विपश्यना जाने ?

विपश्यना जाने ?


विगतको स्मृतिले यति दुःख दियो कि आँखा चिम्लनै मन नलाग्ने । विशेषगरी गहिरो दुःखका क्षणहरू र आफूलाई चोट दिने मान्छेहरू आँखाअगाडि आइरहे । मौनताभित्रको कोलाहल डरलाग्दो हुँदोरहेछ ।
  • बबिता बस्नेत

विपश्यना जानेबारेमा सोच्दासोच्दै धेरै वर्ष बितेर गए । कहिले के नमिल्ने, कहिले के, मुख्य त मिलाउन गाह्रो समय नै थियो । आउने-जाने दुई दिन र दश दिन शिविर गरी १२ दिनको समय निकाल्न त्यति सजिलो पनि थिएन । यही मार्चको १२ देखि २३ सम्म संयुक्त राष्ट्रसङ्घ न्युयोर्कमा कमिसन अन दी स्टेटस अफ विमेनको मिटिङ थियो, जुन प्रत्येक वर्ष यही समयमा हुने गर्छ । दातासमेत रहेकी एक मित्रले सोधिन्, ‘तिमी जाने हो ? महिलाको सूचनामा पहुँचसम्बन्धी पनि छलफल छ, तिमीहरू यो विषयमा काम गरिरहेका छौ, केही कुरा राख्ने हो ?’ म यसपल्ट आउन सक्दिनँ भन्दा उनी छक्क परिन् । न्युयोर्क पनि नआउने ? भन्ने उनको मनमा लागेको हुँदो हो, भनिन्, ‘अल द बेस्ट ।’ पूर्वयोजनाअनुरूप नै ठीक त्यही समय पारेर (मार्च १६ देखि २६) मैले विपश्यनाका लागि छुट्याएकी थिएँ ।

दुई महिनाअघि ज्योति भवनमा फर्म भर्नुअघि अनुशासनसंहिता पढ्न दिइएको थियो । जसमा बिहान ४ः३० देखि राति ९ः३० बजेसम्मको ध्यान तालिका साथ ४ बजे उठ्नुपर्ने, दिउँसो १२ बजेपछि खाना खान नहुने, शृङ्गार गर्न नहुने, आरामदायी बिछ्यौना प्रयोग गर्न नहुने, आफूले लाउने लुगा स्वच्छ र सफा हुनुपर्ने तर धोबीको व्यवस्था नभएको, महिलाहरूले पछ्यौराको प्रयोग अनिवार्य गर्नुपर्ने, पुरुषहरूले हाफपाइन्ट लगाउन नहुने उल्लेख थियो । साथै साधकहरूले शिविर अवधिभर आर्य मौन कायम (एक-अर्कामा इसारा र आँखा जुधाउनसमेत नमिल्ने) गर्नुपर्ने, कुनै पनि विषयका पुस्तक, पत्रपत्रिका, लेखन सामग्री साथमा लान नहुने, लेखपढका सामग्री र मोबाइल फोन शिविर आरम्भ हुनुअघि नै व्यवस्थापकलाई बुझाउनुपर्ने, सुर्तीजन्य तथा लागू एवम् मादक पदार्थ लान नहुने, टेपरेकर्ड, क्यामेरा लान नपाइनेलगायतका कुरा उल्लेख थिए ।

जीवनमा १७ वर्षको उमेरदेखि गर्दै आएको कामको बोझ केही दिनलाई बिसाउन पाइने, फेसबुक, ट्विटर, टेलिभिजन, अखबार, फोन, म्यासेज, कुराकानीलगायतको झ्याउँझ्याउँबाट मुक्ति पाइनेजस्ता कुराले मन रोमाञ्चित बनायो । घरमा विपश्यना जान लागेको बताएपछि सकेसम्म नगए हुन्थ्यो भन्ने भाव सबैको अनुहारमा देखेँ । कति मान्छे बीचैमा भागेर आएका छन्, त्यहाँबाट फर्किएपछि कति एकोहोरोझैँ हुन्छन् भन्ने पनि सुनिएको छ, खान पनि थोरै मात्र दिइन्छ भन्छन्, कस्तो गाह्रो हुन्छ रे, किन जानुपऱ्यो ? जाने र ? निकटवर्ती, आफन्त र साथीहरूले भने । एकजना साथीले त फोनमा लौन साथी तिमीलाई के भयो, मलाई भनन, मन हल्का बनाऊ, विपश्यना नै किन जानुपऱ्यो सम्म भनिन् । लौन के भएछ त्यस्तो ? शैलीको भाव प्रकट हुन थालेपछि मेरो विपश्यना उत्साह ए… यो त भन्न नहुने कुरा पो रहेछमा पुग्यो ।

