प्रदेश नं ३ को राजधानी काभ्रे सर्ने सम्भावना बढ्यो

प्रदेश नं ३ को राजधानी काभ्रे सर्ने सम्भावना बढ्यो


सबै जिल्लालार्ई पायक पर्ने भएकोले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक सार्ने तयारीले तीव्रता पाएको छ । अधिकांश प्रदेश सांसदहरूले काभ्रे राजधानी राख्दा सबैलार्ई पायक पर्ने बताएका छन् । प्रदेश संसदमा मतदान भएमा पनि काभ्रेलाई राजधानी बनाउनेमा बहुमत प्राप्त हुने धेरै सांसदले बताएका छन् ।

प्रदेश सांसदहरू चन्द्र लामा, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं लगायतले काभ्रेमा राजधानी सार्ने तयारी शुरु गरिएको सार्वजनिक गरेका छन् । काभ्रेको पाँचखालमा रहेको जमिनमा प्रदेश राजधानी राख्ने तयारी र पुर्वाधार निर्माणमा जोड दिन उनिहरूले आग्रह गरे । यसका लागि उद्योग बाणिज्य संघ काभ्रेले जग्गा छनौट र पुर्वाधार निर्माणमा लागेको जनाएको छ । संघका अध्यक्ष प्रकाश मानन्धरले पाँचखालमा प्रदेश राजधानी निर्माणको तयारी थालिएको जानकारी दिए ।

धुलिखेलमा आन्तरिक एयरपोर्टका लागि ठुलीचौरमा उपयुक्त हुने यस क्षेत्रका सांसदहरूले बताएका छन् । हेटौंडा भन्दा काभ्रेमा राजधानी राख्दा सबैलाई पायक पर्ने प्रदेश नं ३ का अधिकांश सांसदहरूको माग रहेको छ । ब्यवसायीहरूले पनि सबै क्षेत्रलाई उपयुक्त हुने काभ्रेमै राजधानी राख्न जोड दिँदै आएका छन् । प्रदेश राजधानीका लागि आवश्यक पुर्वाधारको तयारी काभ्रेलाई रोजिएको नेपाल उद्योग बाणिज्य संघका केन्द्रीय सदस्य सुरजकृष्ण बैद्यले बताए । पाँचखालमा रहेको १२ सय रोपनी जमिनमा राजधानी राख्न सबैभन्दा उपयुक्त रहेकोले तयारी थालिएको प्रदेश ३ का अधिकांश सांसदहरूको एकमत रहेको छ ।