‘जातको नाममा नहेपौँ, धर्मको नाममा राजनीति नगरौँ’
प्रकाशित मिति
१९ चैत्र २०७४, सोमबार १३:०३
राजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जाति र धर्मको नाममा कसैले पनि राजनिति गर्न नहुनेमा जोड दिएका छन् । सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिर प्राङ्गणमा सोमबारदेखि शुरू भएको दश महाविद्या सहरुद्र महायज्ञको उदघाटन गर्दै फोरम अध्यक्ष यादवले देश गणतन्त्रमा गइसकेको र धर्मनिरपेक्षताको संविधानले नै ग्यारेन्टी गरिसकेकोले धर्म र जातिको नाममा कुनै पनि विवादको अब गुञ्जायस नरहेको बताए ।
सबै धर्मको रक्षा र स्वाभिमानका लागि एक आपसमा सदभाव कायम राख्नुपर्नेमा जोड दिँदै यादवले धर्म र जातिको नाउँमा विभेद नगर्र्न समेत सुझाव दिए । अब धर्म र जातको नाममा राजनीति गर्ने बेला छैन, धर्म र जातको नाममा एकले अर्कोलाई हेप्ने काम बन्द गरी सबैले एक अर्काको धर्मलाई सम्मान गनुपर्ने उनको धारणा थियो ।
पूर्वाञ्चलकै प्रसिद्घ शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरलाई धार्मिक पर्यटक स्थलको रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै यादवले त्यसका लागि आफुले पनि पहल र सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।
तीनवटै तहको निर्वाचन सम्पन्न भएपछि अब मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन आवश्यक रहेको बताउँदै उनले यसका लागि प्रदेशको अधिकार संकुचित गर्न नहुनेमा जोड दिए । उनले भने, प्राकृतिक स्रोत साधनमा प्रदेशको पूर्ण अधिकार नभएसम्म ती प्रदेशहरु आर्थिक रुपले सबल बन्न सक्तैनन् र संघीयता अप्ठ्यारोमा पर्न सक्छ । तराई मधेशमा स्रोत साधनको कमी नरहे पनि तिनको समूचित विकासका लागि विगतदेखि नै सरकारी उदासीनता देखिएका कारणले पछिपरेको चर्चा गर्दै समृद्घ प्रदेश निर्माणका लागि आफुले क्षमताले भ्याए सम्म काम गर्ने बताए ।
हेमशंकर सिंह