तोकिएको समयमा रानीपोखरी नजिक ज्योति भवन पुग्दा नेपालीभन्दा बढी विदेशीको घुइँचो देखेँ । एक घन्टाको ओरिएन्टेसनपछि त्यहाँबाट बस चढेर विपश्यना शिविर शिवपुरी पुगेपछि सबैभन्दा पहिले मोबाइल र पर्सहरू काउन्टरमा जिम्मा लगाइयो । महिला र पुरुष क्षेत्र भनी एक-अर्कालाई नदेखिने गरी ठाउँ छुट्याइएको रहेछ । शान्त वातावरण, वरिपरि रूखसहितको वासस्थान रिसोर्टझैँ लाग्यो । कोठाभित्र छिरेपछि खाटमा पातलो डसनामाथि तन्ना, सिरकमाथि खोल, तकियामाथि तकियाको खोल नलाईकन राखिएको थियो । खोलहरू आफैँ हाल्नुपर्ने रहेछ । जसरी पहिला थियो, हिँड्ने दिन आफूले धोएर त्यसैगरी राखेर हिँडियो । सबै कुरा नयाँ थियो, अब के हुन्छ होला ? मनमा जिज्ञासा थियो । खाना दिने महिलालाई महिला र पुरुषलाई पुरुष नै धर्मसेवकहरू हुँदा रहेछन् । जसमा विदेशी र नेपाली बराबरी नै थिए ।

ध्यानको महत्व नबुझी जबर्जस्ती पठाइएकाहरूका लागि विपश्यना कष्टपूर्ण समय हो । बुझेर जानेहरूका लागि जिन्दगीको कठिन तर सुन्दर अनुभव । पाँच मिनेटको महत्व पनि विपश्यना गएपछि थाहा भयो । एक-डेढ घन्टा लामो ध्यानपछि हुने पाँच मिनेटको ब्रेकले दिने खुसी वर्णन गर्नै नसकिने प्रकारको हुन्थ्यो । जसरी कामबाट धेरै थाकेको बेला आँखा चिम्लिँदा आनन्द आउँछ, धेरैबेर ध्यान गरेर आँखा खोल्दा त्यस्तै आनन्दको अनुभूति हुँदो रहेछ । दश दिनसम्ममा कठिन तर आनन्दमय यात्रा पूरा गरेको अनुभव भयो । जुन यात्रा मर्नुअघि जीवन बाँच्नका लागि सबैले गर्न जरुरी छ ।

साँझ करिब एक घन्टाको अनुशासन ओरिएन्टेसनपछि ध्यानहल (धम्म हल) मा गइयो । उक्त ध्यानसँगै आर्य मौनको प्रारम्भ भयो । कोठामा रहँदा रुमपार्टनरसँग एकपल्ट पनि आँखा जुधाइएन । बिहानको नास्तापछि, दिउँसो र साँझको खाजापछिको डेढ घन्टाको समय आँगनमा जम्मा भएर बस्थ्यौँ, तर कोहीसँग नबोली, चुपचाप । कोही टहलिने, कोही म्याट ओछ्याएर बिन्दास सुत्ने, कोही लुगा धुने, कोही ठूलो चिन्तामा भएझैँ एकोहोरो लागेर बोटबिरुवा र बाँदरहरूलाई हेरिरहने, कहिल्यै नदेखेको, नभोगेको माहौल हुने गथ्र्यो । ७१ जना महिला र ७७ पुरुषमा आधाभन्दा बढी विदेशी थिए । युरोप, अमेरिका, इरान, सिङ्गापुर, रसियालगायतका देशबाट आएका तिनलाई हेर्दा यिनीहरू त्यति टाढाबाट कति पैसा खर्च गरेर आएका छन्, हामीचाहिँ यति नजिक भएर पनि जस्तो लाग्यो । विपश्यना पूर्ण रूपमा निःशुल्क हो ।

