नेता खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरिँदै

नेता खड्काको निधनप्रति शोक प्रस्ताव पारित गरिँदै


पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधनप्रति संसदले शोक प्रस्ताव पारित गर्ने भएको छ । आज बस्ने संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठकले शोक प्रस्ताव पारित गर्ने कार्यसूची तय गरिएको छ ।

दिवंगत नेता खड्काको शोक प्रस्ताव पारित गर्नकै लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक २ बजे बस्दैछ । शोक प्रस्तावबाहेकका कार्यसूचीमा भने आज छलफल हुने नहुने संसद् सचिवालयले जनाएको छ ।

नेता खड्काको शोक परेकोले निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगन भएको छ ।

यसै क्रममा नेपाली काग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ । दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेताको खड्काको असमायिक निधनले कांग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताउनुभयो । ‘नेता खड्का कांग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उहाँले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो,’ देउवाको भनाई छ ।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँ नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र कांग्रेसको लागि सशक्त खम्बाका रुपमा रहनुभएको बताउनुभयो । ‘उहाँबाट युवाले ठूलो प्रेरणा पाएका थिए, उहाँको निधन कांग्रेसको लागि मात्र होइन मुलकको लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो’–वरिष्ठ नेता पौडेलको भनाई छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको आकस्मिक बैठकले नेता दिवंगत नेता खुमबहादुर खड्काप्रति शोक प्रकट गर्दै सात दिनसम्म केन्द्रलगायत पार्टी मातहतका सबै कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

मिर्गौला र छातीको संक्रमणबाट पीडित नेता खड्काको उपचारका क्रममा गत शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो ।