीति रहेको दाबी गरे । छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको प्रधानमन्त्री ओलीको भनाई छ ।

भारत गएर देशको शिर झुक्ने कुनै काम आफूले नगर्ने बताउँदै उनले भने, ‘छिमेकसँगको मित्रतापूर्ण सम्बन्ध, अहस्तक्षेपकारी नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, नेपालको पञ्चशीलको आधार र राष्ट्रहित एवं न्यायपूर्ण सम्बन्ध हाम्रो छिमेक सम्बन्धको प्रस्थानबिन्दु हो ।’

भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको र कसैप्रति अर्घेल्याईं नगरी आफ्ना हितलाई राख्नुपर्ने उनले बताए । दुई देशबीच सन् १९५० को सन्धिलगायत विषयमा पुनरावलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको पनि उनले उल्लेख गरे ।

अब भारत र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भ्रमणलाई देश र जनताको अधिकतम हितमा कसरी उपलब्धिपूर्ण बनाउन सकिन्छ र आपसी सम्बन्ध थप मजबुत कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रयास हुने दोहोरयाए ।

नेपालका लागि भारतबाट सहुलितपूर्ण ऋण, नेपालको थप हवाईमार्ग र पारवहन थप सहज बनाउन, सीमा क्षेत्रको पूर्वाधार निर्माण, नेपालीहरुलाई सटही सुविधामा परेको नोक्सानी, क्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन र बिमस्टेकजस्ता अन्य क्षेत्रीय सम्मेलनलाई सञ्चालन गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा हुने ओलीको भनाई छ । आतंकवाद र मानव तस्करी नियन्त्रणलगायत साझा र भारतीय पक्षको जायज चासोका विषयमा नेपालले ध्यान दिने उल्लेख गर्दै भारतमा हुने उच्चस्तरीय भेटवार्तामा यी विषयमाथि छलफल हुने प्रधानमन्त्रीले प्रष्ट्याए ।

तस्बिर रासस