दिउँसो १२ बजेपछि पुराना साधकहरूलाई कागतीपानी मात्रै खान दिइए पनि नयाँलाई ५ बजे खाजा दिइँदो रहेछ, त्यसपछि खान मिल्दैन । बिहान साढे ६ बजे नास्ता र दिउँसो ११ बजेको खाना थपेर खान चाहनेहरूले मन लागेजति खान पाइन्छ । खाना सबै शाकाहारी र तरकारीका परिकारहरू धेरै, साथमा रोटी र भात । धर्मसेविकाहरूले पस्किदिएपछि कुर्सी या पिरा जेमा बसेर खाए पनि भयो । खाना खाँदा बोल्नुहुँदैन भनेर हाम्रा अग्रजहरूले किन भनेका रहेछन् भन्ने कुराको आत्मसात् गर्ने मौका पनि मिल्यो । दौडधुपपूर्ण जीवनमा शनिबारबाहेक बिहान आरामले स्वाद लिएर नखाएको पनि धेरै भएको थियो । विपश्यना सुरु भएको चौथो दिन खाना खाँदै गर्दा एक्कासि मनमा यो खाना कसले गरेको दान या सहयोगको होला, कसैले दुःख गरेर आर्जन गरेको कमाइ मैले बिनायोगदान या काम त्यसै खाइरहेको छु, जसले दिएको भए पनि त्यो मान्छेलाई राम्रो होस् भन्ने लाग्यो । खाना त जिन्दगीको सुरुवातदेखि नै खाइयो, के-के खाइयो-खाइयो, तर त्यति प्रेमपूर्वक त जीवनमा कहिल्यै खाएकी थिइनँ ।

म मर्निङ पर्सन होइन, तर ४ बजे घन्टी बजेपछि उठ्न कहिल्यै गाह्रो भएन । साथमा घडी थिएन, मोबाइलका कारण हिजोआज घडी खासै लाइँदैन । घडी नहेरी जीवन चल्दैनझैँ ठान्ने मान्छे समय नहेरी पनि त समय आखिर बित्दो रहेछ र राम्ररी बित्दो रहेछ जस्तो लाग्यो । सुरुका तीन दिन नाकले फेर्ने सासमा ध्यान केन्द्रित गर्न लगाइएको थियो । त्यसबीचमा ध्यान नाक र सासमा बाहेक सबैतिर पुग्यो । सद्गुरु भन्नुहुन्छ- ह्युमन मेकानिजम इज द मोस्ट सोफेस्टिकेटेट ग्याजेट इन द प्लानेट । यो सोफेस्टिकेटेट ग्याजेटले यति कुरा स्मृतिमा सङ्ग्रह गरेर राखेको रहेछ कि आफूले आफ्नोबारेमा सम्झन सक्ने भएदेखि अहिलेसम्मका सबै कुरा सचित्र रेकर्डमा रहेछ । कुनै कम्प्युटर हार्ड ड्राइभभन्दा माइन्डको मेमोरी कैयौँ गुणा बढी मात्र होइन सीमाहीन हुने रहेछ ।

फोटो, भिडियो, रङ्गीन, ब्ल्याक एन्ड ह्वाइट, जे पनि । पहाड, हिमाल, तराई, देखेका, भेटेका सबै मान्छे, भीर, पहरा, आफू पुगेका ठाउँहरू पूरै भिडियोमै कैद रहेछन् । जीवन्त रूपमा सरसर्ती अघि बढिरहे । विगतको स्मृतिले यति दुःख दियो कि आँखा चिम्लनै मन नलाग्ने । विशेषगरी गहिरो दुःखका क्षणहरू र आफूलाई चोट दिने मान्छेहरू आँखाअगाडि आइरहे । मौनताभित्रको कोलाहल डरलाग्दो हुँदोरहेछ । मलाई मात्रै त्यस्तो भएको हो कि भन्ठानेको तर सबैलाई नै त्यस्तो हुने रहेछ । चार-पाँच दिनपछि बिस्तारै ती कुराहरू दिमागबाट हट्दै गएर ध्यानमा मन जाँदो रहेछ । सञ्चारबाट पूर्णतः विच्छेद भएका बेला को के गर्दै होला या कस्तो होला ? केही भयो कि ? भनेर सम्झिने निकटवर्ती र आफन्तलाई नै हो । यदि कसैले मैले त पूरै देशको चिन्ता गरेँ भन्यो भने त्यसमा सत्यता छैन भनेर बुझ्दा हुन्छ ।

