नदी समस्या पार लगाउन पत्रकारको प्रदर्शन

नदी समस्या पार लगाउन पत्रकारको प्रदर्शन


– हेमशंकर सिंह

राजविराज । खाडो नदीको नियन्त्रण र सो नदीको पानीको बहावलाई लिएर वर्षेनी नेपाल र भारतबीच हुने गरेको द्वन्द्वको स्थायी समाधानको माग गर्दे शुक्रबार सप्तरीका पत्रकारहरुले पदयात्रा र प्रदर्शन गरेका छन् ।

नेपाल पत्रकार महासंघ शाखा (सप्तरी)सम्बद्ध सञ्चारकर्मीहरुले महासंघको ६३औं स्थापना दिवसको अवसरमा सदरमुकाम राजविराज देखि सिमावर्ती दशगजा क्षेत्रसम्म पदयात्रा गरेका हुन् । सीमावर्ती तिलाठी र भारत बिहारको कुनौलीको बीचमा पर्ने दशगजा क्षेत्रमा पुगेर सो पदयात्रा सभामा परिणत भएको थियो ।

सभाका सहभागी वक्ताहरुले दुई देशबीचको सम्बन्धमा खाडो नदी बाधक भएकाले नदी नियन्त्रणको स्थायी समाधान गरी दुई पक्षबीच वर्षेनी हुने गरेको द्वन्द्वको अन्त्य गर्न नेपाल र भारत दुवै देश गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै साविक तिलाठी गाउँपालिकाका उपाध्यक्ष अमिर झाले खाडो नदीको पानीको बहाव भारततर्फ रहेको र सीमावर्ती क्षेत्रका बासिन्दाहरुले पानी भारततर्फ जान दिन नचाहेका कारण पटक–पटक विवाद उत्पन्न भइरहेकाले दुवै पक्ष गम्भीर हुनुपर्ने बताए ।

तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले खाडो नदीका कारण नेपाल र भारत दुवैतर्फ हुने गरेको क्षति न्यूनीकरणका लागि आपसी सहयोग अपिरहार्य रहेको बताए ।

नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले राष्ट्रियताको सवालमा सप्तरीका पत्रकार जगत सधै तत्पर रहने भन्दै दुवै पक्षलाई मिलेर तत्काल समास्याको सम्बोधन गर्न आग्रह गरे । नुन समेत किन्न भारतीय बजार कुनौली नै जाने बाध्यता रहेकाले उनीहरुसँग द्वन्द्व बढाउन नसकिने भएकाले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन पदयात्रा गरिएको बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष वैद्यनाथ झाले दुई पक्षीय वार्ता मार्फत समास्याको समाधान हुनुपर्नेमा जोड दिए ।

शाखाका सचिव जितेन्द्र कुमार झाले खाडो समस्या र दशगज्जा क्षेत्रमा हुने गरेको तनावको स्थायी समाधान गर्न दुवै राज्यसत्ताको ध्यानाकर्षण गराउन पदयात्रा गरिएको बताए ।

उक्त पदयात्रामा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका १३ सदस्यीय कार्यसमिति सदस्यमध्ये ६ जनासहित १९ पत्रकारको सहभागिता रहेको थियो । सप्तरी शाखामा १ सय ३ जना सदस्य रहेका छन् ।