जिम्मेवारी नलिने मानसिकतामा देउवा

जिम्मेवारी नलिने मानसिकतामा देउवा


निर्वाचनमा भएको पराजयको समीक्षा गरी आगामी कार्यदिशा तय गर्न बसेको काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश नेताहरूले पार्टीको पराजयको मुख्य कारण नेतृत्व (सभापति)को कमजोरी भएको बताएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहले उन्नाइसबुँदे लिखित धारणा प्रस्तुत गर्नुभएकोमा सबैजसो नेताहरूले सोही लिखतकै वरिपरि रहेर धारणा व्यक्त गर्नुभएको थियो । प्रकाशमानद्वारा प्रस्तुत लिखतलाई सभापति शेरबहादुर देउवा र उहाँनिकट केहीबाहेक सबैजसो नेताले सकारात्मक रूपमा लिएका छन् ।

चैत ९ गतेदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहे पनि यसैबीचमा मर्यादाक्रमसम्बन्धी विषयलाई लिएर पनि चर्काचर्की परेको थियो । प्राप्त जानकारीअनुसार सभापति देउवाले करिब दुई वर्षअघि नै नेताहरूको मर्यादाक्रम निर्धारण गर्न तीन सदस्यीय कमिटी निर्माण गर्नुभएको थियो । आनन्द ढुङ्गाना, फर्मुल्लाह मन्सुर र ज्ञानेन्द्रबहादुर कार्की संलग्न रहेको उक्त कमिटीले अहिलेसम्म आफूलाई दिइएको जिम्मेवारी पूरा गर्न सकेको छैन । बैठकमा आफूलाई उचित सम्मान नदिइएको महसुस गरेपछि पार्टी नेता गोपालमान श्रेष्ठ सबभन्दा पछाडिपट्टि बस्ने र त्यतैबाट फर्कने गर्नुभएको थियो ।

त्यसरी गोपालमान श्रेष्ठले असन्तुष्टि जनाएपछि देउवाद्वारा गठित तीन सदस्यीय समितिले उहाँको मर्यादाक्रम निर्धारण गरिदिएको छ । श्रेष्ठलाई पदाधिकारीपछिको मर्यादाक्रममा राखिएको छ । पहिले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालिसकेकोले उहाँलाई माथिल्लो मर्यादाक्रममा राखिएको बताइन्छ । दुई वर्षसम्म पार्टी नेताहरूको मर्यादाक्रम निर्धारण नगरिएकोप्रति असन्तुष्टि प्रकट गर्दै नेताहरूले तत्काल उक्त कार्य गरिनुपर्नेमा जोड दिएका थिए । नेता प्रकाशमान सिंहले यस विषयमा आफ्नो धारणा राख्नुहुँदा सभापति शेरबहादुर देउवाले आफ्नो चिरपरिचित शैलीमा ‘चुप रहन’ भनेका थिए । देउवाको प्रस्तुति अमर्यादित र अशिष्ट रहेको महसुस बैठकका सहभागीले गरेका थिए ।

बैठकमा अहिलेसम्म नेताहरू डा. रामशरण महत, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, अर्जुन जोशी, बद्री पाण्डे, धनराज गुरुङ, पार्वती डीसी, हसन अन्सार र अख्तर कमाललगायतले आफ्नो धारणा राखिसक्नुभएको छ ।

मंगलबार (चैत १३) को बैठकमा पार्टीका वरिष्ठ नेता डा. रामशरण महतले आफ्नो धारणा राख्नुभएको थियो । आर्थिक चलखेलका आधारमा टिकट बाँडिएको भनी पार्टीमा परेको उजुरीमाथि छानबिन हुनुपर्ने माग गर्दै नेता महतले बैठकमा भन्नुभयो, ‘पार्टीको पराजयका निम्ति धेरथोर सबैको जिम्मेवारी भए पनि सभापति भएका नाताले मुख्य नैतिक जिम्मेवारी शेरबहादुरजीले नै लिनुपर्छ भनी कुरा उठ्नु स्वाभाविक छ ।’ डा. महतले २०७२ सालमा संविधान जारी भएपछि एमालेसँगको गठबन्धन तोड्नु रणनीतिक भूल भएको बताउँदै भन्नुभयो, ‘माओवादीसँगको गठबन्धनलाई निरन्तरता दिन नसक्नु पनि नेतृत्वकै कमजोरी हो ।’

उहाँले निर्वाचनमा काङ्ग्रेस पराजित हुनुको कारण स्पष्ट गर्दै बैठकमा भन्नुभयो, ‘सरकारमा रहँदा गरिएका कैयन विवादास्पद एवम् गलत निर्णयले हामीलाई धेरै ठूलो धक्का पु¥याएको छ । नेतृत्वको प्रस्तुति र व्यवहार आलोचनामुक्त हुन सकेन । आफूले गरेका कामका बारेमा जनतालाई जानकारी गराउन नसक्नुको परिणाम पनि हामीले व्यहोरेका हौँ । उम्मेदवार चयन गर्दा न्यायपूर्ण व्यवहार नेतृत्वबाट भएन । सिरहालगायत कैयन ठाउँमा हामीले त्यसको परिणाम भोग्नुप¥यो ।’

नेता महतले पार्टी भनेको विचार, सङ्गठन र नेतृत्व हो भन्नुहुँदै महासमिति बैठकको मिति तोक्न माग गर्नुभयो । महासमितिबाट विधानको संशोधन गराई सोहीबमोजिम साङ्गठनिक संरचना तयार गर्ने र त्यसपछि महाधिवेशनबारे निर्णय लिइनुपर्ने धारणा पनि डा. महतले प्रकट गर्नुभएको थियो । काङ्ग्रेस बैठकमा सबै नेताहरूले महासमितिको बैठक तत्काल बोलाउन माग गरेका छन् । सबैको माग भएको हुनाले देउवा बैठक बोलाउन बाध्य हुने र यही बैठकमा महासमिति बैठकको मिति तोकिने अपेक्षा गरिएको छ ।

यसपटक काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक प्रारम्भ हुनुअघि देउवासँग असहमत पक्षबीच पटक–पटक अनौपचारिक बैठक तथा छलफल भएको थियो । देउवाविरुद्ध सङ्गठित र सशक्त आवाज बैठकमा प्रकट भएको त छ, तर ‘गैँडाको छाला’ बनिसक्नुभएको ठानिने देउवाले पार्टीका नेता र कार्यकर्ताहरूको भावनाअनुरूप नेतृत्व बदल्न या पार्टी सङ्गठनलाई सुधार्न कुनै कदम चाल्नुहुने विश्वास गरिएको छैन । देउवाकै कारण काङ्ग्रेस थप कमजोर हुने चिन्ता बैठकका सहभागीहरूमा देखिएको छ ।