पाँच मिनेटको महत्व पनि विपश्यना गएपछि थाहा भयो । एक-डेढ घन्टा लामो ध्यानपछि हुने पाँच मिनेटको ब्रेकले दिने खुसी वर्णन गर्नै नसकिने प्रकारको हुन्थ्यो । जसरी कामबाट धेरै थाकेको बेला आँखा चिम्लिँदा आनन्द आउँछ, धेरैबेर ध्यान गरेर आँखा खोल्दा त्यस्तै आनन्दको अनुभूति हुँदो रहेछ । घरिघरि त यति छटपटी हुन्थ्यो कि कति बेला घन्टी बज्ला र बाहिर निस्कनुजस्तो लाग्ने । शुरुशुरुमा धेरैको अनुहारमा छटपटी नै देखियो, पछिल्ला दिनमा भने चमक । नबुझी जानेहरूका लागि विपश्यना खुर्पाको बिँड हो । कतिलाई त्यस्तै भएको देखिएको पनि छ । बाहिर बसेका छोराछोरीले बाबुआमालाई उतैबाट अनलाइन फर्म भरेर पठाउने, कुलतमा लागेका सन्तान सुध्रिउन् भनेर बाबुआमाले पठाउने गरेको पनि पाइयो ।

ध्यानको महत्व नबुझी जबर्जस्ती पठाइएकाहरूका लागि विपश्यना कष्टपूर्ण समय हो । बुझेर जानेहरूका लागि जिन्दगीको कठिन तर सुन्दर अनुभव । दश दिनसम्ममा कठिन तर आनन्दमय यात्रा पूरा गरेको अनुभव भयो । जुन यात्रा मर्नुअघि जीवन बाँच्नका लागि सबैले गर्न जरुरी छ । कतिलाई आध्यात्मिक कुरा त बुढेसकालमा गर्ने हो भन्ने पनि छ । अज्ञानताले कर्मकाण्ड र अध्यात्मलाई उस्तै होला भनेर बुझ्नेहरू पनि छन् । मर्नका लागि नभएर शान्तिपूर्ण जीवन बाँच्नका लागि गरिने हुँदा जीवनको पूर्वार्द्धमै बुझ्न र बुझाउन पाए संसार निश्चित रूपमा फरक हुन्थ्यो । आध्यात्मिक अभ्यास स्कुलदेखि नै सुरु गर्नुपर्छ न कि बुढेसकालमा ।

गौतम बुद्धबारे सानैदेखि पढियो, तर उनले छोडेको ज्ञानलाई व्यवहारमा उतार्ने प्रयास यो स्तरबाट गरिएको थिएन । विपश्यनाले यो अभ्यास गरायो । जिन्दगीमा अनुभव र चिन्तन फरक कुरा हो । मानिसले चिन्तनको कुरा धेरै गर्छन्, तर अनुभूति नै गर्नेचाहिँ थोरै हुन्छन् । विपश्यना आफूले आफैँलाई अनुभूति गर्ने, चिन्ने प्रक्रिया हो । २५ सय वर्षअघि भगवान् गौतम बुद्धले आफैंमा विपश्यनाको प्रयोग गरेर अरूलाई यो ज्ञान बाँड्न थाल्नुभएको थियो । गौतम बुद्धको नाममा व्याख्या गर्ने, चिन्तन गर्ने, लेख लेख्ने मान्छे धेरै छन् । कतिले पीएचडी नै उहाँको नाममा गरेका होलान्, तर उहाँले सिकाएको यो ध्यान विधिलाई अभ्यासमा कतिले उतारे भन्नेचाहिँ महत्वपूर्ण कुरा हो ।

यदि मान्छेले गौतम बुद्धले झैँ जीवनको खोजी गर्ने हो भने यो संसारमा अहिलेसम्म बुद्धको एकछत्र राज कहाँ रहन्थ्यो र ? प्रकृतिमा सबै प्राणीको जीवन अनिश्चित छ, निश्चित केही छ भने त्यो मृत्यु हो । यदि म एक दिन मर्छु भन्ने मनमा लिने हो भने संसारमा यति धेरै बेथिति हुने थिएनन् । तर, जिन्दगीको भागदौडमा मानिसले यस्तो कुरा सम्झिँदैन या सम्झिने इच्छा नै गर्दैन । मानिसको शत्रु र मित्र आफैँ हो । दुःख र सुख पनि आफैँभित्र सीमित छ । सुखको सीमा कति हो भन्ने मानिसको सोचमा भर पर्छ । आफूले सुख पाउन कमाउँदाकमाउदै मर्नेहरू यहाँ धेरै छन् । कतिलाई यो संसार मैले नै धानिरहेको छु जस्तो लाग्छ । जुन भ्रमबाट मुक्ति नपाउँदै उनीहरूले संसार छोडिसक्छन् । तर, हरेक व्यक्तिले थाहा पाउन जरुरी छ कि म नहुँदा पनि यो संसार यसैगरी चलिरहनेछ ।