भ्रमणअघि असम्भव ! त्यसपछि पनि अन्योलमै ‘एमाले-माओवादी एकता’

भ्रमणअघि असम्भव ! त्यसपछि पनि अन्योलमै ‘एमाले-माओवादी एकता’


प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि नै पार्टी एकता हुने भनी डेढ सातायता जोडस्वरले उरालिएको आवाज फेरि मत्थर र अन्योलग्रस्त बन्न पुगेको छ । भ्रमणको मुखैमा समान हैसियत खोज्दै प्रचण्डले खोचे थापेपछि अन्योलपूर्ण बनेको एकताप्रक्रिया सम्बद्ध नेताहरुको फरक-फरक आवाज र नेतैपिच्छे आ-आफ्नै दाबीका कारण अविश्वसनीय बन्न पुगेको हो । तथापि, दुवै दलका शीर्षतह छिट्टै एकता हुने दाबी गर्न छोडिएको छैन ।

यसैक्रममा समाजवादउन्मुख अर्थतन्त्रको विकासको लक्ष्यसहित तुरुन्तै पार्टी एकता हुने एमाले अध्यक्ष केपी ओलीले बताएका छन् । नेकपा (एमाले) केन्द्रीय प्रचार विभागद्वारा स्थापित ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्न सो पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो भारत भ्रमणअघि वा पछि पार्टी एकता हुने भन्ने विषयलाई विवाद बनाउन नपर्ने भन्दै एकीकरण प्रक्रियाको पक्षमा वकालत गरे ।

आफूहरु हतारमा जसरी पनि पार्टी एकता गर्ने पक्षमा नरहेको तर ढिलासुस्ती पनि नगर्ने भन्ने ओलीको अभिव्यक्ति आफैमा विरोधासपूर्ण छ । दुई दलबीच एकताका लागि कार्यदलले काम गरिरहेका छन् भन्ने उनको तर्कलाई नाजायज भन्न सकिन्न तर कार्यदलको कार्यप्रगति चाहिँ सतहमा ठोस रुपले देखिएको छैन । एकीकरण प्रक्रिया अन्योग्रस्त बनेको दाबी गर्न यति नै यथेष्ट छ ।

वास्तवमा दुई पार्टीबीच सांगठनिक भागबन्डाका विषयमा कुरा नमिलेर एकता प्रक्रियामा अन्योल बढेको अब जनस्तरले नै बुझिसकेका छन् । दुबै दलले शक्ति बाँडफाँडको विषयलाई लिएर आ–आफ्नो अडान तेर्स्याएपछि वाम गठबन्धन नै खतरामा पर्न लागेको भन्ने सम्मका टीकाटिप्पणी शुरु भएको छ ।

प्रचण्डको फिप्टी-फिप्टी अनुपातको प्रस्तावसँगै एमाले नेताहरुले यस्तो प्रस्तावले एकता भाँडिने बताइसकेका छन् । माओवादीसँग कुनै हालतमा बराबरी हैसियतमा पार्टी एकता गर्न नसकिने एमाले नेतृत्वको सोच छ । यसमा माधव, झलनाथ खेमाले चाहिँ लचकता अपनाउन सक्ने ठानिएको छ । तर, वर्तमान परिवेशमा एमालेमा ओलीपक्षको सहमतिविना कुनै निर्णय हुन सक्ने अवस्था छैन ।

यसै माहोलमा एकतासम्बन्धी कार्यदलमा समेत रहेका एमाले नेता माधव नेपालले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघिको भाखा सरेछ भने नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर वैशाख ९ गते पार्टी एकता गर्ने तयारी रहेको बताएका छन् । तर, दुवै पार्टीका नेतृत्वको गतिविधि हेर्दाचाहिँ सो मितिमा पनि पार्टी एकताको सम्भावना नरहेको एमालेसम्बद्ध एक उच्च तहका नेताले नै संकेत गरेका छन् ।

यसैबीच यस वर्षको ५० हजार ५५५ राशिको ‘मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिएको छ । जननेता मदन भण्डारीको व्यक्तित्व, राजनीतिक गतिविधि र ‘जनताको बहुदलीय जनवाद’ बारेमा विभिन्न लेखमार्फत उजागर गरेका कोइराला पूर्व सांसद र पूर्वराजदूत हुन् ।